२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशबिरामीको विश्वास जित्ने गरी काम गर्न मुख्यमन्त्री कँडेलको निर्देशन

बिरामीको विश्वास जित्ने गरी काम गर्न मुख्यमन्त्री कँडेलको निर्देशन

कर्णाली प्रदेश अस्पतालमा एमआरआई मेसिनको उद्घाटन


वीरेन्द्रनगर—कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले बिरामीको विश्वास जित्ने गरी काम गर्न निर्देशक दिएका छन् । शुक्रबार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा संचालनमा ल्याइएको अत्याधुनिक एमआरआई मेसिनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

‘कर्णालीका बिरामीको विश्वास जित्ने गरी एमआरआई सेवा दिन आग्रह गर्छु,’ उनले भने, ‘अस्पतालको सामान्य गल्तीले बिरामी र आम नागरिकमा ठूलो असर पर्छ । त्यही कारण सेवा प्रवाह गर्दा ध्यान दिनुपर्छ ।’

अस्पतालले एमआरआई मेसिनबाट गत वर्ष भदौ महिनादेखि बिरामीको उपचार सेवा सुरू गरेको थियो । तर, शुक्रबारबाट औपचारिक रूपमा सेवाको उद्घाटन गरिएको हो । अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार यो मेसिनलाई नेपालकै उत्कृष्ट र अत्याधुनिक प्रविधिको मानिएको छ । सुर्खेतमै एमआरआई मेसिनबाट उपचार सेवा सुरु भएपछि महँगो खर्च गरेर सुर्खेतबाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ ।

डा. खड्काका अनुसार हाल यो मेसिनबाट दैनिक आठ जनासम्म बिरामीको उपचार परीक्षण गरिदैं आइएको छ । २५ देखि ३५ जनालाई दैनिक जाँच गर्न सकिने यो मेसिन आर्टिफिसियल इन्टेलिजेन्स (एआई )सहितको आवाजविहीन उच्च गुणस्तरको छ । मेसिन सञ्चालनमा आएसँगै आवश्यक परेको खण्डमा २४ सै घण्टा अस्पतालले सेवा दिन सक्नेछ ।

देशका अन्य अस्पतालमा एमआरआई सेवा लिएका बिरामीको रिपोर्ट आउन करिब एक हप्ता लाग्छ । मेसिन जडानसँगै प्रदेश अस्पताल सुर्खेतमा चिकित्सकले एकै दिनमा रिपोर्ट दिन सक्नेछन् ।

‘अस्पतालले हालसम्म २५ करोड ५९ लाख रकम मौज्दात राख्न सफल भएको छ । केही आवश्यक उपकरण पनि किनिरहेका छौं । अस्पतालमा कार्यरत कर्मचारीका पाँच जना परिवारको बीमा गर्दा अस्पतालले ५० प्रतिशत बीमा शुल्क उपलब्ध गराउने गरेको छ,’ डा. खड्काले भने ।

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अस्पताल सुर्खेतलाई एमआरआई मेसिन खरिदको लागि बजेट उलब्ध गराएको हो । पाँच वर्ष ग्यारेन्टी भएको मेसिन २९ करोड ७१ लाख रुपैयाँ खरिद गरिएको हो । स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउको, शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन एमआरआई परीक्षणबाट सहज हुन्छ । त्यसले सही रूपमा रोग पत्ता लगाइ उपचार गर्न सजिलो हुन्छ ।

ढाड वा कम्मर दुख्ने, घुँडाका रोगका बिरामी, हाडमा लागेको संक्रमण वा ट्युमरको विशेष जानकारी लिन पनि एमआरआई गर्ने गरिन्छ । मस्तिष्क र मेरुदण्डको ट्युमरको परीक्षण र उपचारका लागि पनि एमआरआई परीक्षण गरिन्छ । एमआरआईले नरम तन्तुलाई स्पष्टसँग देखाउने गर्छ । अत्याधुनिक एमआरआईमा पेट, स्तन, मुटुको समस्यासमेत पहिचान गर्न सकिन्छ ।

प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेश सरकार अस्पतालको साथमा रहेको र आवश्यक परे सहयोग गर्ने भन्दै गुणस्तरीय सेवा प्रवाहमा जोड दिन निर्देशन दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ