२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशशहिद स्मृति अस्पतालबाट एक वर्षमा १५ हजारभन्दा बढीले लिए सेवा

शहिद स्मृति अस्पतालबाट एक वर्षमा १५ हजारभन्दा बढीले लिए सेवा


वीरेन्द्रनगर—रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१० मा सञ्चालित शहिद स्मृति नगर अस्पतालबाट एक वर्षमा १५ हजारभन्दा बढी बिरामीले सेवा लिएका छन् । आर्थिक वर्ष २०८०/८१ मा १५ हजार २२६ जनालाई सेवा दिइएको अस्पतालले जनाएको छ ।

गाउँमै डाक्टरसहितको स्वास्थ्य सेवा पाएपछि सर्वसाधारणलाई सहज भएको छ भने सेवा लिन आउने बिरामीको संख्यासमेत बढ्दै गएको अस्पताल प्रशासक विश्वप्रकाश ओली बताए । ‘गत वर्ष नगर अस्पतालमा ३१२ जनाको माइनर सर्जरी गरिएको थियो भने १०२ जना सुत्केरी भएका थिए,’ उनले भने । अस्पताल प्रशासक ओलीकाअनुसार पाँच शैय्याको यस अस्पतालमा दैनिक सात जनाभन्दा बढी बिरामी भर्ना हुने गरेका छन् ।

गत वर्ष एक हजार ८७८ जनाले एक्स—रे सेवा लिएका छन् । यस्तै, ६ हजार ८३८ जनालाई ल्याब सेवा दिइएको अस्पताल प्रशासक ओलीले बताए । ‘२०१ जनाले परिवार नियोजनका साधनको प्रयोगबारे सेवा लिएका छन् भने ५०५ जना बिरामीलाई भर्ना गरेर उपचार गरिएको छ,’ उनले भने, ‘श्वासप्रश्वास सम्बन्धि सेवा दुई सय जनाले लिएका छन् भने पेट सम्बन्धि सेवा ५७२ र दुखाइ तथा चोटपटक सम्बन्धि सेवा ४३८ जनाले लिएका छन् ।’

पेट र दुखाइ तथा चोटपटक लागेका बिरामी बढी मात्रामा आउने गरेको अस्पतालका चिकित्सक डा. विवेक केसीले जानकारी दिए । ‘गाउँमै डाक्टरसहितको सेवा रहेकाले उपचारका लागि अस्पताल नै आउने बिरामीको सङ्ख्या बढिरहेको छ ,’ उनले भने, ‘विगतमा बिरामीलाई गाउँमै धामी झाँक्री तथा घरेलु उपचार गर्ने चलन बढी मात्रामा थियो ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ