२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशडोल्पा अस्पताल पुग्ने पुल नहुँदा बिरामी पिठ्युमा बोकेर लैजानुपर्ने बाध्यता

डोल्पा अस्पताल पुग्ने पुल नहुँदा बिरामी पिठ्युमा बोकेर लैजानुपर्ने बाध्यता


जुम्ला—त्रिपुरा सुन्दरी गाउँपालिका–५ की २८ वर्षीया हीरादेवी घर्तीले बाटो नहुँदा आफैले आफ्ना बुबालाई बोकेर अस्पतालसम्म पुर्‍याइन् । उनका अनुसार कहिलेकाहीँ बिरामीलाई स्ट्रेचरमा बोकेर अस्पतालसम्म लैजाने मान्छे नपाउँदा बिरामीले बाटोमै ज्यानसमेत गुमाएका छन् ।

त्रिपुरा सुन्दरी गाउँपालिका–१ का ३३ वर्षीय तुलबहादुर सार्कीले पनि पुलका कारण आफू बिरामी भएको बेलासमेत सास्ती खेप्नु परेको बताए । उनले भने, ‘पुल समयमै नबन्दा डोल्पाका नागरिकले दैनिकी समस्या खेप्नु परेको छ ।’

जिल्लाको एक मात्र अस्पतालको रूपमा रहेको जिल्ला अस्पताल, डोल्पा जोड्ने मोटरेबल पुल नहुँदा उपचारका लागि अस्पतालसम्म पुग्न बिरामीलाई समस्या भएको छ । पुल नहुँदा अस्पतालसम्म एम्बुलेन्स नजाने भएकाले बिरामीलाई घुमाउरो बाटोबाट घण्टौंसम्म बोकेर अस्पताल पुर्‍याउनुपर्ने बाध्यता छ ।

सदरमुकामस्थित लामालोटे र कालिका मन्दिर आसपासबाट बेलिब्रीज बनाएर बिरामी बोकेको एम्बुलेन्स सिधैं अस्पतालसम्म पुर्‍याउन सकिने भएपनि पुल निर्माणका लागि अहिलेसम्म कसैले पनि चासो नदेखाएको अस्पताल र स्थानीयको गुनासो छ ।

बजारको झोलुङ्गे पुलसम्म मात्र मोटरबाटो भएकाले त्यहाँसम्म मात्र एम्बुलेन्सले बिरामी ल्याउँछ । त्यसपछि बिरामी बीच बाटोमै अलपत्र पर्ने गरेका छन् । पुल नभएकै कारण अस्पताल पुर्‍याउन ढिला हुँदा कतिपय बिरामीहरूको अस्पताल पुग्दै गर्दा बिच बाटोमै ज्यान जाने गरेको जिल्ला अस्पताल डोल्पाका प्रमुख डा. अखण्ड उपाध्यायले बताए ।

‘गाडी छुटेदेखि अस्पतालसम्म पुग्ने बाटो घुमाउरो र जोखिमपूर्ण छ । कतिपय गर्भवती महिला बीच बाटोमै सुत्केरी हुने गरेका छन् । पुलका लागि धेरै ठाउँमा गुहारियो । तर, कसैले पनि कुरा सुनेनन्’, डाक्टर उपाध्यायले भने ।

मोटरेबल पुल नहुँदा बिरामीलाई एम्बुलेन्समा सिधैँ अस्पताल पुग्न समस्या हुने भएपछि पक्की पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालयबाट आर्थिक वर्ष ०७९/८० का लागि पहिलो चरणमा २ करोड रकम छुट्याइएको थियो । रकम छुट्याइएको वर्षौं बितिसक्दासमेत पुल निर्माणको कामले गति लिन सकेको छैन ।

पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख टेक हितानकाअनुसार तत्काल पुलको कामलाई तिब्रताका साथ अगाडि बढाइ बिरामीले पाउने गरेको समस्याको समाधान गर्ने बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ