जुम्ला—विश्व प्रसिद्ध आँखा चिकित्सक डा. सन्दुक रुइत जुम्ला पुगेका छन् । शनिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आँखा विभाग उद्घाटन गर्नुका साथै तीन दिने मोतिविन्दु शल्यक्रिया शिविर संचालन गर्नका लागि चिकित्सक डा. रुइत जुम्ला पुगेका हुन् ।
आँखा चिकित्सक डा. विश्वराज तिमिल्सिनाकाअनुसार शनिबार पहिलो चरण शिविरबाट रेफर भएर आएका ४० जनाको मोतिविन्दु शल्यक्रिया भएको छ । अब प्रतिष्ठानको आँखा विभागमा नियमित शल्यक्रिया सेवा संचालन हुनेछ ।
‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र डा. रुइतको भेट भयो । उहाँ माथिल्लो कर्णालीलाई सहयोग गर्न तत्पर हुनुहुन्थ्यो,’ प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले भने, ‘त्यसपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखा अस्पताल सुरु गर्ने योजना बन्यो भने योजनाको शीघ्र कार्यान्वयन पनि अगाडि बढेको छ ।’
विश्वमै ख्यातिप्राप्त डा. रुइत कर्णालीलाई सहयोग गर्न तयार भएको उल्लेख गर्दै उनले आधाभन्दा बढी उपकरण पनि उनकै अग्रसरतामा आउन लागेको बताए । ‘उहाँको बलमा हाम्रो जनशक्ति प्रयोग गरेर अस्पताल सुरु गर्दैछौं,’ उनले भने ।
तिलगंगा आँखा अस्पताल, फ्रेड हलोज अस्ट्रेलिज पार्टनरले केही सामग्री सहयोग गरेपछि आँखाको मोतिबिन्दुको नियमित अप्रेसन र निरन्तर सेवा विस्तार गर्न सकिने डा. विश्वको भनाइ छ। ‘डा. रुइत नै यहाँ आउनु भएको छ। पातारासी, गुठीचौर, ताम्ती, नराकोटबाट स्रक्रिनिङ गरेर शल्यक्रिया सम्पन्न भइसकेको छ,’ उनले भने, ‘मुगु, डोल्पा, कालिकोट सबै ठाउँका बिरामी यहाँ बोलाएर अप्रेसन समेत गरी आँखा अस्पताल सुरु गर्दैछौं।’
२७ भदौंमा प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम छ । आइतबार नेत्र विभाग उद्घाटन डा. रुइतले गर्ने कार्यक्रम छ ।
अहिले प्रतिष्ठानको आँखा अस्पतालका निम्ति दुई जना चिकित्सक छन्।