२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजिल्ला अस्पताल हुम्लामा ब्लड बैंक नहुँदा बिरामीलाई समस्या

जिल्ला अस्पताल हुम्लामा ब्लड बैंक नहुँदा बिरामीलाई समस्या


जुम्ला—सिमकोट गाउँपालिका–२ की २५ वर्षीया रुप्सी बोहराले ५ भदौमा दोस्रो सन्तानका रूपमा छोरी जन्माइन् । बोहरा रक्त अल्पताबाट ग्रसित भइन् । रगतको आवश्यकता प¥यो ।

तर, रगत पाउन निकै कठिन भएको सुत्केरी बोहराका श्रीमान तिलक बोहराले बताए । ‘यहाँको एक मात्र जिल्ला अस्पतालमा संवेदनशील ब्लड बैक रहेनछ । यो सरकारको लापरवाही हो’, उनले भने । हिमाली क्षेत्रको जिल्ला अस्पतालमै सामान्यदेखि जटिल उपचारसम्मका लागि अति आवश्यक पर्नेमा ब्लड बैक छैन । ‘जिल्ला अस्पतालमै पर्याप्त स्रोत—साधन नहुनुले हाम्रो पनि मनोबल घट्दै गएको छ,’ बोहरा भने ।

दुई दिनदेखि जिल्ला अस्पतालको वर्थिङ सेन्टरमा रक्तस्रावले थला परेर गम्भीर अवस्था भएकी बोहरालाई ६ भदौमा जिल्ला प्रहरी कार्यालय हुम्लाका असई थमनसिंह घर्तिमगरले बी पोजेटिभ रगत दिएपछि ज्यान बचाउन सफल भएको बोहराले जानकारी दिए ।

जिल्ला अस्पताल हुम्लामा ब्लड बैक नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको यो त एक प्रतिनिधी घटनामात्रै हो । जिल्लामा रहेको एक मात्र जिल्ला अस्पतालमा ब्लड बैक नभएपछि रगत आवश्यक पर्ने अधिकांश सेवाग्राहीहरूले सास्ती खेप्नु परिरहेको छ ।

जिल्ला अस्पतालमा सुत्केरी गराएपछि अधिकांश सुत्केरी महिलाहरूलाई रगतको आवश्यकता पर्ने गर्दछ । तर, सो कार्यालयमा विगत लामो समयदेखि उक्त सेवा नहुँदा सुत्केरीलाई समस्या हुने गरेको छ ।

अधिकांश सुत्केरी महिलाहरू जिल्ला अस्पताल भरपर्दो भन्दै सुत्केरी हुने समयमा सदरमुकाम सिमकोटमा आएर बस्ने गर्दछन् । तर, उनीहरूका लागि जिल्ला अस्पतालमा कुनै भरपर्दो सामग्री नहुँदा बिरामीहरूले अकालमै ज्यान गुमाउनुपर्ने र जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ ।

जिल्ला बाहिर जानु पर्दा पनि समयमै हवाई जहाजको पहुँच नहुने, आर्थिक स्रोतको भारलगायतका समस्याले दुःख झेल्नु परेको अर्का स्थानीय अर्जुन बोहराले बताए । उनका अनुसार अन्य जिल्ला जस्तै सुविधासम्पन्न भइदिएको भए यहाँका बिरामीलाई कष्ट भोग्नुपर्ने थिएन ।

हुम्लामा यस्ता घटनाहरू धेरै हुने गर्दछन् । जसका कारण महिलाहरूले अकालमै ज्यान गुमाउनु परेको छ । गत दुई वर्षमा जिल्लामा दुई जनाको रक्त अल्पताकै कारण मृत्यु भएको थियो ।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले ब्लड बैंक स्थापना गर्नका लागि धेरै आर्थिक लगानी गर्नुपर्ने भएकोले रकम अभावमा स्थापना गर्न नसकेको बताए । हालसम्म त्यस्ता खाले घटना आएपछि बाहिरका व्यक्तिहरूबाट सहयोग मागेर काम चलाउँदै आएको उनको भनाइ छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ