२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहाम्रै नेपालमा : हिल्साका बालबालिका पाउँदैनन् खोप

हाम्रै नेपालमा : हिल्साका बालबालिका पाउँदैनन् खोप


जुम्ला–हुम्लाको नाम्खा गाउँपालिका–५ स्थित हिल्साका २० जना बालबालिका नियमित खोप लगाउनबाट वञ्चित भएका छन् । नेपाल सरकारले नियमित रूपमा लगाउँदै आएको खोप सञ्चालन नभएपछि सो क्षेत्रका बालबालिका खोप लगाउनबाट वञ्चित भएका हुन् ।

गत वैशाखदेखि नियमित रूपमा लगाउने खोप नपाएको स्थानीय पामा तामाङले गुनासो गरिन् । उनकाअनुसार नाम्खा गाउँपालिकाका अन्य बालबालिकाले उक्त खोप पाएपनि हिल्सा बजारमा रहेका पाँच वर्ष मुनिका बालबालिकाले खोप नपाएका हुन् ।

हिल्सादेखि मुचु स्वास्थ्य चौकी पु¥याउन करिब आधा दिन लाग्ने भएको र उनीहरूलाई असहज हुने भएकाले पाँच महिनादेखि उक्त सेवाबाट वञ्चित हुनु परेको स्थानीय तामाङले बताइन् ।

गाउँपालिकाका स्वास्थ्य शाखालाई पटक—पटक जानकारी गराउँदा सुनुवाई नभएको तामाङको भनाइ छ । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा गाउँपालिकाले लापरवाही गर्दा आफ्ना बालबालिका स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको स्थानीय गुर्मु लामाले गुनासो गरिन् ।

नेपाल सरकारको नीतिअनुसार जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई प्रत्येक महिना खोप लगाउने व्यवस्था गरिएको छ ।

बालबालिकाहरूले पोलियो, दादुरा, हेपाटाइटिस बी, लहरे खोकी, धनुषटंङ्कार, निमोनिया र जापानिज इन्सेफलाइटिस विरुद्ध खोप लगाउनुपर्ने हो ।

तर, उक्त खोप पाउनबाट वञ्चित भएसँगै विभिन्न किसिमका रोग देखा पर्ने गरेको स्थानीय लामाले बताइन् । खोप सञ्चालन नभएका कारण बालबालिकामा ज्वरो, निमोनिय, लहरे खोकी, झाडापखालाजस्ता रोगहरू देखा पर्ने गरेको लामाले बताइन् ।

सो विषयमा नाम्खा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ग्याछो लामासँग बुझ्दा उनले हिल्सामा पहिलेदेखि नै स्वास्थ्य संस्था नभएका कारण बालबालिका छुट्ने गरेको बताए । उनले उक्त क्षेत्रमा रहेका बालबालिकालाई मुचु स्वास्थ्य चौकीमार्फत खोप लगाउनुपर्ने बताए । खोप लगाउन छुटेका बालबालिकालाई अब छिट्टै खोप लगाउने अभियान सञ्चालन गर्ने संयोजक लामाको भनाइ छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ