२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्ला कारागारका कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण

जुम्ला कारागारका कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण


जुम्ला—जुम्ला कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय जुम्ला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको समन्वयमा शिविर सञ्चालन गरी कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको हो ।

कारागारमा रहेका पाँच जना महिलासहित १२० जना कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको जेलर गयाप्रसाद पाण्डेले बताए । उनले भने, ‘प्रतिष्ठानका डा. शुभाङक प्याकुरेल नेतृत्वमा आएको पाँच जनाको टोलीले स्वास्थ्य परीक्षण गरेको हो ।’

स्वास्थ्य परीक्षणमा विशेषगरी कैदीबन्दीमा ग्याष्टिक, मानसिक समस्या, श्वासप्रश्वास र एलर्जीको समस्या देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । यसअघि साउन २० गते खत्याड गाउँपालिका–३ मुगु घरभई हाल जुम्ला कारागारमा रहेका ३४ वर्षीय प्रदीप टमटाको मृत्यु भएको थियो । उच्च रक्तचापका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रहरी नायव उपरीक्षक छेदिलाल कामतीले स्वास्थ्यमा नदिएमा जोखिम हुने बताए । उनले भने, ‘समय—समयमा स्वास्थ्य परीक्षण गर्न आवश्यक हुन्छ । सोही बमोजिम कैदीवन्दीको स्वास्थ्य परीक्षण गरिएको हो । आगामी दिनमा पनि यस्ता कार्य गर्नेछौं ।’

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार बेला बेला स्वास्थ्य परीक्षण गरेमा अचानक हुने मृत्युबाट बच्न सकिन्छ । ‘खानपिन र आहार—विहारमा ध्यान दिन सकेमा स्वास्थ्यमा आउने समस्याबाट छुटकारा पाउन सकिन्छ,’ उनले भने ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सुधार गृहका रुपमा राज्यले कारागारलाई विकास गर्न खोजेको बताए । ‘विभिन्न कारणले जेल जीवन बिताई रहेका कैदीबन्दीलाई सीप विकास तालिम सञ्चालन गर्न समन्वय र सहजीकरण गर्नेछौं,’ उनले भने ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ