२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशपिजीका थप पाठ्यक्रम तयार गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

पिजीका थप पाठ्यक्रम तयार गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान


जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले ५० सिट एमबीबीएस कार्यक्रम सञ्चालन गरिरहेको छ । चिकित्सा शिक्षातर्फको पोष्ट ग्राजुएट्स (पिजी) तहको कार्यक्रम त्यसअघि नै सुरु गरेको थियो ।

तर, थोरै विषय मात्रै सञ्चालन छन् । प्रतिष्ठानले पिजी तहमा विषय बढाउने योजना अघि सारेको छ । सोही योजनाअनुसार प्रतिष्ठानले अहिले पिजी तहको सात वटा विषयको पाठ्यक्रम तयार गर्दैछ ।

प्रतिष्ठानले एनाटोमी, फिजियोलोजी, माइक्रोबायोलोजी, बायोकेमेस्ट्री, फरेन्सिक मेडिसिन, फर्माकोलोजी र क्लिनिकल प्याथोलोजी गरी सात विषयको पाठ्यक्रम तयार गर्दैछ । ‘सात वटा विषयको पाठ्यक्रम निर्माण गर्दैछौं । यो वर्ष कम्तिमा छ वटा विषय थप्ने योजना हो । पहिले नै हामीले पाँच विषयमा क्लिनिक विषयमा अध्ययन गराईसकेका छौं,’ उपकुलपति डा. मंगल रावलले भने ।

त्यसो त प्रतिष्ठानले चारवटा स्कुलबाट विभिन्न १३ वटा स्वास्थ्यका अन्य कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रतिष्ठानका डीन डा. प्रेनितकुमार पोखरेलले योजना गरिएका नयाँ विषयका पाठ्यक्रमलाई अन्तिम रुप दिने अवस्थामा पुगेको भन्दै त्यसपछि चिकित्सा शिक्षा आयोगमा सिटका लागि दावी गर्ने बताए ।

यसैबीच प्रतिष्ठानले थप्ने योजनामा रहेको सात वटा विषयको पाठ्यक्रम निर्माण कार्यलाई अन्तिम रुप दिन सोमबार र मंगलबार काठमाडौंमा पाठ्यक्रम सम्बन्धी कार्यशालाको आयोजना गरेको छ । टेकुस्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको हलमा सुरु भएको कार्याशालाको उद्घाटन सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गरेका थिए । सो क्रममा उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य उपचार तथा स्वास्थ्य शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै प्रशंसा समेत गरे । उनले स्वास्थ्य शिक्षामा गुणस्तरीयतामा जोड दिनुपर्ने भन्दै विदेशी विद्यार्थीहरु कर्णालीमा अध्ययन गर्ने बातावरण बनाउनुपर्ने बताए ।

‘नेपालीहरु चिकित्सा शिक्षा अध्ययनका लागि भारत तथा बंगलादेशमा ठूलो संख्यामा अध्ययनका लागि जाने गरेका छन् । त्यहाँका विद्यार्थीलाई पनि यहाँ ल्याउने गरी काम गर्नुपर्छ,’ मन्त्री पौडेलले भने ।

कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. अञ्जनीकुमार झाले पाठ्यक्रमको फ्रेमवर्क आयोगले बनाउने भन्दै त्यसभित्र रहेर नयाँ पाठ्यक्रम बनाउन निर्देशन दिए । उनले स्वास्थ्य शिक्षाको विषयमा गुणस्तर चाहिने भन्दै यसमा आयोगले कम्प्रोमाइज गर्न नमिल्ने समेत स्पष्ट पारे ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिभाषामा अब दुर्गम शब्द हटाउनुपर्ने भन्दै अब सुगम र सजिलो छ भनेर विद्यार्थी तथा फ्याकल्टीहरुलाई तान्नुपर्ने बताए । उनले भने, ‘बाटो केही अप्ठ्यारो छ । तर, त्यहाँ पुगेपछि दुर्गमको कुनै अनुभव हुँदैन् । त्यसैले दुर्गम भन्न छाडिदिउँ ।’

प्रा.डा. रमेशकान्त अधिकारीले सिमित स्रोत साधनको बाबजुद प्रतिष्ठानले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताए । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. रावलले प्रतिष्ठानले पछिल्ला वर्षमा गरेका प्रगति र भावि योजना बारेमा विस्तृत रुपमा बताएका थिए ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबलबहादुर धामी, निर्देशक डा. पुजनकुमार रोकाय, डीन डा. पोखरेल, रजिष्ट्रार नृपेन्द्र महतले प्रतिष्ठानको वस्तुस्थिति र उपलव्ध गराउँदै आएको सेवाका बारेमा थप प्रष्ट पारेका थिए । कार्यशालामा हरेक विषयसँग सम्वन्धित कम्तिमा ३ जना विज्ञहरु रहेका छन् । उनीहरुले मंगलबारसम्ममा पाठ्यक्रमलाई अन्तिम रुप दिने तयारीमा लागेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ