२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशचन्दननाथमा १३ जना क्षयरोगका बिरामी, पहिचान र निदान गर्न प्रयोगशाला स्थापना गरिने

चन्दननाथमा १३ जना क्षयरोगका बिरामी, पहिचान र निदान गर्न प्रयोगशाला स्थापना गरिने


जुम्ला—क्षयरोग मुक्त नेपाल घोषणा अभियानअन्तर्गत चन्दननाथ नगरपालिका स्तरीय समितिलाई अभिमुखीकरण तथा सुक्ष्म योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । सन् २०३० सम्म नेपाल सरकारले देशलाई क्षयरोग मुक्त गर्दैछ ।

सोही बमोजिम कार्यक्रम सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष ०८१÷०८२ का लागि सुक्ष्म योजना तर्जुमा गरिएको हो ।

क्षयरोग पहिचान र निदानका लागि पालिकास्तरीय प्रयोगशााला स्थापना गर्ने योजना तर्जुमा भएको चन्दननाथ नगरपालिका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताए । उनले भने, ‘यसका लागि ८ लाख बजेट विनियोजन गरिएको छ । सामुदायिक र विद्यालयस्तरमा सचेतीकरण गर्नका लागि पनि योजना बनाइएको छ ।’

चन्दननाथ नगरपालिकामा १३ जना क्षयरोगका बिरामी रहेका छन् । उनीहरु सबैले नियमित औषधी प्रयोग गर्दै आएका छन् । जनस्वास्थ्य निरीक्षक महतले नियमित औषधि प्रयोग नगरेको खण्डमा यो निको नहुने बताए ।

वडा नं. २ मा एक जना, वडा नं. ३ मा ३ जना, वडा नं. ४ मा एक जना, वडा नं. ६ मा एक जना, वडा नं. ७ मा एक जना, वडा नं. ८ मा ४ जना, वडा नं. ९ मा एक जना र वडा नं. १० मा एक जना क्षयरोगका बिरामी रहेका छन् ।

१० मिटर बाटो निर्माण भएपछि मात्रै विकास भयो भन्ने तर स्वास्थ्य शिक्षालाई प्रथामिकता नदिने परिपाटी रहेको उपमेयर रामदेवि खड्काले बताइन् । उनले भनिन्, ‘स्वास्थ्य शिक्षालाई पहिलो प्रथामिकता दिनु पर्दछ । नगरपालिकामा पनि सोही अनुसार बजेट विनियोजन हुनेछ ।’

चन्दननाथ नगरपालिका मेयर राजुसिंह कठायतका अनुसार अहिले पनि क्षयरोग लुकाएर राख्ने गरिएको छ । ‘नेपाल सरकारले उपलब्ध गराउने औषधीको नियमित प्रयोगले निको हुने रोग हो भनेर नागरिक बुझ्न आवश्यक रहेको छ,’ उनले भने, स्वास्थ्य मानिसको महत्वपूर्ण कुरा हो । यसमा लगानी गर्न कन्जुस्याई गर्नु हुँदैन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ