२०८१ पुस ६, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशभेन्टिलेटरबाट फर्किएर स्वास्थ्य कर्म जुटिरहेकी मिन्डीक

भेन्टिलेटरबाट फर्किएर स्वास्थ्य कर्म जुटिरहेकी मिन्डीक


स्वास्थ्य सबैभन्दा ठूलो हो । किनभने, शारीरिक र मानसिक रुपमा फिट भएमा सबै कामहरुमा सहज रुपमा सम्पन्न गर्न सकिन्छ । मिन्डीक लामा त्यसैकी एक उदाहरण हुन् । मिन्डीकको ७२ घण्टा लामो समय भेन्टिलेटर उपचार भएको थियो । त्यही बेलादेखि पूर्णतया: फिट नभएपनि मिन्डीक अहिले पुनः स्वास्थ्य कर्ममै जुटिरहेकी छन् ।

मुगु मुगुम कारोर्मारोङ–७ मा जन्मिएकी हुन्—मिन्डीक । उनले माध्यमिक तहको अध्ययनपछि युनिसेफको सहयोगमा सोलुखुम्बु जिरी टेक्निकल स्कुलमा अनमी पढिन् । त्यसपछि वि.सं. २०७५ मा स्थायी सरकारी जागिरे भइन् । त्यही वर्ष कार्तिक ९ मा डोल्पा साल्दाङ स्वास्थ्य चौकीमा अनमी स्थायी जागिर खाएकी हुन् ।

वि.सं. २०७६ सालमा मुगु जिल्लाको दोल्फु स्वास्थ्य चौकीमा उनको समायोजन भएपछि मुगु फर्किइन् । त्यहीबीच उनको पासाङ लामासँग विवाह भयो । यही बीच उनले एक छोरीलाई जन्म दिइन् ।

वि.सं. २०७९ सालमा उनी पुनः गर्भवती भइन् । गर्भजाँचपछि सुत्केरी गराउन मुगु जिल्ला अस्पताल जाँदा घर परिवार डराएर जुम्ला जाने र सकेसम्म अप्रेशन नगरेर नै बच्चा जन्माउने सल्लाहतिर लागेका थिए । वि.सं. २०७९ साउन ११ गते जीपमा जुम्ला स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्ला पुर्‍याइयो ।

१२ साउनमा ३ बजे शल्यक्रियामार्फत उनको सन्तान जन्मियो । नवजात शिशुलाई जन्म दिएको ३ दिनसम्म सबै कुरा सामान्य थियो । नवजात शिशुलाई फिडिङ गराइरहेकी थिइन् । उनलाई सामान्य टाउको दुखेको अनुभव भने भइरहन्थ्यो । डाक्टरले परामर्श र जाँच गरिरहेका थिए ।

‘साउन १६ सम्म साथमा सासु, बहिनी र श्रीमान रहेकोमा सासु घरभेटमा जानु भएको थियो । श्रीमान र बहिनीले मलाई हेरचाह गर्दै आउनु भएको थियो,’ मिन्डीक भन्छिन्, ‘बिहान २/३ बजेपिछ म आफै बेहोस भएछु । त्यसपछि केही थाहा भएन ।’ त्यही दिन स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट उनलाई काठमाडौ पुर्‍याइयो । ‘काठमाडौंको वीर अस्पतालमा बिरामी राख्न नसकिएपछि ग्रीनसिटी अस्पताल पुर्‍याइएछ,’ उनी भन्छिन् ।

मिन्डीक विभिन्न जनप्रतिनिधिहरुको पहलमा छिटो काठमाडौं पुग्न सफलता मिलेको सुनाउँछिन् । १६ साउन २०७९ मै ब्रेन ह्यामरेजको जटिलता देखेपछि चिकित्सकहरुले उनको शल्यक्रिया गरे । ‘मेरो जीवनको पुनर्जन्म पनि यही सफल शल्यक्रियापछि भएछ,’ उनले सुनाइन्, ‘७२ घण्टासम्म भेन्टिलेटर राखेपछि मात्रै होस आएछ ।’ उनी लगातार दुई महिनासम्म अस्पतालमै बसेर स्वास्थ्य लाभ गराइन् । टाउकाको पुनः शल्यक्रियापछि फेरि एक महिना अस्पताल बस्नु परेको उनले बताइन् । नवजात छोरीलाई भने फिडिङ गराउन नसक्ने भएपछि ल्याक्टोजन बोटल फिडिङ गराइएको उनी बताउँछिन् ।

त्यो बेलादेखि अहिलेसम्म मिन्डीक ५/६ महिनामा फ्लोअपका लागि अस्पताल गइरहेकी छन् । गाउँपालिका, कर्मचारी सहयोग तथा संचयकोषबाट गरेर ७ लाख रुपैयाँ उपचार खर्च लागेको उनले बताइन् । ‘पारिवारीक आर्थिक अवस्थाले नधानेपछि धेरै सरसापट गर्नुप¥यो,’ उनले थपिन् ।

सन्चो भएपछि मिन्डीक पुनः स्वास्थ्य कर्ममा फर्केर बिरामीमा सेवा तल्लीन छन् । अहिले उनकी कान्छी छोरी दुई वर्ष र जेठी ४ वर्षका छन् । उपचारपछि पुनर्जन्म पाएकी मिन्डीक अहिले आधारभूत स्वास्थ्य सेवा केन्द्र महमा कार्यरत छन् । ‘बल्ल— बल्ल आजकाल गर्भवती तथा सुत्केरीलाई सेवा दिन थालेकी छु,’ उनी भन्छिन्, ‘आँखा कम देख्ने समस्या भएको छ ।’

मिन्डीक यो अवस्था भएर फेरि स्वास्थ्य सेवा दिन पाउँदा खुसी लागेको उनले सुनाइन् । फेरि केही समस्या आउला कि भन्ने चिन्ताले भने उनलाई पिरोली रहन्छन् । मिन्डीकको स्वास्थ्य अवस्थाका कारण त्यहाँका अन्य कर्मचारीले उनलाई सघाइरहेका छन् ।

सोचेजस्तो काम गर्न नसक्दा भने दुःख लाग्ने गरेको अनुभव उनले सुनाइन् । त्यो आधारभूत स्वास्थ्य केन्द्रमा यो वर्ष १२ जनाले डेलिभरी गराए । शरीर अशक्त भएपनि निकै दुःख, कष्टका साथ उनी स्वास्थ्य सेवाप्रति समर्पित भएर लागिरहेकी छन् । आफूले सिकेको ज्ञानबाट सर्वसाधारणलाई सेवा दिनुपर्ने उनको मान्यता छ । ‘कठिन भौगोलिक चुनौती पन्छाउँदैं कर्णालीवासी निकै टाढाबाट औषधी उपचारका लागि स्वास्थ्य संस्थामा आएका हुन्छन् । उनीहरुको सेवा गरेर चित्त बुझाएरै पठाउनु पर्दछ,’ उनले भनिन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ