२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रतिष्ठानको शिक्षण अस्पतालमा रोगले सिकिस्त भएपछि मात्रै अस्पताल आउँछन् बिरामी

कर्णाली प्रतिष्ठानको शिक्षण अस्पतालमा रोगले सिकिस्त भएपछि मात्रै अस्पताल आउँछन् बिरामी

हाडजोर्नीकै बिरामी धेरै आउँछन् अस्पतालमा


जुम्ला—कर्णालीमा अहिले पनि बिरामी हुने बित्तिकै अस्पताल आउने चलन कमै छ । रोगले सिकिस्त नहुँदासम्म र रोग बल्झिएपछि मात्रै अस्पताल आउने गर्दछन् । सुरुमा घरायसी उपचार गर्ने, धामी झाँक्रीमा लैजाने, चोटपटक लागे काब्रो बाँध्ने परम्परा छ ।

यसको मुख्य कारण अशिक्षा, दक्ष र पर्याप्त स्वास्थ्यकर्मी स्थानीयस्तरमा नहुनु र सुविधा सम्पन्न अस्पतालसम्म लैजान सहज बाटो—घाटो नहुनु, एम्बुलेन्स नहुनु हो । अहिले पनि घण्टौं स्टेचरमा बोकेर बिरामी अस्पताल पु¥याउनुपर्ने नागरिकका बाध्यता छन् ।

जसका कारण रोग समयमा निको नहुने र कतिपय बिरामीको हात खुट्टा नै काटेर फाल्नुपर्ने स्थिती आउने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक तथा हाडजोर्नी एवं नसा रोग विशेषज्ञ डा. पुजन रोकाया बताउँछन् ।

प्रतिष्ठानमा दैनिक आउने बिरामीमध्ये हाडजोर्नी विभागमा बिरामीको नियमित चाप हुने गर्दछ । अस्पतालमा नियमित ओपिडी सेवामा मेडिसिन, सर्जरी, अर्थो, गाइनो, बाल रोग, दन्त रोग, छाला रोग तथा मानसिक रोगका विभाग पनि छन् । ‘स्वास्थ्य बिमा लागु भएको र हाम्रो सेवासँग सन्तुष्ट भएर हाडजोर्नीका बिरामी बढेका हुन्,’ उनले भने, ‘सेवाग्राहीको संख्या बढेको हामीलाई लागेको छ ।’ हाडजोर्नीका बिरामीको उपचार हुनुका साथै यसै सम्बन्धी एमडीएमएसको अध्ययन पनि प्रतिष्ठानमा भइरहेको छ । अहिले दोस्रो ब्याचका विद्यार्थी अध्ययन गरिएको उनले बताए ।

प्रतिष्ठानमा हाडजोर्नी नसा रोगका विज्ञहरु ल्याउनुपर्ने देखिन्छ । ‘विज्ञहरुलाई यहाँ ल्याएर मात्रै भएन । सुपरस्पेसियालिटी गरेका विज्ञहरु टिकाइ राख्नका लागि लजेस्टिक, व्यवस्थापन, वातावरण, सेवासुविधा हुन आवश्यक रहेको निर्देशक डा. रोकायाको भनाइ छ । ‘अस्पताल सेवातर्फको कुरा गर्दा अहिले सुपर–स्पेशलाइजेसनको जमानामा त्यहीअनुसारको दक्ष जनशक्तिहरू अस्पतालमा हुनुपर्छ । विशेषज्ञ मात्र भएर भएन उहाँहरूले काम गर्नको लागि आवश्यक पूर्वधारहरू पनि पर्याप्त हुनुपर्छ,’ डा. रोकाया थप्छन्, ‘यस्तो दुर्गममा काम गर्ने डाक्टरको लागि समयमा स्तरवृद्धि तथा आवश्यक प्रोत्साहनजस्ता कुराको व्यवस्था भयो भने सेवा अझै बढाउन सकिन्छ ।’

प्रतिष्ठानले एमआरआई गर्नुपर्ने बिरामीलाई मात्रै रेफर गर्ने गरेका छ । एमआरआईको रिपोर्ट पनि यही नै हेर्ने गरिएको डा. रोकायाले बताए । ‘विगत एक वर्षदेखि थाइराइडको जाँच पनि यतै हुने गरेको छ । जसका कारण अहिले निकै सहज पनि भएको छ । कमै मात्रैमा बिरामी रेफर हुने गरेका छन्,’ उनले थपे ।

कर्णाली र सुदूरपश्चिमका पिछडिएका १३ जिल्लाका नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षामा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले प्रतिष्ठानको स्थापना भएको हो । कर्णालीका १० जिल्ला र सुदूरपश्चिमका ३ जिल्ला प्रतिष्ठानको स्वास्थ्य सेवाको दायित्वमा रहेका छन् ।

भूगोलको बनावट तथा सडकको पहुँच बढेसँगै कर्णालीमा हाडजोर्नीका बिरामी समेत बढेका हुन् । डा. रोकायाका अनुसार सामान्य बिरामीको नियमित ओपिडीदेखि हातखुट्टा भाँच्चिएका, मेरूदण्डमा चोट लागेका बिरामीको अप्रेसन गरेर गरिने उपचार प्रतिष्ठानमा हुने गरेको छ । ‘जोर्नी खिइएको तथा भाँच्चिएको बिरामीको जोर्नी प्रत्यारोपण पनि गर्ने गरेका छौं,’ उनले भने ।

हाडजोर्नी विभागमा उपकुलपतिसहितको टिम

हाडजोर्नी विभागमा उपकुलपति अर्थोपेडिक सर्जन डा. मंगल रावल, डा.तुफान सिंह कठायत तथा एसिस्टेन्ट प्रोफेसर डा. पवन मरासिनीसहितको टिमले आवश्यक ओपिडी तथा सर्जरीको सेवा दिइरहेको उनले बताए ।

‘चोटपटक लागेका बिरामी धेरै हुन्छन् । त्यसमा जुम्ला जिल्लाबाट मात्र नभएर मुगु, कालिकोट, डोल्पा र जुम्लाका विभिन्न पालिकाहरूबाट आउने गरेका छन्,’ उनले भने, ‘चोटपटक लागेका बाहेक विशेषगरी ढाडको हड्डी खिइएका, घुडाको जोर्नी खिइएका, वाथरोग र युरिक एसिडका बिरामीहरू आउने गरेका छन् । त्यस्तै सम्पूर्ण हाडजोर्नीका बिरामीहरू आउने गर्दछन् ।’

कर्णालीमा विशेषगरी खुल्ला छत भएको रेलिङ नभएका घरहरू छन् । भ¥याङ पनि रेलिङ नभएको काठको हुनाले त्यहाँबाट खसेर विशेषगरी बालबालिका र बुढाबुढीहरू धेरै चोटपटक लागेर आउने गर्छन् । त्यस्तै, भिरपाखा, पहाड र रुखमा घाँस दाउराको जोहो गर्न जाँदा पनि त्यस्ता चोटपटक लागेर आउनेको संख्या पनि धेरै छ ।

जोर्नी प्रत्यारोपण, मेरूदण्डको शल्यक्रिया, घाटीको पछाडिको मेरूदण्डको शल्यक्रियाहरू जस्ता जटिल शल्यक्रिया पनि प्रतिष्ठानमै उपलब्ध छन् । पहिलेको तुलनामा सडकको पहुँच पनि बढेकोले दुर्घटनाको केसहरू पनि बढेका छन् । त्यस्तै, पहाडी तथा हिमाली जिल्लाहरुमा सडकको पहुँच भएपछि रिफर भएर आउने बिरामी पनि बढेका छन् । छिमेकी जिल्लाहरु मुगु र कालिकोटसहित पश्चिममा बाजुरासम्मका बिरामी पनि आउने गरेको डा. रोकायाले बताए ।

हाडजोर्नी हड्डीको प्रतिष्ठानमा राम्रो उपचार हुने भएको विश्वासले डोल्पा, बाजुरा मुगु कालिकोटका बिरामी उपचारका लागि आउने गरेको डा. तुफानसिंह कठायतले बताए । उनले भने, ‘समयमा उपचारका लागि नआएर गम्भीर अवस्थामा आएका दुई जना बिरामीको हातखुट्टा नै काट्नुपर्ने अवस्था आएको थियो । पछिल्लो समयमा त्यस्तो केसहरु आउने गरेका छैनन् ।’

तीन वर्षवधिमा ३८ हजार बढीले सेवा लिए

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा तीन वर्षको अवधिमा ३८ हजार ६४७ जनाले उपचार सेवा लिएको मेडिकल रेकर्डर मेघराज बुढाले बताए ।

‘आर्थिक वर्ष ०७८/०७९ मा १४ हजार १६१ जना, आर्थिक वर्ष ०७९/०८० मा १५ हजार ६७५ जना र चालु आर्थिक वर्ष ०८०/०८१ को माघ महिनासम्म ८ हजार ८११ जनाले उपचार सेवा लिएका छन्,’ उनले भने ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ