२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशभूकम्प प्रभावित क्षेत्रमा प्रजनन स्वास्थ्य शिविर, ४ हजार बढीले सेवा लिए

भूकम्प प्रभावित क्षेत्रमा प्रजनन स्वास्थ्य शिविर, ४ हजार बढीले सेवा लिए


वीरेन्द्रनगर—भूकम्पबाट प्रभावित क्षेत्रमा प्रजनन् स्वास्थ्य शिविर र सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल परिवार नियोजन संघको आयोजनामा आईपीपीएफ (स्प्रीन्ट) परियोजनाको सहयोगमा जाजरकोटका चार स्थानीय तहका विभिन्न स्थानमा स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।

१७ कात्तिकमा गएको भूकम्पले अति प्रभावित पालिका भेरी नगरपालिका, नलगाड नगरपालिका, कुशे गाउँपालिका र बारेकोट गाउँपालिकाका २९ स्थानमा प्रजनन् स्वास्थ्य शिविर र स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरिएको संस्थाका शाखा प्रबन्धक वसन्त खनालले बताए ।

‘शिविरबाट महिला तीन हजार ८ सय ४५ महिला र पुरुष पाँच सय ८५ गरी जम्मा जम्मा ४ हजार ४ सय ३० जनाले सेवा पाएका छन्,’ उनले भने, ‘७० जना फरक क्षमता भएका व्यक्तिहरुले सेवा लिएका छन् ।’

शिविरका साथै नेपाल परिवार नियोजन संघले भूकम्प प्रभावित समुदायका व्यक्ति तथा विद्यार्थीहरुलाई प्रजनन स्वास्थ्य सरसफाइलगायतका स्वास्थ्य सम्बन्धि ६५ वटा सचेतनामूलक कार्यक्रम गरिएको प्रबन्धक खनालले बताए । उक्त कार्यक्रम मार्फत ३५ सय जना लाभान्वित भएका छन् । पाठेघरको मुखको क्यान्सर जाँच गरेका २ हजार ४ सय ३५, स्त्री रोग सम्बन्धी सेवा लिने ३ हजार ३ सय ६०, यौनजन्य संक्रमणको उपचार गराउने १ हजार ५ सय ७४, परिवार नियोजनको लामो अवधिको साधन इम्प्लान्ट ३ सय ४५ जना, आईयूसिडी ८ जना, पाठेघर खसेका महिला ५७ जना, बच्चाहरुको ४ सय २० जना, गर्भवती १ सय २२ जना, भिडिओ एक्सरे सेवा ४० जना, सुत्केरीहरुलाई मर्यादा सामग्री वितरण ५९ जनालाई सेवा प्रदान गरिएको खनालले बताए ।

विपद्को समयमा प्रजनन स्वास्थ्य सेवाको बढी आवश्यकता हुने हुँदा शिविर कार्यक्रम आयोजना थियो । शिविरबाट लैङ्गिक हिंसा , गर्भवती महिला , सुत्केरी महिला ,किशोर किशोरीलाई प्रजनन स्वास्थ्य सम्बन्धि सेवा र परामर्श ,यौन रोग तथा एचआईभी एडस सम्बन्धि परामर्श तथा उपचार सेवा, परिवार नियोजन सेवा ,पाठेघर मुखको क्यान्सरको स्क्रीनिङ सेवा प्रदान गरिएको प्रबन्धक खनालले बताए ।

नेपाल परिवार नियोजन संघबाट स्त्री रोग विशेषज्ञ डा. हेमा छन्त्याल, डा. अस्मिता पाठक, डा. अमित लाम्गादेलगायतको स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेका थिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ