जुम्ला—मुगुको मुगुम कार्मारोङ गाउँपालिका स्वास्थ्य चौकी माग्रीमा २ वर्षदेखि करार सेवामा कार्यरत छन्—स्टाफ नर्स तारा विक । कठिन भूगोल, सिकाइ एक जिम्मेवारी अनेक, करारमा थोरै पारिश्रमिकमा काम गर्न कठिनाइ रहेको अनुभव उनले सुनाइन् ।
रिफरल सुत्केरी बिरामीसँगै उनी आफै साथी बनेर दुई पटक जिल्ला अस्पताल पुगि सकिन् । ‘सुत्केरी बिरामीलाई पनि धामी झाँक्री कहाँ लिएर जोखिममा पारिन्छ,’ उनी भन्छिन्, ‘उपकरण, औषधि अभावले कार्य सम्पादनमा कठिनाइ छ ।’ त्यसबाहेक भाषागत समस्याले काम गर्न कठिन रहेको उनले बताइन् ।
‘विदालगायतका सुविधा नहुनु, करारमा काम गर्दा अन्यबाट अपहेलित हुनु, जागिरकै लागि काम गरेका होलान् भन्ने आरोप लाग्छ,’ तारा सुनाउँछिन्, ‘राजनीतिक तथा अन्य आक्षेपले पीडित, आफू बिरामी छु भनेर सुनाउनु कसलाई ।’
जिल्ला अस्पताल मुगुकी स्टाफ गाल्देन छोमु लामाको अनुभव पनि उस्तै छ । ‘ओभर टाइमलगायतका सुविधा बाट बञ्चित छौं । दरबन्दीअनुसार सबै पूर्ति र बिदालगायतका काममा जाँदा सबै सधै नर्स साथीहरु कामको भारमा छौं ।’ तर पनि गाल्देन पेशाप्रति आत्म सन्तुष्टि व्यक्त गर्छिन् । ‘अन्ततः मारमा परेर काम गर्नुपर्ने हामी नर्सले नै हो,’ उनले सुनाइन् ।
मुगुम कार्मारोङ गाउँपालिका स्वास्थ्य चौकी माग्री मुगुमा तीन वर्षदेखि करार सेवामा काम गर्दै आएकी अनमी तुल्सी शाहीले आवश्यक औषधि, उपकरण नहुँदा आफूहरुले गाली खानु पर्ने बताइन् । ‘आवश्यक औषधि उपकरण नहुँदा पनि त्यसको गाली खाने हामी नर्स नै हौं,’ उनले भनिन् ‘सरकारले सबै नर्सको मर्का बुझिदियोस् । दुर्गममा समयमा हवाई उडान र बाटोको राम्रो सुविधा छैन । त्यो पीडा पनि हामी भोगेका छौंं ।’
त्यसबाहेक सरकारले स्वास्थ्यकर्मीका पदपूर्ति समय स्थायी नगर्दा करार भनेर आफूहलाई हेला गर्ने गरेको गुनासो उनको छ । ‘रातदिन खटेको सम्मान छैन । यो पेशाले घर परिवारबाट धेरैं टाढा छौं,’ उनले थपिन्, ‘अरु केही नभए पनि सेवा गरेर धर्म कमाइन्छ भन्ने लाग्छ । घर जान आउन एक महिनाको तलबले नि पुग्दैन् ।’
दुर्गममा सञ्चारको सुविधा छैन, डाडाँमा चढेर फोन गर्र्नुपर्ने बाध्यता उनीहरुको छ । ‘साथमा दुध खाने बच्चा छ । बस्ने क्वार्टर नहुँदा पनि असुरक्षा उत्पन्न हुन्छ,’ शाही भन्छिन्, ‘हजारौं संख्यामा नर्सहरु विदेसिन बाध्य छन् । बुवाआमाले ऋण गरेर पढाएको पैसा समेत उठाउने ठाउँ छैन, रोगगारी छैन ।’
सरकारबाट दुर्गममा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम र बजेटको पनि व्यवस्था नहुँदा उनीहरु थप मर्कामा परेका छन् । ‘गाउँमा त नर्स होइन, डाक्टर्नी सा’ब भन्छन् तर केही छैन । एकपल्ट नर्सिङ क्षेत्रमा काम गर्ने जनशक्तिको विषयमा रणनीतिक कार्यक्रम ल्याउनु अत्ति आवश्यक छ,’ मुगुम कार्मारोङ गाउँपालिका स्वास्थ्य शाखा मुगु जनस्वास्थ्य निरीक्षक बलिबहादुर बुढा भन्छन् ।