२०८१ मंसीर १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहवाई जहाज कुर्दाकुर्दै २३ वर्षीया सुत्केरीको मृत्यु

हवाई जहाज कुर्दाकुर्दै २३ वर्षीया सुत्केरीको मृत्यु


जुम्ला/वीरेन्द्रनगर—नेपालगन्जको जहाज कुर्दाकुर्दै एक सुत्केरीको ज्यान गएको छ। जहाजको प्रतीक्षा गर्दागर्दै हुम्लाको ताजाकोट गाउँपालिका–५ की २३ वर्षीया अंशु बुढाको ज्यान गएको हो।

बाजुरा जिल्लाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका क्रममा सोमबार राति १० बजे बुढाको मृत्यु भएको हो।

१२ पुसमा ताजाँकोट गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिलता देखिएपछि परिवारले थप उपचारका लागि मदना स्वास्थ्य संस्थामा लगेका थिए।

सुत्केरी भएको ११ दिनपछि बुढाको स्वास्थ्यमा श्वास–प्रश्वाससम्बन्धी समस्या देखिएपछि थप उपचारका लागि स्वास्थ्य संस्था लगिएको ससुरा जितबहादुर बुढाले जानकारी दिए।

जितबहादुरले भने, ‘सुत्केरी हुँदा बुहारी र नातिनीको अवस्था ठीकै थियो। एक्कासी बुहारीलाई ज्वरो आउने, टाउको दुख्ने समस्या देखियो। उपचारका लागि मदना स्वास्थ्यचौकी लगियो। त्यहाँ उपचार सम्भव नभएपछि नेपालगन्ज रेफर गरे।’

नेपालगन्जको जहाज नआएपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरेको बुढाले बताए। कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा. रन्जित शाहका अनुसार उपचारका क्रममा सोमबार राति १० बजे उनको मृत्यु भएको हो।

‘सुत्केरी अवस्थामा सामान्यतयाः अक्सिजनको मात्रा ९५ भन्दामाथि हुनुपर्छ। कोल्टी पुग्दा उनको अक्सिजन ४९ मात्रै थियो,’ उनले भने ।

कोल्टीमा हवाई जहाजको उडान नहुँदा उद्धार गर्न नसकिएको हुम्लाका प्रदेशसभाका सांसद रनसिंह परियारले बताए । ‘सोमबार कोल्टीमा हवाई जहाजको उडान भएन् । आइतबार कोल्टीमा ल्याएका रहेछन्,’ उनले भने, ‘अबेर भएका कारणले सेनाको हेलिकप्टर जान सकेन् । उहाँको मृत्यु भएको खबर पाएको छु ।’

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरू निःशुल्क हवाई उद्वार कार्यक्रम भएको त्यसबाट उनको उद्वार गर्न सकिने अवस्थामा खबर ढिलो हुँदा बुढाको ज्यान गएको प्रदेशसभा सदस्य परियारले जानकारी दिए ।

दुर्गम क्षेत्रमा जोखिम परेका विपन्न समुदायका गर्भवती तथा सुत्केरी महिलाको समयमै हवाई उद्धार गर्न राष्ट्रपति महिला उत्थान कार्यक्रम भएपनि पहुँच नपुगेपछि अकालमै बुढाले ज्यान गुमाइन्।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ