जुम्ला—सिँजा गाउँपालिका–६ रुगागाउँकी १७ वर्षीया संगीता रोकायाको नवजात शिशुको गत वर्ष जेठ महिनामा मृत्यु भयो । सात महिनामै शनीगाउँ स्वास्थ्य चौकीको वर्थिङ सेन्टरमा शिशु जन्मिएको थियो । बच्चा कमजोर जन्मिएपछि दूध चुस्न नसकेर तत्कालै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रिफर गरियो । तर, नवजात शिशुलाई त्यहाँ पनि बचाउन सकिएन् ।
‘प्रजनन क्षमता परिपक्व नभएका आमाबाट महिना नपुग्दै बच्चा जन्मियो,’ शनीगाउँ स्वास्थ्य चौकीकी अनमी पुनम रोकायाले भनिन्, ‘सानो पाठेघर भएकाले महिना नपुग्दै कमजोर बच्चा जन्मियो । जन्मेको २४ घन्टामै बच्चाको मृत्यु भयो ।’
कनकासुन्दरी गाउँपालिका–५ लुड्कुकी १९ वर्षीया आइसा उपाध्यायले आठ महिनामै बच्चा जन्माइन् । हाँडसिँजा स्वास्थ्य चौकीको प्रसूति गृहमा उनले नवजात शिशुलाई जन्म दिएकी थिइन् । स्वास्थ्य चौकीकी अनमी प्रिया आचार्यका अनुसार जन्मिदैं बच्चा कमजोर थियो । सानै उमेरमा बच्चा जन्मिएको र गर्भावस्थामा आमालाई पोषणयुक्त खाना नपुगेका कारण महिना नपुग्दै कमजोर बच्चा जन्मिएको प्रिया बताउँछिन् । बच्चालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रिफर गरिएको थियो । स्वास्थ्य चौकी इन्चार्ज वीरेन्द्र उपाध्यायका अनुसार उपचारकै क्रममा अस्पतालमा बच्चाको मृत्यु भयो ।
माथिका दुई त प्रतिनिधीमूलक घटनामात्रै हुन् । अपरिपक्व उमेरमै गर्भधान गर्दा यस्ता घटनाहरु गाउँवस्तीमा प्रशस्तै घट्ने गरेका छन् । जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्यांकले पनि त्यही दर्दनाक तस्विर देखाउँछ । उसको तथ्यांकअनुसार गत वर्ष मात्रै जुम्लामा २९ जना नवजात शिशुको मृत्यु भएकोे छ ।
जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटा कलिलै उमेरमा विवाह गर्ने र प्रजनन क्षमता परिपक्व नभएर गर्भाधान गर्दा बच्चा आमा दुवैको स्वास्थ्य अवस्था जोखिम पर्ने गरेको छ । ‘कलिलै उमेरमा बालविवाह गर्ने र प्रजनन क्षमता परिपक्व नभएर बच्चा जन्माउने योजना बनाउँदा यस्ता घटनाहरु घट्ने गर्छन्,’ उनी भन्छन्, ‘यसले आमा र बच्चा दुवैको स्वास्थ्य जोखिम पार्ने गर्छ ।’
बालविवाहले सबैभन्दा ठूलो जटिलता महिला स्वास्थ्यमा पर्ने अनुसन्धानहरुले देखाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका नर्सिङ अधिकृत सुशिला शाहीले बताइन् । ‘बढ्दो बालविवाह महिलामा अनेकौं स्वास्थ्य जटिलता आउने मुख्य कारण बनिरहेको छ । कलिलै उमेरमा हुने विहेवारीले खासगरी गर्भावस्थामा जटिल स्वास्थ्य समस्या निम्त्याएको पाइएको छ,’ उनले भनिन् ।
कलिलै उमेरमा विहे गरेपछि चाँडै यौन जीवनमा प्रवेश गर्ने, चाँडै गर्भवती हुने र आमा बन्ने दर बढेको छ । ‘कम उमेरमा महिलाका प्रजनन अंगहरु राम्ररी परिपक्व भएका हुँदैनन् । कम उमेरमा बच्चा जन्माउँदा पाठेघरमा बढी समस्या देखिने गर्छ,’ शाही थप्छिन्, ‘गर्भावस्था आफैंमा एउटा जटिल अनि विशेष अवस्था हो । महिलाको स्वास्थ्यमा गम्भीर र ज्यान जाने खतरा समेत रहन्छ । किशोरावस्थामा गर्भवती भएमा स्वाभाविक रुपमा गर्भका जटिलताहरु बढी आउँछन् ।’
२० वर्षभन्दा कम उमेरमा बच्चा जन्माउँदा एकातिर मातृमृत्यु दर बढी हुन्छ भने अर्कातिर बच्चाको तौल कम हुने तथा मृत्युदर धेरै गुणाले बढी हुने गरेको छ । कम उमेरमा गर्भवती हुँदा रक्तअल्पता हुने, बच्चाको तौल कम हुने, गर्भको अवधि नपुग्दै (३७ हप्ता भन्दाअगाडि) बच्चा जन्मिने तथा गर्भवतीको रक्तचाप बढ्ने र त्यससम्बन्धी जटिलताहरु थपिने सम्भावना हुने उनको भनाइ छ । ‘गर्भको जटिलताले आमाको स्वास्थ्यमा मात्र होइन्, गर्भको बच्चामा पनि प्रतिकूल असर गरेको हुन्छ । जसले गर्दा बच्चाहरु कम तौलका हुने, राम्रो शारीरिक विकास नहुने तथा कन्जेनाइटल डिफेक्ट (जन्मपूर्व नै खराबी) हुने सम्भावना बढी हुन्छ,’ शाहीले भनिन् ।
जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्यांकअनुसार स्वास्थ्य संस्थामा आर्थिक वर्ष ०७९/८० मा गर्भावस्था चेकजाँच गर्न आएका एक हजार ६ सय २९ जनामध्ये ३ सय १२ जना (१९.१५ प्रतिशत) २० वर्षमुनिका किशोरी छन् । यस्तै, ०८०/८१ को कात्तिकसम्म गर्भावस्था चेकजाँच गराउन आएका ५ सय ३ जनामध्ये १ सय २ जना (२०.२७ प्रतिशत) २० वर्षमुनिका किशोरी छन् ।
यसैगरी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आर्थिक वर्ष ०७८/७९ मा गर्भावस्था चेकजाँच गर्न आउने पाँच सय ५६ मध्ये १ सय ८ जना (१९.४२ प्रतिशत) २० वर्षमुनिका किशोरी रहेका छन् । आर्थिक वर्ष ०७९/८० मा १ हजार ८० मध्ये १ सय ३१ जना (१२.१२ प्रतिशत) २० वर्षमुनिका किशोरी रहेको तथ्यांक छ । आर्थिक वर्ष ०८०/८१ को कार्तिक महिनासम्म गर्भावस्था चेकजाँच गराउन आउने ३ सय ५९ जनामध्ये ३४ जना (९.४७ प्रतिशत) २० वर्षमुनिका किशोरी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुम्लासहित मुगु, कालीकोट र डोल्पाका जुम्ला जिल्लासँग सीमा जोडिएका केही पालिकाका सेवाग्राही आउने गरेका छन् ।
हालै क्याड नेपाल जुम्लाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार तीन वर्षयता हिमा गाउँपालिकामा मात्रै १ हजार ज्ञ सय ७ जनाको विवाह भएकोमा ७ सय ५५ जनाको बालविवाह भएको देखिन्छ । कुल विवाहको ६८.२० प्रतिशत बालविवाह भएको तथ्यांकले देखाउँछ । यस्तै, सिँजामा ३ सय १ जनाले विवाह गरेकोमा १ सय ८४ जना (६१.१२ प्रतिशत) ले बालविवाह गरेका छन् । कनकासुन्दरीमा तीन वर्षमा १ हजार ५३ जनाले विवाह गरेकोमा ५ सय ७१ जना अर्थात् ५४.२२ प्रतिशतले बालविवाह गरेका छन् । प्लान नेपाल र क्याड नेपालले संयुक्त रूपमा सन् २०२० देखि बालविवाहको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आएका छन् ।
समाजमा बालविवाह भइरहेपनि प्रहरीमा उजुरी भने आउने गरेका छैनन् । जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांकअनुसार आर्थिक वर्ष ०७८/७९ मा तीन वटा र ०७९/८० मा १५ वटा बालविवाहका घटना रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक विवेक खनालले बालविवाह गरेपछि मुलुकी फौजदारी अपराधसंहिता, २०७४ को दफा १७३ बमोजिम कानुनी कारवाही व्यवस्था रहेको बताए । ‘उक्त दफाअनुसार जबर्जस्ती बालविवाह गर्ने गराउनेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ,’ उनले भने ।
नवजात शिशुको मृत्यु हुने समस्यालाई मध्यनजर गर्दै चन्दननाथ नगरपालिका महिला, बालबालिका शाखा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, किर्डाक, वल्र्डभिजन, जिल्ला प्रहरी कार्यालय, बालविवाह विरुद्धको साँझा अभियान सञ्जाल र पत्रकार महासंघ जुम्लाले चन्दननाथ नगरपालिकामा ‘म बालविवाह विरुद्ध बोल्छु’ अभियान सञ्चालन गरिरहेका छन् । अभियानको क्रममा चन्दननाथ माध्यमिक विद्यालयका बालबालिकालाई बालविवाहले स्वास्थ्यमा पार्ने असर र कानुनी सचेतना गरिएको छ ।
‘विहेवारी २० वर्षपारी’ भन्ने नाराका साथ नेपाल सरकारले सन् २०३० सम्म बालविवाहमुक्त समाज बनाउने लक्ष्य लिएको छ । सोही लक्ष्यअनुरुप चन्दननाथ नगरापालिका महिला तथा बालबालिका शाखाले सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी नगर क्षेत्रका बालबालिका, अभिभावक, धामीझाँक्री पुरोहितका बीच ‘म बालविवाह विरुद्ध बोल्छु’ अभियान सञ्चालन गरेको बाल संरक्षण अधिकृत पुष्पा थापाले बताइन् ।