वीरेन्द्रनगर– जाजरकोटमा भूकम्पका कारणले त्रिपालमा बस्दै आएका मृत्यु संख्या १६ पुगेको छ । भूकम्पले घर भत्काएर त्रिपालमा बस्दै आएका जाजरकोट बारेकोट गाउँपलिका–८ सेपुखोलाका ६० वर्षीया ऐभान कामीको गए राती करिब १ बजे मृत्यु भएको हो ।
भूकम्पपछिको चिसोका कारणले त्रिपालमा बस्दै आएका कामीको सोमबार राती मृत्यु भएको उनकी भान्जी तारा नेपालीले बताइन् । ‘भूकम्पले घर भत्काएपछि चिसोमा बस्दै आउनु भएको थियो ।’ उनले भनिन्,‘सामान्य ज्वरो आएर हिजो राती मृत्यु भएको हो ।’
योसँगै मृत्यु हुनेको संख्या १६ जना पुगेको छ । चिसोका कारण ज्यान गुमाउने मध्ये जाजरकोटका १३ र रुकुम पश्चिमका तीन जना रहेका छन् । गत १७ कार्तिकको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ६२ हजार घर भत्काएपछि यहाँका बासिन्दा घरबाहिर त्रिपालमुनि बस्दै आएका छन् ।
जाजरकोटको नलगाड नगरपालिका– ८ सिमकी २५ वर्षीया सुत्केरी शर्मिला विक चदाराको शनिवार र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– १ जंगलगाउँकी ६२ वर्षीया नन्दकली पुनको आइतबार मृत्यु भएको थियो ।
त्यस्तै रुकुम पश्चिम आठबिसकोट नगरपालिका– ११ की ८० वर्षीया पद्मी ओली र सोही वडाका ७० वर्षीय दत्ते कामीको ज्यान गएको थियो । ओलीको ५ मंसिर र कामीको ३० कार्तिकमा ज्यान गएको हो ।
जाजरकोटमा भेरी नगरपालिका– २ का हुकुमबहादुर पुनकी एक महिनाकी छोरी निरुता पुन, नलगाड नगरपालिका– ८ टापुकी ७० वर्षीया विष्णुकुमारी खत्री, जुनीचाँदे गाउँपालिका– ४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका– १ रामीडाँडाका ७० वर्षीय डुमे पुन, छेडागाड नगरपालिका– १३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी, भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका– ४ जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका– ४ का ८४ वर्षीय गोपालबहादुर रावल, ४८ वर्षीया पम्फा रावल तथा कुसे गाउँपालिका– ५ की ६५ वर्षीया देवी मल्ल र वडा नम्बर ६ का ५५ वर्षीय गथु शाहीले ज्यान गुमाएका छन्।