जुम्ला—हुम्ला जिल्ला अस्पतालमा एक सातादेखि चिकित्सकको अभाव देखिएको छ । सदरमुकाम सिमिकोटमा रहेको जिल्ला अस्पतालमा चिकित्सकको अभाव देखिएको हो ।
दशैँ र तिहारका लागि घर विदा गएका चिकित्सकहरू विदा सकिएको ९ दिन बितिसक्दा पनि जिल्लामा नफर्केपछि अस्पतालमा उपचारका लागि आउने बिरामी मर्कामा परेका हुन् ।
दैनिक दिन जिल्ला अस्पतालमा पुगेका सेवाग्राहीले चिकित्सक अभावका कारण सेवा प्रवाहमा समस्या भोगेको गुनासो गरेका छन् । खुट्टा फ्याक्चर भएर मंसिर ८ मा जिल्ला अस्पतालमा पुगे पनि दुई घण्टा कुर्दा पनि चिकित्सक नआएपछि रित्तै फर्कनु परेको सेवाग्राही नरजन तामाङले बताए ।
उनका अनुसार जिल्ला अस्पतालमा हाल एक जना मात्रै चिकित्सक रहेकोले सेवाग्राहीको उपचार गर्न नसक्नुका साथै बिरामीको चेकजाँच गरेको रिपोर्टसमेत हेर्न नसकेको हो ।
सोही दिन खार्पुनाथ गाउँपालिका–४ की ३५ वर्षीया विमा शाहीको घरको छतबाट लडेर दाँत र मुखमा चोट लागेर गम्भीर घाइते भएर जिल्ला अस्पतालमा पु¥याइएपनि जिल्ला अस्पतालमा चिकित्सक अभावमा जिल्ला बाहिर प्रादेशिक अस्पताल सुर्खेतमा रेफर गरिएको घाइतेका श्रीमान चन्द्र शाहीले गुनासो गरे ।
उनले चिकित्सक अभावले आफूले व्यक्तिगत रुपमा ४ लाख ६० हजार रुपैयाँमा नेपाली सेनाको हेलिकप्टर चार्टर्ड गर्नु परेको बताए । लामो समयदेखि चार जना चिकित्सकको दरबन्दी रहेको जिल्ला अस्पतालमा हाल एक जनाले सेवा दिंदै आएका छन् ।
एक जनामात्रै चिकित्सक भएकाले ती चिकित्सकले दैनिक आउने सयौँ सेवाग्राहीलाई समय दिन सक्नु भएको छैन । यसअघि सो अस्पतालमा दरबन्दी अनुसारको पदपूर्ति नभएपनि सात जना चिकित्सकहरूले सेवा दिंदै आएका थिए ।
यो समय जिल्ला अस्पतालमा सयौँ बिरामी आउने गरेको भएपनि चिकित्सक अभावकै कारण उपचार नगराएरै घर फर्कनु परेको सेवाग्राहीले गुनासो गरेका छन् । एक्सरे, भिडियो एक्सरे, दिसा पिसा र ब्लड लगायतको रिपोर्ट देखाउनु पर्दा घण्टौं कुनुपर्ने बाध्यता छ ।
जिल्ला अस्पतालमा यो समय चिकित्सक मात्रै नभई अन्य स्वास्थ्यकर्मीको पनि अभाव देखिएको छ । सो विषयमा जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख गीता लामाले दशैँ र तिहारका लागि गएका चिकित्सकहरूले नेपालगन्जमा हवाई टिकट नपाएका कारण समस्या भएको बताइन् ।