वीरेन्द्रनगर– कर्णाली प्रदेश अस्पताल सुर्खेतले जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पमा परी घाइते भएकाहरूको अवस्था सुधारोन्मुख रहेको जनाएको छ । बिहीबार अस्पतालले पत्रकार सम्मेलन गरी घाइतेहरूको स्वास्थ्य अवस्था र उद्धार तथा उपचार व्यवस्थापनमा अस्पतालले गरेका कामबारे जानकारी दिँदै सो बताएको हो ।
प्रदेश अस्पतालमा भूकम्पबाट घाइते बनेका ४५ जनाको उपचार भएको छ । अस्पतालले घाइतेहरूलाई वर्गीकरण गरी उपचार गरेको छ । उपचारपछि २४ जनालाई डिस्चार्ज गरिएको, १ जना न्यूरो आइसियु भेन्टिलेटरमा, १ आइसियुमा र १९ जनाको वार्डमा उपचार भइरहेको अस्पतालका निर्देशक प्रा.डाक्टर डम्बर खड्काले जानकारी दिए ।
अस्पतालमा जाजरकोटका भेरी नगरपालिका, बारेकोट गाउँपालिका र नलगाड नगरपालिका, यस्तै कुशे गाउँपालिका, जुनीजाँदे गाउँपालिका, छेडागाड नगरपालिका र रुकुम पश्चिमका चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका, आठबिसकोट नगरपालिका र दैलेखको गुराँस गाउँपालिकाका घाइतेहरूको उपचार गरिएको छ । तीमध्ये १७ जना पुरुष र १८ जना महिला रहेका छन् । अस्पतालमा ५ वर्ष मुनिका ६ जना बालबालिकाको उपचार भइरहेको भने ५ जनाको शल्यक्रिया गरिएको छ ।