जुम्ला—सिंजा गाउँपालिका–६ रुगागाउँका १७ वर्षीया संगीता रोकाया र १८ वर्षीय जंगे रोकायाको नवराज शिशु गत वर्ष जेठ महिनामा मृत्यु भयो । नौं महिना नपुग्दै सात महिनामा शनीगाउँ स्वास्थ्य चौकीको वर्थिङ सेन्टरमा शिशु जन्मेको थियो ।
संगीताले ग्रामीण भेगको वर्थिङ सेन्टरमा बच्चा जन्माइन् । बच्चाले दुध चुस्न नसकेपछि तत्कालै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रिफर गरिएको स्वास्थ्य चौकीका इन्चार्ज रमेश रावलले बताए । ‘महिना नपुग्दै बच्चा जन्मेकोले एनआईसीयुमा राखेर उपचार गर्नुपर्ने अवस्था देखेपछि सुविधा सम्पन्न प्रतिष्ठान अस्पताल रिफर गरेका थियौं,’ उनले भने ।
‘प्रजनन क्षमता परिपक्व नभएका आमाबाट महिना नपुग्दै बच्चा जन्मियो,’ शनीगाउँ स्वास्थ्य चौकीकी अनमी पुनम रोकायाले भनिन्, ‘सानो पाठेघर भएकोले महिना नपुग्दै कमजोर बच्चा जन्मियो । जन्मिएको बच्चाले दुध चुस्न नसकेपछि रेफर गरेपनि भोलि सदरमुकाम खलंगाको अस्पतालमा लैजाने भन्दै घर लिएर गए ।’
सदरमुकाम खलंगाको अस्पतालमा लैजान गाउँपालिकाले निःशुल्क एम्बुलेन्सको पनि व्यवस्थापन गरेको थियो । ‘अभिभावकले भोलि लैजाउला भन्दै घरमै लगे, जन्मेको २४ घण्टामै बच्चाको मृत्यु भयो,’ उनले भनिन् ।
कनकासुन्दरी गाउँपालिका–५ लुड्कुकी १९ वर्षीया आइसा उपाध्यायले ८ महिनामै बच्चा जन्माइन् । हाँडसिंजा स्वास्थ्य चौकीको प्रसुति गृहमा उनले नवजात शिशुलाई जन्म दिएकी थिइन् । स्वास्थ्य चौकी अनमी प्रिया आचार्यका अनुसार जन्मिदैं बच्चा कमजोर थियो । सानै उमेर बच्चा जन्मिएको र गर्भावस्थामा आमाले पोषणयुक्त खाना नपुगेका कारण महिना नपुग्दै बच्चा कमजोर जन्मिएको प्रिया बताउँछिन् ।
बच्चालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रिफर गरिएको थियो । स्वास्थ्य चौकी इन्चार्ज वीरेन्द्र उपाध्यायका अनुसार उपचारकै क्रममा अस्पतालमा बच्चाको मृत्यु भयो ।
तिला गाउँपालिका–८ जुम्लाकोटकी २२ वर्षीया आइसरा रावतले जुम्लाकोट प्रसुती गृहमा १४ माघ ०७९ राति बच्चा जन्माइन् । जन्मेको ११ घण्टापछि घरमै बच्चाको मृत्यु भयो । ‘बच्चा नर्मल नै जन्मेको हो,’ स्थानीय स्वास्थ्य चौकी इन्चार्ज विराजु जिसीले भने, ‘बच्चा जन्मेपछि टाउकोमा फोका निस्केको, नाकबाट रगत बगेको, छिटोछिटो श्वास फेर्ने र दुध चुस्न सकिरहेको थिएन् ।’
त्यसपछि बच्चालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रिफर गरियो । तर, अभिभावकले अस्पताल नलिएपछि बच्चा घरमै मृत्यु भएको इन्चार्ज जिसीले बताए । ‘त्यतिबेला हिउँद महिनामा हिउँ परिरहेको थियो,’ जिसीले भने, ‘धेरै टाढा दुर्गमबाट अस्पताल जान अनुकूल वातावरण पनि थिएन । अभिभावकले बच्चालाई अस्पताल लिन सकेनन् र घरमै मृत्यु भयो ।’
यी त केही प्रतिनिधीमूकल घटनामात्रै हुन् । प्रजनन क्षमता परिपक्व नहुँदै बच्चा जन्माउनु, दुर्गममा सुविधा सम्पन्न प्रसुति गृह नहुनु, अशिक्षित र अटेरी अभिभावकका कारण नवजात शिशुले थप उपचारै नपाएर मृत्यु हुने गरेको तथ्यहरुले देखाउँछ ।
आर्थिक वर्ष ०७९/०८० मा जुम्लामा मात्रै २९ जना नवजात शिशुको मृत्यु भएको तथ्यांकले देखाउँछ । जन्मेदेखि ७ दिनभित्र २३ जना र जन्मेको ८ देखि २८ दिन भित्र ५ जना नवजात शिशुको स्वास्थ्य संस्थामै मृत्यु भएको जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्यांकमा छ । यस्तै, जन्मेको ७ दिनभित्र एक जना नवजात शिशुको स्वास्थ्य संस्थाबाहिर घरमा मृत्यु भएको तथ्यांक रहेको जनस्वास्थ्य कार्यालय जुम्लाका तथ्यांक शाखा प्रमुख पदम खत्रीले बताए ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सार्वजनिक सर्वेक्षण प्रतिवेदन अनुसार २०७९/०८० को तथ्यांकअनुसार नवजात मृत्युदर प्रतिहजार जीवित जन्ममा २१ र एक वर्षसम्मका शिशुको मृत्युदर २८ रहेको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६ को तथ्यांकले पनि नवजात शिशुको मृत्युदर २१ नै देखाएको थियो । सन् २०११ मा २८ दिनभित्र जन्मिएका नवजात शिशुको मृत्यु ३३ थियो ।
‘सबैभन्दा बढी बालबालिकाको मृत्यु एक महिनाभित्र नै भइसक्छ । त्यसभित्र पनि ४८ घन्टाभित्र झण्डै ८५ प्रतिशतको हाराहारीमा मृत्यु हुने देखिन्छ’ प्रतिवेदनमा उल्लेख छ । नवजात शिशुको कुल मृत्युको ३१ प्रतिशत मृत्यु श्वासप्रश्वास र मुटु सम्बन्धीको रोगबाट हुन्छ ।
त्यसैगरी, गर्भ तथा प्रसुतिको जोखिमका कारण ३५ प्रतिशत र बाँकी संक्रमण, जन्मजात समस्या, अकस्मात मृत्यु, सीतांग हुनुलगायत कारणले मृत्यु हुने गरेको पाइएको छ । नवजात शिशुको मृत्युको कारण बन्दै आएका प्रमुख रोगहरूमा निमोनिया, झाडापखाला, दादुरा, कुपोषणलगायत रोग हुन् ।
दिगो विकास लक्ष्यअनुरुप सन् २०३० सम्ममा नवजात मृत्युदर प्रतिहजार जीवित जन्ममा १२ वा सोभन्दा कम र सन् २०३५ मा १० भन्दा कममा ल्याउने सरकारको नीति हो । सोहीअनुरुप सरकारले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकताभित्र राखेर वर्षौंदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, पनि नवजात शिशुको मृत्युदर कम हुन सकेको छैन ।