वीरेन्द्रनगर– जिल्ला अस्पताल रुकुम (पश्चिम)मा प्रसूति कुरुवा घरको निर्माण गरिएको छ । गर्भवती तथा सुत्केरी महिला र उनका कुरुवाहरूलाई बस्न सहज होस भनेर अस्पताल परिसरमा कुरुवा घर निर्माण गरिएको हो ।
कर्णाली प्रदेशमै पहिलो प्रसूति कुरुवा घरका रूपमा निर्माण भएको छ । ‘वान हर्ट वर्ल्ड वाइड’ तथा रुकुमेली समाज विकास केन्द्र र अस्पताल विकास समितिको साझेदारीमा कुरुवा घर बनेको ‘वान हर्ट वर्ल्ड वाइड’का जिल्ला संयोजक लोकमणि गिरीले बताए ।
‘घर निर्माणमा २९ लाख ४८ हजार ७ सय १८ रुपैयाँ खर्च भएको छ । ४ लाख अस्पताल विकास समितिको हो भने बाँकी सबै रकम वान हर्ट वर्ल्ड वाइडको रहेको छ ।’ उनले भने,‘यो घरमा आर्थिक रूपमा विपन्न तथा टाढाका सुत्केरी, गर्भवती तथा तिनका कुरुवाहरू बस्न पाउने छन् ।’
गर्भवती घर जान पनि सम्भव नहुने र आर्थिक रूपमा विपन्न भएको अवस्थामा होटेलमा पनि बस्न नसक्ने भएकोले उक्त गर्भवती तथा तिनका कुरुवा निःशुल्क रूपमा यो घरमा बस्न पाउने गिरीले बताए । ‘कुरुवा घरमा चार वटा बेड रहेका छन् । भान्साको पनि व्यवस्था रहेको छ । गर्भवती तथा सुत्केरीलाई मापदण्ड अनुसारका खानेकुराको व्यवस्था अस्पतालले गर्ने छ ।’ उनले भने,‘अब दुर्गमबाट प्रसूति सेवा लिन जिल्ला अस्पतालसम्म पुगेका विपन्न परिवारका आमा तथा गर्भवती महिलालाई होटेलमा बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।’