कोहलपुर—२ बाँके स्थायी घर भएका डा. संकेत विश्वकर्मा हाल कालिकोट जिल्ला अस्पतालका प्रमुख हुन् । भेरी अस्पतालमा आईसीयु र इमर्जेन्सी विभागमा काम गरेको अनुभव भएका डा. विश्वकर्माले सल्यान अस्पतालमा मेडिकल अधिकृतको रुपमा काम गरिसकेका छन् । बाँकेको बैजनाथ गाउँपालिकाअन्तर्गत बनकटवा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यालय प्रमुखको रुपमा समेत उनले अनुभव लिएका छन् । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा छोटो अवधिमा सेवा गर्ने मौका पाएका विश्वकर्मासँग हेल्थआवाजले गरेको कुराकानीः
जिल्ला अस्पतालमा जनशक्ति र भौतिक पूर्वाधारको अवस्था कस्तो छ ?
जनशक्तिका हिसाबले ४४ जनाको स्थायी दरबन्दीमा २६ जना स्थायी दरबन्दी पूर्ति भएको छ । करार दरबन्दीमार्फत ८ जना कार्यरत रहेका छन् भने १० जनाको दरबन्दी रिक्त छ । त्यसै गरी विकास समिति, विशेषज्ञ सेवालगायत एनएसआईमार्फत पनि करारमा कर्मचारी नियुक्त गरी कामकाजमा अगाडि बढाइएको छ ।
भौतिक पूर्वाधार हिसाबले जनस्वास्थ्य तर्फको प्रशासनिक भवन अत्यन्तै जीर्ण अवस्थामा छ । अस्पतालको नयाँ भवन हालको मापदण्डअनुरुप नभएको र नयाँ भवन तयार हुने अवस्था रहेको छ । यसैगरी, स्टाफ क्वार्टर पनि दुई वटा भत्काएर नयाँ बन्दै गरेको अवस्थामा रहेको छ ।
तपाईंले यहाँबाट कुन—कुन सेवा प्रवाह गरिरहनु भएको छ ?
हामीले २४ घण्टा इमर्जेन्सी सेवा, बहिरंग सेवा, अन्तरंग सेवा सञ्चालन गरेका छौं । प्रसुती (सिजरियन सेवा) र सुरक्षित गर्भपतन, एमडिजिपी विशेषज्ञद्वारा दिइने सेवाहरु, बाल रोगको सेवा, पोषण कार्यक्रम, क्षयरोग, कुष्ठरोग, कालाजार, डेंगुजस्ता संक्रमण रोग सम्बन्धि सेवा, २४ घण्टा ल्याब, फार्मेसी (सःशुल्क र निःशुल्क दुवै), एक्सरे सेवा, भिडियो एक्सरे सेवा, स्वास्थ्य विमाको सेवा, सामाजिक सेवा एकाईमार्फत दिइने सेवा, २४ घण्टा एम्बुलेन्स सेवा र पोस्टमार्टमको सेवा दिइरहेका छौं ।
जिल्ला अस्पतालमा सेवा लिन आउने कस्ता खालका बिरामी रहेका छन् ?
सर्ने रोग र नसर्ने रोग दुवै खालका बिरामी आउने गरेका छन् । बहिरंग सेवामा धेरै जस्तो ग्यास्ट्राइटिस (एपीडी) दम रोग, मधुमेह, उच्च रक्तचापजस्ता बिरामीको चाप बढी हुन्छ । हाल बालबालिकामा भाइरल ज्वरो, निमोनियाजस्ता समस्या देखा परेका छन् । मानसिक रोगका समस्या पनि बढी रहेको अवस्था पाइन्छ ।
सेवाग्राहीलाई छिटो—छरितो सेवा दिन सक्नु भएको छ ?
हामीसँग जनशक्ति र भवन अभावका बाबजुद हाम्रो टिमले छिटो–छरितो सेवा दिने कोशिस गरेको छ । हामीले बिरामी जाँचका लागि विहान राउन्ड ८ बजेपछि हुन्छ । बहिरंग सेवा दिउँसो १० देखि बिरामी नसकिएसम्म दिइन्छ । दिनमा ४–५ वटा चिकित्सकद्वारा सेवा प्रदान गरिन्छ । त्यसैगरी इमर्जेन्सीमा सेवा पनि नियमित छ ।
अहिले अस्पतालमा दिन नसकिएको सेवा कुन हुन् ?
भौगोलिक विकटता, उपकरणका अभाव, भवन अभाव र विशेषज्ञ चिकित्सक अभावका जस्ता कारणले सोचेअनुसारको सेवा दिन सकिरहेका छैनौं । हाललाई हाडजोर्नीको अपरेसन सेवा दिन नसकेको अवस्था छ । त्यसैगरी थाइराइडको परीक्षण पनि भवन र जनशक्ति अभावका कारण सुरु गर्न सकेका छैनौं । विभिन्न मुटु रोगका बिरामी, टाउकोको गम्भीर चोटका बिरामी आदिलाई पनि ठूलो अस्पतामा रिफर गर्नुपर्ने अवस्था छ ।
दुर्गम जिल्लामा रहेर स्वास्थ्य सेवा दिँदाका समस्या के पाउनु भएको छ ?
इच्छाशक्ति भएतापनि बजेट, जनशक्ति र उपकरणमा अभावले भनेअनुसार सेवा दिन नपाउँदा र बाहिर रिफर गर्नुपर्ने अवस्था रहेको छ । यो दुर्गमका अस्पतालले भोग्नुपरेको समस्या हो । रिफर गर्दा पनि बाटो र दुरीको समस्याको समस्या कारणले पनि बिरामीले भनेअनुसारको उपचार पाउन नसक्नु समस्या रहेको छ ।
स्थानीय तह र प्रदेश सरकारसँग कस्तो समन्वय गरिरहनु भएको छ ?
हाम्रो तीनै तहका सरकारसँगको सम्बन्ध राम्रो रहेको छ । प्रदेशले विभिन्न निर्देशन दिइरहेको अवस्था छ । स्थानीय निकायसँग विभिन्न कार्यक्रम, तालिम, औषधी–उपकरण व्यवस्थापनमा सहकार्य हुने गरेको छ ।
अस्पतालको सुधारका भावि योजना के छन् ?
सबैभन्दा पहिला नयाँ भवनमा हस्तान्तरण भएपश्चात सर्ने योजना बनाएका छौं । न्यूनतम सेवा मापदण्डका आधारमा सेवा विस्तार गर्ने योजना रहेको छ । एचडियु सेटअप गर्ने योजना बनाएका छौं । अबका दिनमा बीएमएलटीको नियुक्ति गरेर थाइराइड र कल्चरजस्ता ल्याब सेवा विस्तार गर्ने योजना रहेको छ । यी सेवा जिल्ला अस्पतालबाट चाडै दिन व्यवस्थामा मिलाउन लागेका छौं ।
प्रदेशसँग सहकार्य गरी हाडजोर्नी विशेषज्ञद्धारा सेवा सुचारु गर्ने, दूरचिकित्सा सेवालाई थप प्रभावकारी बनाउने योजना रहेको छ । साथै, यहाँ सर्पदंश उपचार सेवाको अभावले सर्पले डसेमा बाहिर रिफर गर्नुपर्ने अवस्था रहेको छ । त्यसलाई यहीबाट सेवा दिनका लागि सर्पदंश सेवा केन्द्र विस्तार गर्ने योजना छ ।