जुम्ला– जुम्लामा आर्थिक अभावका कारण उपचार गर्न नसकेका बिरामीको मोतीबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । आर्थिक अभाव र भौगोलिक विकटताले मोतीबिन्दुको उपचार गर्न नसकेका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिएको हो ।
असोज १२ गतेदेखि १४ गतेसम्म चन्दननाथ नगरपालिकामा उक्त शिविर सञ्चालन गरिएको थियो ।
नेपाल नेत्र ज्योति सङ्घको सहयोगमा चन्दननाथ आँखा अस्पताल जुम्लाले आयोजना गरेको उक्त शिविरमामा तीन सय २७ जना बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिएको नेपाल नेत्र ज्योति सङ्घ जुम्लाका सभापति जगदीश चौलागाईले जानकारी दिए ।
शिविर सञ्चालनको लागि नेपाल नेत्र ज्योति सङ्घ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश सुर्खेत र रिड्ले आइ फाउण्डेशन नेपाल काठमाडौंले आर्थिक सहयोग गरेको थियो ।
हिमालय आँखा अस्पताल पोखरादेखि आँखा विशेषज्ञ चिकित्सकको टोली जुम्ला पुगेको थियो । अधिकांश आँखाका बिरामीहरूले आर्थिक अभावका कारण उपचार गराउन पाएका थिएनन् । उनीहरूका लागि यो निःशुल्क शिविरले निकै राहत भएको चन्दननाथ आँखा अस्पताल जुम्लाका प्रमुख कालीबहादुर रावतले बताए । शिविरमा तिला, तातोपानी, गुठिचौर, पातारासी र चन्दननाथ नगरपालिकाका बिरामीहरूले सेवा पाएका छन् ।
आँखा रोग विशेषज्ञहरूका अनुसार अस्पतालमा आँखाको जाँच गर्न आएका बिरामी मध्ये १० प्रतिशतमा मोतीबिन्दु देखिने गरेको छ । गत वर्ष ५ हजार ८ सय जना आँखाका बिरामीहरूले उपचार सेवा लिएको प्रमुख रावतको भनाइ छ । हिमालय आँखा अस्पताल पोखराबाट आँखा रोग विशेषज्ञ डा। आशिष जम्मकटेल नेतृत्वमा १२ जनाको टोली जुम्ला पुगेको हो ।
त्यस्तै हिमा गाउँपालिकामा पनि १५ देखि सुरु भई १७ असोजसम्म आँखा शिविर सञ्चालन हुने अध्यक्ष लक्ष्मण शाहीले बताए । जेष्ठ नागरिकको सेवाका लागि पालिकामा निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरिएको उनको भनाई छ ।