२०८१ पुस २४, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशचन्दनाथमा समयमा बजेट विनियोजन नहुँदा स्वास्थ्यलगायत सेवा प्रभावित

चन्दनाथमा समयमा बजेट विनियोजन नहुँदा स्वास्थ्यलगायत सेवा प्रभावित


जुम्ला—चन्दननाथ नगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ बजेट विनियोजन नगर्दा स्वास्थ्य संस्थामा औषधी अभाव देखिएको छ । चन्दननाथ नगरपालिका भित्रका १० वटा वडामा एक वर्थिङ सेन्टरसहित तीन वटा स्वास्थ्य चौकी र एक वटा सहरी स्वास्थ्य केन्द्र र पाँच वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र रहेका छन् ।

यिनै स्वास्थ्य संस्थामा औषधी अभाव देखिएको हो । चालु आर्थिक वर्षको बजेट विनियोजन नहुदा समयमा औषधि खरिद नहुँदा स्वास्थ्य संस्थामा औषधी अभाव देखिएको हो ।

स्वास्थ्य संस्थामा जिंक, आइरन, पारा सिटामोल औषधी अभाव रहेको चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताए । ‘स्वास्थ्य संस्थाबाट औषधीका माग फाराम आएका छन् । तर, औषधी खरिद नभएको हुँदा स्वास्थ्य संस्थामा औषधी पठाउन सकिएको छैन । यसको प्रमुख समस्या समयमा बजेट विनियोजन नभएका कारणले औषधि समय खरिद भएको छैन ।’

बजेट अभावका कारण स्वास्थ्य संस्था सञ्चालन गर्न समस्या भएको छ । साउनदेखि यता ६ जना स्वास्थ्य संस्थामा प्रसुति भएका छन् । उनीहरुलाई यातायात भत्ता तीन हजार, प्रोटोकलअनुसार गर्भ चेकजाँच गरेबापत ८ सय र पोषण भत्ता दुई हजार गरी एक जनालाई पाँच हजार ८ सय रुपैयाँ दिनुपर्ने हो ।

तर, यो रकम पनि सुत्केरी महिलाले प्राप्त गर्न नसकेको जनस्वास्थ्य निरीक्षक महतले बताए । ‘दुई महिनादेखि कर्मचारीले तलव भत्ता पनि पाएका छैनन् । बच्चा र गर्भवती महिलालाई लिटोपिठो वितरण कार्यक्रम छ । नगरपालिकाले बजेट विनियोजन नगर्दा लिटोपिठो ढुवानीमा पनि समस्या भएको छ,’ उनले भने ।

चन्दननाथ नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाईले दुई महिनादेखि विद्यालयको दिवा खाजाको रकम पठाउन नसकिएको जानकारी दिए । ‘विद्यालयमा दैनिक उपभोग हुने दिवा खाजाको माग आएको छ । तर, रकम पठाउन सकिएको छैन । यस्तै विद्यालयमा पठाउने शैक्षिक सामग्री, ह्रवाईड बोड मार्कर पनि पठाउन सकिएको छैन । शिक्षा शाखाको बजेट कति विनियोजन भएको हो । अहिलेसम्म जानकारी छैन,’ उनले भने ।

यस्तै, चन्दननाथ नगरपालिका जुम्लामा महिला तथा बालबालिका शाखा, कृषि शाखा, पशु शाखा, शिक्षा तथा खेलकुद शाखा, स्वास्थ्य शाखा, विपद् व्यवस्थापन शाखा छन् । समयमा बजेट विनियोजन नहुँदा यी सबै शाखाका पहिलो चौमासिक कार्यक्रम प्रभावित भएका छन् । शाखाका कर्मचारीलाई आफ्नो शाखाको कति बजेट छ भन्ने पनि जानकारी छैन । उनीहरु अन्यौलमा परेका छन् ।

चन्दननाथ नगरपालिकाले असार १० गते ५५ करोड १० लाख ८० हजार बजेट ल्याएको हो । समयमै लाएको चालु आर्थिक वर्षको बजेट असोजको पहिलो सातासम्म पनि डल्लो बजेट रहेको कर्मचारीले बताउने गरेका छन् । त्यो डल्लो बजेट अहिलेसम्म विनियोजन भएको छैन । समयमा बजेट विनियोजन नहुँदा कुन कार्यक्रम र कुन शाखालाई कति बजेट भन्ने विषयमा कर्मचारी अन्यौलमा परेका छन् । जसका कारण सेवा प्रवाहमा समस्या देखिएको छ ।

चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले बजेट सबै विनियोजन भएको बताए । ‘केही बजेट मात्रै विनियोजन गर्न बाँकी छ । तर, प्रमुख प्रशासकीय अधिकृत लामो समयदेखि काठमाडौंमा रहेका हुनाले नयाँ आर्थिक वर्षको खाता सञ्चालन भएन,’ उनले भने, ‘खाता सञ्चालन नहुदा समस्या भएको हो । अब असोज ४ गते नयाँ प्रमुख प्रशासकीय अधिकृत आउँदै छन् । सामान्य प्रशासन मन्त्रालयबाट रमाना लिइसक्नु भएको छ, अब हाकिम आउनासाथ नयाँ खाता सञ्चालन हुन्छ । नगरपालिकाका सबै क्रियाकलाप सहज रुपमा सञ्चालनमा आउने छन् ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ