२०८१ पुस २४, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशज्येष्ठ नागरिक संघको भवनमै आयुर्वेद फार्मेसी

ज्येष्ठ नागरिक संघको भवनमै आयुर्वेद फार्मेसी


जुम्ला–जुम्लाको ज्येष्ठ नागरिक संघको भवनमै आयुर्वेद फार्मेसी राखिएको छ । आयुर्वेद अस्पताल सदरमुकाम भन्दा टाढा रहेकाले जेष्ठ नागरिकलाई निःशुल्क सेवा दिन फार्मेसी स्थापना गरिएको हो ।

चन्दननाथ नगरपालिका–७ महतगाउँका रघुवीर महतले आयुर्वेद केन्द्रले दिइएको अभ्यङ्ग (स्नेहन) र स्वेदन (सेक्ने) सेवा लिएका छन् । उनलाई हाडजोर्नी दुख्ने समस्या थियो तर अहिले केही सहज भएको छ । त्यस्तै गुठीचौर गाउँपालिका–२ की जनरूपी बुढाले पनि यो सेवाले फाइदा भएको बताइन् ।

ज्येष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष तीर्थराज भारतीले प्रत्येक महिनाको २१ गते औषधि दिइँदै आएकोमा अहिले फार्मेसी खोलेर नियमित सेवा दिन सकिने बताए । उनले ज्येष्ठ नागरिकलाई सरकारले प्राथमिकता नदिएको गुनासो गरे ।

आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाको सहयोगमा उक्त फार्मेसी स्थापना गरिएको हो । आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका निमित्त प्रमुख नन्दप्रसाद न्यौपानेका अनुसार यसको स्थापना भएर मात्र हुँदैन, त्यसलाई निरन्तरता दिनुपर्छ । उनले भने–‘आगामी दिनमा यसलाई निरन्तरता दिन जिल्लाका सबै स्थानीय तहले सहयोग गर्नुपर्ने हुन्छ ।’

त्यस्तै आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाकी डाक्टर प्रतिमा शर्माका अनुसार जेष्ठ नागरिक संघको भवनमा प्रत्येक महिनाको २१ गते अभ्यङ्ग (स्नेहन) स्वेदन सेक्ने) पूर्वकर्म र त्यसपछि पञ्चकर्म गरिन्छ । उनले भनिन्–‘ज्येष्ठ नागरिकको सेवा गर्नु हाम्रो कर्तव्य हो । उहाँहरूलाई बढी हाडजोर्नीको समस्या हुने गरेकाले यस्तो सेवा दिइएको हो । ज्येष्ठ नागरिकको स्वास्थ्य रक्षाका यस सेवाका लागि सबैको सहयोग आवश्यक छ ।’

सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले यो फार्मेसीले जेष्ठ नागरिकले आयुर्वेदको सेवा लिन सहज भएको बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ