२०८१ पुस २४, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशछत्रेश्वरीमा (ख) वर्गको अपांगता भएका परिवारको निःशुल्क स्वास्थ्य बीमा

छत्रेश्वरीमा (ख) वर्गको अपांगता भएका परिवारको निःशुल्क स्वास्थ्य बीमा


वीरेन्द्रनगर– सल्यानको छत्रेश्वरी गाउँपालिकामा (ख) वर्गको अपांगता भएका व्यक्ति र परिवारका सदस्यहरुको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । चालु आर्थिक वर्षको बजेटमै रकमको व्यवस्था गरेर छत्रेश्वरी गाउँपालिकाले (ख) वर्गका अपांगता भएका व्यक्ति र त्यस्ता व्यक्तिको परिवारका सदस्यहरुले बुझाउनुपर्ने बिमा योगदान रकमको ५० प्रतिशत रकम भुक्तानी गर्ने भएको हो । बाँकी ५० प्रतिशत रकम भने कर्णाली प्रदेश सरकारले नै तिरिदिने छ ।

गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीका अनुसार चालु आर्थिक वर्षको पहिलो बैठकबाट नै (ख) वर्गको अपांगता भएका व्यक्ति र परिवारका सदस्यहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय भएको हो । पालिकाले यसका लागि पाँच लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको उनले बताए । पालिकाले तत्काल आवश्यक कार्यविधि बनाई यो कार्यक्रमलाई कार्यान्वयन गर्ने भएको छ ।

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने सन्दर्भमा महत्वपूर्ण छलफल तथा स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन गर्ने निर्णय भएको छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता फौदबहादुर बस्नेतले जानकारी दिए ।

स्वास्थ्य बीमा नगरेमा स्वास्थ्य सेवा उपभोगको क्रममा लाग्ने सम्पूर्ण खर्च आफैले व्यहोर्नुपर्ने स्वास्थ्य बीमा बोर्डका जिल्ला संयोजक लालबहादुर खड्काले बताए । ‘सल्यान जिल्लामा हाल सम्म स्वास्थ्य बीमाबाट विमित हुनेको संख्या १५ हजार बढी पुगिसकेको छ ।’ उनले भने,‘छत्रेश्वरी गाउँपालिकामा मात्रै एक हजार १७९ जना स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भइसकेका छन् ।’

बीमा गर्दा पुर्ण सहुलियत पाउनेको संख्या ६८२ जना रहेको स्वास्थ्य बिमा बोर्ड सल्यानका दर्ता अधिकारी सन्दीप पुन मगरले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ