२०८१ पुस २५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्ला शिक्षण अस्पतालमा पनि अब डायलाइसिस सेवा

जुम्ला शिक्षण अस्पतालमा पनि अब डायलाइसिस सेवा


जुम्ला—पश्चिम नेपालकै ठूलो (तीन सय शैय्या) अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पनि अब डायलाइसिस सेवा सुचारु भएको छ । कर्णाली प्रदेशसहित सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको प्रतिष्ठानमा डायलासिस सुरु भएको हो ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले औपचारिक रुपमा उद्घाटन गरेपछि डायलाइसिस सेवा सुरु गरिएको हो ।

पछिल्लो समय अस्वस्थ खानपानले मिर्गौला रोगका बिरामी बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले बताए । ‘नागरिकले खानपानमा पनि ध्यान दिने पर्ने बेला भएको छ । अब यो क्षेत्रका मृगौला रोगी विरामीले डायलासिस सेवा पाउने भएका छन्,’ उनले भने, ‘जसका कारणले यहाँका नागरिकलाई सहज हुने भएको छ ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई थप उचाइमा पु¥याउन नयाँ अत्याधुनिक सेवा थप गर्दै गरेको उपकुलपति डा. मंगल रावलले बताए । ‘डायलाइसिस सेवा सुचारु गरेका छौं । यसपछि आँखा उपचार सेवा पनि विस्तार गर्ने तयारी गरिएको छ,’ उनले भने, ‘माथिल्लो कर्णालीमा स्वास्थ्य उपचार बृद्धि गर्नु भनेकै यहाँका नागरिकको आयु वृद्धि गर्नु हो ।’

प्रतिष्ठानका अस्पताल निर्देशक डा. पुजन रोकायाका अनुसार डायलाइसिसको मेसिन जडान गरेर औपचारिक रुपमा सेवा सुचारु भएको छ । ‘जब मिर्गौला रोगीहरुको मिर्गौलाले काम गर्दैन । शरीरका फोहोर चिजहरु फालिरहेको हुँदैन । उति नै बेला मिर्गौलाले गर्ने काम मेसिनले गरिरहेको हुन्छ,’ डा. रोकायाले भने, ‘त्यही सेवा दिने हेतुले सुरु भएको डायलाइसिस सेवाले कर्णालीका मिर्गौला रोगीहरुको लागि निकै राहत प्रदान गर्ने अपेक्षा गरिएको छ ।’

उनले डायलासिस सेवा लिनको लागि मिर्गौला रोगीहरुलाई आह्वान समेत गरेका छन् । ‘मिर्गौलाका बिरामीहरु आउनुहोस् । हामी सेवा दिन तयार भइसकेका छौं,’ उनले थपे ।

डायलासिस सेवा प्रदान गर्न विशिष्टीकृत सेवा पढेको जनशक्ति छैन । तर, कर्णाली प्रतिष्ठानको जनशक्तिको भरपुर प्रयोग गरेर सेवा दिइनेछ । जसका लागि एक नर्सिङ अफिसर र दुई जना स्टाफ नर्सलाई तालिम दिएर खटाइएको छ । उनीहरुले चिकित्सकहरुको निगरानीमा सेवा दिनेछन् ।

यो सेवा अस्पतालले निःशुल्क रुपमा प्रदान गर्ने भएपनि आउजाउ गर्न र डेरा लिएर बस्नुपर्दा मिर्गौलाका रोगका बिरामीहरु निकै महंगोमा सेवा लिइरहन बाध्य थिए । ‘यसअघि सुर्खेत, नेपालगञ्ज र काठमाडौंका सुविधा सम्पन्न अस्पतालसम्म पुगेर मिर्गौला रोगीहरुले डायलाइसिस सेवा लिइरहेका थिए । उनीहरुले अब घरपायक सेवा पाउने भए । यो खुसीको कुरा हो,’ निर्देशक रोकायाले भने ।

सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ६ वटा डायलाइसिस मेसिन दिएको छ । जसमध्ये दुई मेसिन मात्र प्रयोगमा ल्याइएको छ । बिरामीको चापअनुसार थप मेसिनहरु जडान गरेर सञ्चालनमा ल्याइने अस्पतालले जनाएको छ ।

माथिल्लो कर्णालीको जुम्लामा डायलाइसिस सेवाले मिर्गौलाका डायलाइसिस गर्नुपर्ने बिरामीले अब काठमाडौं, सुर्खेत र नेपालगंज धाउनु पर्ने बाध्यता अन्त्य भएको प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले बताए ।

हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले सिटी स्क्यान, एक्सरे, डायलाइसिस, हाडजोर्नी, नसारोग, बालरोग, स्त्रीरोग, नाक, कान, घाँटी र छाला रोग सम्बन्धीको सेवा दिइरहेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ