जुम्ला—जुम्लाको सदरमुकाम खलंगा बजारमा सञ्चालनमा रहेका औषधी पसल र मेडिकल अवैध भेटिएका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको संयोजकत्वको संयुक्त अनुगम टोलीले यस्तो भेटाएको हो ।
प्रशासनले नै अनुगमन गर्दा भेटिएका अवैद्य मेडिकललाई कारवाही गर्न माग गरिएको मानवअधिकार रक्षक सञ्चालका संयोजक राजबहादुर महतले बताए । उनले भने, ‘अवैध रुपमा खुलेका औषधी पसलले बिरामीलाई मनपरी औषधी दिँदा मानवीय स्वास्थ्य नै जोखिममा परेको जनाइएको छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा भइरहेको नकारात्मक कार्यको अनुगमन र ठोस कारबाही नहुँदा जुम्लामा लामो समयदेखि यसरी नै अवैध रुपमा औषधी पसलहरु चलिरेहका छन् ।’ उनले मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधी पसल नै अवैध भेटिनु गैरजिम्मेवार पूर्ण कार्य भएको बताए ।
सोमबार अनुगमनका क्रममा अवैध फेला परेका औषधी पसलहरुमा कर्णाली मेडिकल हल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाता भित्र रहेको विश मेडिकल हल, रावत मेडिकल हल, ओम–मनिष पोलिक्लिनिक तथा रेफर सेन्ट, चन्दननाथ औषधी पसल, बुढथापा स्वास्थ्य क्लिनिक, लक्ष्मी क्लिनिक, रामारोशन दाँत उपचार केन्द्र छन् ।
प्रमुख जिल्ला अधिकारी घिमिरेको अगुवाईमा सोमबार गरिएको अनुगमनका क्रममा जुम्ला बजारमा सञ्चालित ८ वटा औषधी पसल तथा मेडिकल सेन्टर गैरकानुनी रहेको फेला परेको हो । प्रजिअ घिमिरेले अवैध औषधी पसल सञ्चालकलाई एक पटकका लागि सचेत गराइएको बताए ।
‘मेडिकल सूचीकृत नभएको र प्रोपाइटर सूचीकृत नभएको भेटिएको छ । अर्को पटक अनुगमन गर्दा दिएको निर्देशन पालना नभएको भेटिए प्रचलित कानून बमोजिम कारबाही हुन्छ,’ जुम्लाका प्रमुख जिल्ला अधिकारी घिमिरेले भने ।