जुम्ला—चन्दननाथ नगरपालिका–१० बोहरागाउँकी ११ वर्षीया मिर्गौला पीडित सुस्मिता सार्कीलाई बचाउन उनको परिवारले सहयोगको आग्रह गरेका छन् । उनको दुवै मिर्गौलामा गम्भीर समस्या देखिएको छ ।
सुस्मिता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारत छन् । उनलाई थप उपचारका लागि काठमाडौंस्थित कान्ति बाल अस्पतालमा रिफर गरिएको छ । थप उपचारका लागि काठमाडौं लैजान समस्या भएपछि आर्थिक संकलन गर्न अभियान थालिएको छ ।
घरको आर्थिक अवस्था कमजोर भएकोले काठमाडौं लैजान, चेक जाँच गराउन तथा खान बस्न नै समस्या भएकोले आर्थिक संकलन गर्न थालिएको हो ।
मिर्गौला पीडित सुस्मिताको उपचारका लागि समाजसेवी युवा अनुप थापा तथा बोहोरागाउँ निवासी पत्रकार महेश नेपाली र महिला नेतृ जयलक्ष्मी चौलागाईको अगुवाईमा सुस्मिता बचाउ अभियान सञ्चालन गरिने थापाले बताए ।
स्वास्थ्य अवस्था सामान्य भएपनि युरिया बढ्दै गएकोले मिर्गौलामा समस्या बढ्ने खतरा रहेकोले तत्काल नै विशेषज्ञ डाक्टरसँग चेक जाँच गराउनु उचित हुने प्रतिष्ठानका डा. मुन्ना केसरीले बताए । कान्ति बाल अस्पतालमा पुगेर मिर्गौला सम्बन्धी खास समस्याका बारेमा बाल विशेषज्ञसँग बुझेर थप उपचार थाल्नुपर्ने उनको भनाइ छ ।
जतिसक्दो चाडो सुस्मितालाई कान्ति बाल अस्पताल लैजान डाक्टरले सुझाएका छन् । पत्रकार महेश नेपालीले तत्काल काठमाडौं पठाउने खर्चको जोहो गर्न राहत संकलन गरिरहेका छन् । बिहिबार सुस्मितालाई काठमाडौं पठाइनेछ । सुस्मिताका बुबा जनक नेपालीले घरको आर्थिक अवस्था कमजोर रहेकोले छोरीको उपचारमा सहयोग गरिदिन अपिल गरेका छन् ।
काठमाडौंमा रहेको बाल विशेषज्ञसँग यस विषयमा समन्वय गरिने प्रतिष्ठानका उपकलपति डा. मंगल रावलले बताए ।