वीरेन्द्रनगर—दैलेखमा एउटा आधारभूत सहरी अस्पताल ठेक्का भएको पाँच वर्षमा पनि बन्न सकेको छैन् । दैलेखको आठबीस नगरपालिका—९ छेपाडीमा रहेको आधारभूत सहरी स्वास्थ्य ईकाइको भवन पाँच वर्षदेखि अलपत्र परेको हो ।
ठेक्का चार वर्ष आर्थिक वर्ष २०७५/०७६ मा १७ लाख रुपैयाँमा नगरपालिकाले ठेक्कामार्फत भवन निर्माण थालिएको थियो । पाँच वर्षअघि नगरपालिकाले त्यहाँ दुई कोठे स्वास्थ्य इकाई भवन निर्माण गर्ने भन्दै बजेट विनियोजन गरेको थियो ।
ठेक्का नगरौं भनेर नगरपालिकामा आफूहरुले भनेको र नगरपालिकाले जबरजस्ती ठेक्का लगाउँदा भवन अलपत्र परेको तत्कालीन वडाध्यक्ष धनबहादुर सिजापतिले बताए । ‘भवन निर्माणका लाग तीव्रता दिन नगरपालिकालाई आग्रह गरेपनि सुनुवाई नै गरेनन्,’ उनले भने, ‘हामीले कानुनी कारवाही गर्न पनि नमिल्ने, ठेकेदारले हामीलाई नटेर्दा यस्तो अवस्था सिर्जना भएको हो ।’
वडाध्यक्ष सिजापतिका अनुसार पाँच वर्ष अघि काम गरेका कामदारले हालसम्म ज्यालासमेत पाएको छैनन् । बारम्बार भवन निर्माण सम्पन्न गर्न आग्रह गरिएपनि खासै सुनुवाई नभएको हालका वडाध्यक्ष शेरबहादुर सिजापतिले बताए ।