जुम्ला—तातोपानी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । पालिका भित्रका ८ वडाका सवै खोप लगाउने उमेर समूहका बालबालिकालाई खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता गरिएको हो ।
पूर्ण खोप जिल्ला घोषणा भएपनि शून्यदेखि २३ महिनाभित्रका बालबालिका पूर्ण खोप पाए नपाएको सुनिश्चित गर्नका लागि हरेक वर्ष खोप सुनिश्चिता गर्नुपर्ने व्यवस्था रहेको तातोपानी गाउँपालिका स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईले बताए ।
‘खोपबाट धेरै किसिमका रोगबाट बच्ने भएकाले हरेक बालबालिका नछुटाएर खोप लगाउनु पर्ने हुन्छ । खोप नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको छ,’ उनले भने, ‘अहिले बालबालिका खोज र खोप भन्ने नीति रहेको छ । ’
शून्यदेखि १५ वर्षसम्मका २८० मध्ये २७७ जना बालबालिकालाई खोप लगाएको पाइएको र ३ जनालाई खोजेर खोप लगाएको संयोजक चौलागाइले बताए । यस्तै १६ देखि २३ महिनासम्मका १७६ जनालाई पूर्ण खोप लगाएको तातोपानी गाउँपालिका स्वास्थ्य शाखा जुम्लाले जनाएको छ ।
शून्यदेखि १५ देखि २३ महिना खोप लगाउने उमेर समुहका सवै बालबालिकालाई अनिवार्य खोप लगाएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए । ‘सबै बालबालिकालाई पूर्ण खोप लगाएर पूर्ण खोप सुनिश्चिता पालिका घोषणा गरिएको छ’ उनले भने ।
यस्तै, जुम्लाका तातोपानी, सिंजा, तिला, हिमा, कनकासुन्दरी, पातारासी र गुठीचौर गाउँपालिकाले पूर्ण खोप सुनिश्चिता घोषणा भइसकेको जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईले बताए । उनले भने, ‘चन्दननाथ नगरपालिका मात्रै बाँकी रहेको छ । चालु आर्थिक वर्षभित्र नै पूर्ण खोप सुनिश्चता घोषणा गर्नुपर्ने नीति रहेको छ ।’