२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरेर १५ शैय्याको अस्पताल बनाइदैं

जुम्लामा आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरेर १५ शैय्याको अस्पताल बनाइदैं


जुम्ला—जुम्लामा १५ शैय्याको आयुर्वेद अस्पताल बन्ने भएको छ । चन्दननाथ नगरपालिका–१० बोहोरागाउँस्थित आयुर्वेद स्वास्थ्य केन्द्रको स्तरोन्नती गरी १५ शैय्या अस्पताल बन्ने भएको हो । आयुर्वेद स्वास्थ्य केन्द्र कर्णाली प्रदेशअन्तर्गत रहेको छ ।

कर्णाली आयुर्वेद औषधालयको रुपमा स्थापित भएको स्वास्थ्य केन्द्रको स्तरोन्नती गर्नलाई संघीय सरकारले बजेट विनियोजन गरेको चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले बताए । ‘नगरपालिकाको विकट मानिने वडा नम्बर १० स्थित बोहरागाउँमा ठूला सरकारी संरचना नभएको कुरालाई मनन् गरी संघीय सरकारले बजेटमा १५ शैय्याको अस्पताल बनाउन लागेको हो,’ उनले भने, ‘एलोपेथिक पद्धतिबाट छिटो छरितो स्वास्थ्य लाभ लिन सकिने भएपनि कयौं रोगहरुको निदान आयुर्वेदिक पद्धतिबाट भइरहेको छ । यस्तो पद्धतिबाट उपचार हुने अस्पताल नै बन्नु खुसीको कुरा हो ।’

परम्परागत तर भरपर्दो उपचार पद्धति आयुर्वेद उपचार पद्धतिको अस्पताल निर्माण गर्न सहरी विकास तथा भवन निर्माण विभागले आर्थिक वर्ष ०८०÷८१ मा ३ करोड बजेट विनियोजन भएको संघीय सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाका सव इन्जिनियर चन्द्र खड्काले बताए । उनले भने, ‘यो अस्पताल निर्माण गर्न २० करोडको लागत रहेको छ । यो बहुवर्षीय आयोजना हो ।’

दैनिक सयौंले निःशुल्क उपचार पाइरहेको आयुर्वेद केन्द्र स्तरोन्नती भएर अस्पताल हुने भएपछि खुसी लागेको स्वास्थ्य केन्द्रका प्रमुख दन्तप्रसाद न्यौपानेले बताए । ‘जल, जमिन र जंगलको उपयोग गरी स्थानीय स्तरमै औषधि बनाइ उपचार गरिने आयुर्वेद अब अस्पताल हुने भएको छ,’ उनले भने, ‘यो ठूलो उपलब्धि हो । अब जनताले अत्यन्तै सस्तोमा उपचार पाउने छन् ।’

हाल आयुर्वेद स्वास्थ्य केन्द्रले निःशुल्क रुपमा ओपिडी र ल्याब सेवा दिदै आएको छ । निकट भविष्यमै सर्जरी सेवासमेत दिने तयारी गरिरहेको छ । दिसा, पिसाब, रगत, खकार जाँचको सेवासमेत दिदैं आएको स्वास्थ्य केन्द्रमा दुई जना चिकित्सकले दैनिक रुपमा सेवा दिइरहेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ