जुम्ला–तत्कालिन शनिगाउँ गाविस संघीय संरचनापछि सिँजा गाउँपालिका –५ र ६ नम्बर वडामा पर्ने जोडु, भाडगाउँ, फुर्र, काडागाउँ, शनिगाउँ र गोेरालगायत गाउँबस्ती छन् । यिनै दुर्गम गाउँ बस्तीमा पुग्ने कच्ची सडकको ट्रयाक खोलिए पनि सवारी साधन भने नियमित सञ्चालन हुँदैनन् । सडकको स्तरवृद्धि गर्नुपर्ने देखिन्छ ।
यिनै गाउँ बस्तीका अधिकाँश गर्भवती महिला घरमै असुरक्षित सुत्केरी हुने गरेका थिए । ६ नम्बर वडाका तत्कालिन वडाध्यक्ष कालीबहादुर बुढाका अनुसार यो ठाउँमा २०७५ बर्थिङ सेन्टर स्थापना नहुदा अघि यहाँका गर्भवती महिलालाई बोकेर शनिगाउँ, नराकोट, खलंगा लिनु पर्ने अवस्था थियो ।
एक जना गर्भवती महिला बाटोमै सुत्केरी भइन् । नवजात शिशुको मृत्यु भयो । अर्की गर्भवती महिला बर्थिङ सेन्टरमा लैजादा लैजादै बाटोमा बच्चाको हात निस्कियो । नराकोट बर्थिङ सेन्टरमा शल्यक्रिया गर्नु पर्ने अवस्था आयो । बच्चा बचेन उनले भने । यस्ता किसिमका यहाँका महिलाले धेरै दुख्याहा पाएपछि एक्सन वक्र्स नेपालको सहयोगमा २०७५ सालमा सिँजा गाउँपालिका – ६ दाता स्थित मितेरी बर्थिङ सेन्टर स्थापना भएको हो ।
बर्थिङ सेन्टर स्थापनादेखि एक्सन वक्र्स नेपालले एक जना स्वास्थ्यकर्मी (अनमी) राखेर गर्भवती महिलालाई चेकजाँच देखि सुत्केरी गराउदै आएको तत्कालिन वडाध्यक्ष बुढाले बताए ।
बर्थिङ सेन्टरकी अनमी सारादा रोकायाले भनिन् स्थापना भएदेखि ०८० बैशाख मसान्तसम्म ८५ जना गर्भवती महिला सुत्केरी भएको बताइन् । उनले भनिन् यहाँबाट दुई जना गर्भवती महिलालाई मात्रै रेफर गरिएको हो । गर्भ चेकजाँच गर्न नमान्ने, स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुनु पर्छ भन्ने जानकारी नै नआएका महिलाहरु पछिल्लो समय सचेतीकरण भएर नियमित चेकजाँच र प्रसुति गर्न स्वास्थ्य संस्थामा आउने गरेका छन् ।
अहिलेसम्म नियमित सञ्चालनमा आएको बर्थिङ सेन्टर गाउँपालिकालाई हस्तान्तरण पछि बन्द नहोस र यहाँका गर्भवती महिलाले सेवा पाईराखुन उनले सुझाइन् ।
सिँजा गाउँपालिका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले दुर्गम ठाउँमा बर्थिङ सेन्टरले सेवा प्रवाह गर्दा आमा सुरक्षा सूचक बृद्धि भएको बताए । उनले भने अहिले पनि कतिपय गर्भवती महिला घरमै असुरक्षित सुत्केरी हुने गरेका छन् । विशेष गरी यो वडा भित्र पर्ने काँडागाउँका गर्भवती महिला शनिगाउँ र दाता बर्थिङ सेन्टरमा प्रसुति हुन आउने गरेका छैनन् । सुरक्षित प्रसूतिका लागि स्वास्थ्य संस्थामै सुत्केरी हुन सुझाए पनि भूतप्रेत लाग्छ भन्ने परम्परागत कुसँस्कारको भ्रममा पर्ने गरेका छन् ।
आवश्यकता ठानेर स्थापना गरेको बर्थिङ सेन्टर पाँच वर्षपछि सिँजा गाउँपालिकालाई हस्तान्तरण गरेको एक्सन वक्र्स नेपालकी अध्यक्ष सम्झना पौडेलले बताइन् । उनले भनिन् स्थानीय स्तरबाटै माग भएपछि सरोकारवाला निकायको समन्वयमा स्थापना भएको हो । जेठ ३ गतेदेखि यस बर्थिङ सेन्टरको व्यवस्थापन, संरक्षण सवै गाउँपालिकाले गर्ने गरी हस्तान्तरण गरेका छौँ ।
वडाध्यक्ष तथा सामाजिक समितिका संयोजक तीर्थ वडाले भने दुर्गम क्षेत्रमा गर्भवती महिलाको सेवाका लागि एक्सन वर्कर्स नेपालले बर्थिङ सेन्टर स्थापना गर्नु सबल पक्ष भएको बताए । ‘राज्यको परिपूरणका रुपमा काम गर्ने सहयोगी संस्थाप्रति कृतज्ञ नै छौँ ।’ उनले भने ‘ पाँच वर्षसम्म पूर्ण व्यवस्थासहित बर्थिङ सेन्टरले गर्भवती महिलालाई सेवा दिदै आएको छ । हस्तान्तरपछि पनि यो बर्थिङ सेन्टर नियमित रुपमा सञ्चालन हुने छ । पालीकादेखि संरक्षणदेखि व्यवस्थापन गरी यहाँका गर्भवती महिलाको सेवा गर्ने छ ।’
एक्सन वर्कर्स नेपालले बर्थिङ सेन्टर संचालनका लागि भौतिक संरचना निर्माण, प्रसुति स्वास्थ्य सामग्री, सोलार प्रणाली र एक जना स्वास्थ्यकर्मी अनमी समेत पाँच वर्षदेखि व्यवस्थापन गर्दै आएको थियो । वडा नम्बर ६ का वडाध्यक्ष लालबहादुर बुढाका अनुसार हस्तान्तरणपछि सवै जिम्मेवारी पालिकाको काँघमा आए छ । यसको व्यवस्थापन देखि संरक्षणको गाउँपालिका देखि समुदायको भुमिका रहने छ ।