जुम्ला—स्वास्थ्य क्षेत्रको पश्चिम नेपालकै भरोसा केन्द्रको रुपमा हेरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला बजेट अभावका कारण समस्यामा परेको छ । जसका कारण निर्माण गर्नुपर्ने भौतिक संरचना अधुरो अवस्थामा अलपत्र छन् ।
विविध समस्या समाधान गर्नका लागि जुम्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने जुम्लाका सांसदको उपस्थितिमा प्रतिष्ठानले अन्तरक्रिया कार्यक्रम गरेको छ । अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाही, कान्तिका सेजुवाल र वृन्दा कठायतले प्रतिष्ठानको आर्थिक भौतिक विकासका लागि आवश्यक पहल गर्ने साझा प्रतिवद्धता जनाएका छन् ।
सांसद ज्ञानेन्द्र शाहीले सुगमको सुविधा त्यागेर दुर्गमका आएर सेवा गर्ने चिकित्सकको प्रशंशा गर्दै प्रतिष्ठान स्तरवृद्धि गर्न, विशेषज्ञ डाक्टर ल्याउन, प्रतिष्ठान लक्षित विद्युत, सडक, यातायात र संचारको विकासमा जोड दिइने बताए ।
आगामी बजेटमा कर्णाली प्रतिष्ठानसहित जुम्लाका अत्यावश्यक योजना बजेटमा समावेस हुने गरी पहल भइरहेको उनको भनाइ छ । बजेट अभावले निर्माण भइरहेका भवन अधुरा नरहने समेत उनले प्रतिबद्धता गरे ।
सांसद कान्तिका सेजुवालले प्रतिष्ठानलाई स्वास्थ्य शिक्षाको हबका रुपमा विकास गर्न केन्द्रीय सरकारको ध्यानाकर्षण गराउने बताइन् । केन्द्र सरकारले कर्णालीको विकासमा विगतमा कन्जुस्याइ गरेपनि आगामी वर्षको बजेट अपेक्षाअनुसार बजेट आउने आश्वासन दिइन् ।
सांसद वृन्दा कठायतले कर्णाली प्रतिष्ठान, कर्णाली राजमार्ग, नाग्मगमडी सडक र विमानस्थल स्तरवृद्धि नगरी समृद्ध जुम्ला नबन्ने कुरामा जुम्ली सांसद एकजुट भएको बताइन् ।
जुम्लाबाट संघ प्रतिनिधित्व गर्ने तीन जना सांसदको प्रतिष्ठानलगायत जुम्लाको विकासमा एकमत रहेको र आगामी बजेटमा प्रतिष्ठानलाई बजेटमा प्रथामिकता दिन पहल गर्नेसमेत बाचा गरेका छन् ।
प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले पूर्वाधार अभावका बीच दुर्गम कर्णालीका जिल्लामा विशेषज्ञ सेवा दिइरहेको बताए । उनले भने, ‘प्रतिष्ठानको विकासमा केन्द्र सरकारको अर्जुन दृष्टि नपर्दा प्रतिष्ठानले अपेक्षित फड्को मार्न सकेको छैन ।’
‘कुनै समय लाशको पोष्टमार्टम गर्न डाक्टर कुर्ने कर्णाली अहिले राज्यलाई विशेषज्ञ डाक्टर पठाउने हैसियमा छ । जुम्लामै डाक्टर उत्पादन भइरहेका छन्,’ उपकुलपति डा. रावलले थपे, ‘तर, बजेट अभावले पूर्वाधार पर्याप्त छैनन् । भाडाका घरमा चिकित्सक बस्न बाध्य छन् । संचार, विजुली, यातायातको सुविधा छैन् तापनि प्रतिष्ठान सेवा अटुट छ । अनुसन्धान गर्दैछ ।’ उनले प्रतिष्ठानको औचित्यलाई बुझ्दै संघीय सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए ।
कर्णाली प्रदेश सरकारले प्रतिष्ठानबाट सेवा लिने तर बजेट नदिने गरेको उपकुलपति रावलले टिप्पणी गरे । उनले भने, ‘कोभिड संक्रमणको बेला प्रदेश राजधानी सुर्खेतकै नागरिकले प्रदेश अस्पतालमा बेड नपाएर जुम्ला पुगे । सेवा पनि दियौं, निको भएर सुर्खेत फर्के । तर, प्रदेश सरकार भने सघीय सरकारअन्र्तगतको अस्पताल भनेर बजेट नियोजन गर्न कन्जुस्याई गरिरहेको छ ।’
प्रतिष्ठानको ३०० शैय्याको अस्पताल, ल्याब, पुस्तकालय, होस्टेल, कर्मचारी प्रशासन छ । दैलेखको राकममा ट्रमा सेन्टरसहितको सय बेडको अस्पताल निर्माणको डिपिआर तयार हुँदैछ । १४ वटा घर भाडामा लिएर प्रतिष्ठान सञ्चालन भइराखेको छ । जुम्लाको चेरे चौरमा शैक्षिक भवन, कलेज, होस्टेल, स्टाफ क्वार्टर, प्रशासनिक भवन, आवासीय भवन, स्पोर्ट अडिटोरियमलगायतका पूर्वाधार निर्माणका निम्ति झण्डै साढे ६ अर्ब बजेट आवश्यक पर्ने देखिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनापछि दुर्गमका बिरामीले विशेषज्ञ सेवा पाइरहेका छन् । सुर्खेत, नेपालगञ्ज र राजधानीका ठूला अस्पतालले दिने विशेषज्ञ सेवा जुम्लामै पाउने हुँदा नागरिकलाई ठूलो राहत मिलेको छ ।
प्रतिष्ठानले कालिकोट जिल्ला अस्पताल, रास्कोट र तिलागुफा नगर अस्पतालमा डाक्टर खटाइरहेको छ । दैलेखको राकममा स्थापना हुन लागेको ट्रमा सेन्टरका लागि जनशक्ति खटाइएको छ । मुगु र हुम्ला अस्पतालमा एक/एक जना एमजीडीपी खटाएर सेवा दिँदै आएको छ । सुदूरपश्चिम प्रदेशमा पर्ने दुर्गम जिल्ला बाजुराको कोल्टी अस्पतालमा पनि स्त्री रोग विशेषज्ञ र नर्स खटाइएको छ । विकटको स्वास्थ्य सेवाको भाष्य बदलेको प्रतिष्ठान यति बेला स्नातक तह र स्नातकोत्तर तहका जनशक्ति उत्पादनमा लागेको छ । प्रतिष्ठानले हाल एमडी, एमएस, एमबीबीएस, बीएनएस, बीएमएस, बीपीएच र बी फर्मालगायतका चिकित्सा शिक्षाका कार्यक्रमहरु चलाइरहेको छ ।
स्वास्थ्य सेवा र जनशक्ति उत्पादनमा लागेको प्रतिष्ठानप्रति सरकार अनुदार रहेको देखिन्छ । प्रतिष्ठानको लक्ष्य विकट बस्तीमा उपचार गराउने, त्यहीँबाट जनशक्ति उत्पादन गर्ने र अध्ययन अनुसन्धान गर्ने वातावरण तयार पार्नु रहेको थियो । विकटका सबैजसो अस्पतालमा प्रतिष्ठानले विशेषज्ञ डाक्टरसहित अन्य उपकरण सहयोग गरिरहेको छ ।