२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमुख्यमन्त्री शाहद्वारा प्रादेशिक आयुर्वेद चिकित्सालयको उद्घाटन

मुख्यमन्त्री शाहद्वारा प्रादेशिक आयुर्वेद चिकित्सालयको उद्घाटन


धनगढी – कैलालीको धनगढी उप महानगरपालिका वडा नम्बर १३ मा सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय सञ्चालनमा आएको छ । आयुर्वेदिक पद्धतिबाट सरल उपचार सेवा दिने उद्देश्यले केही महिनाअघिबाट सेवा सुरु गरेको चिकित्सालयको बुधबार बिधिवत उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गरेका छन् ।

आयुर्वेदिक विधिको उपचार सेवालाई बिस्तार गर्ने योजनाका साथ सातै प्रदेशमा आयुर्वेद चिकित्सालय सञ्चालनका लागी संघ सरकारले बजेट विनियोजन गरेको थियो । प्रादेशिक आयुर्वेद अस्पताल प्रदेश सरकार मातहत राखिएको छ ।

चिकित्सालयको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकारको ठुलो सम्पत्तिका रूपमा रहेको आयुर्वेद चिकित्सालयलाई प्रवर्द्धन गर्ने दायित्व प्रदेश सरकारकै रहने बताएका छन् । यसको संरक्षण सँगै थप सेवाका लागी प्रदेश सरकार आवश्यक पहल थाल्ने मुख्यमन्त्री शाहको भनाई थियो ।

चिकित्सालयमा बिरामीलाई निःशुल्क उपचार र औषधि वितरण गर्ने गरिएको छ । प्रदेश सरकारबाट ५० शय्याको स्वीकृति पाएको प्रादेशिक आयुर्वेदिक चिकित्सालयमा नयाँ वर्षबाट अन्तरङ्ग सेवा सुरु गर्ने योजना छ । चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष नरेश बिष्टका अनुसार अहिले बहिरङ्ग, प्रयोगशाला र पञ्चकर्म–पूर्व कर्म, होमियोपेथी उपचार सेवा दिइरहेको छ ।

प्रादेशिक आयुर्वेद चिकित्सालयबाट बाथ रोग, नसा च्यापिएको, हड्डी खिइएको, पक्षघात र छाला सम्बन्धी समस्या भएका बिरामीको उपचार हुने गरेको उनले बताए । निकट भविष्यमै फिजियोथेरापी, अकुपञ्चर र योग सेवा सञ्चालन हुने बताइएको छ ।

चिकित्सालयले स्वास्थ्य शिविर सञ्चालन गरेसँगै बिरामी आउने क्रम पनि बढेको जनाएको छ । दैनिक १ सय ५० भन्दा बढी बिरामीले चिकित्सालयबाट सेवा लिइरहेका छन् । आयुर्वेदिक चिकित्सालय सञ्चालन भएसँगै सहज किसिमको उपचार सेवा पाउने स्थानीयको अपेक्षा छ । पञ्चकर्म–पूर्व कर्म विधिबाट समेत उपचार सुरु भएपछि बिरामीको रोजाइमा आयुर्वेद पद्धति पर्ने विश्वास लिइएको छ । अब यसै क्षेत्रमा आयुर्वेद प्रशोधन केन्द्रको समेत स्थापना गरी स्वास्थ्य सँगै आर्थिक विकासमा पनि लाग्नुपर्नेमा आम नागरिकको माग छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरमा रहेको आयुर्वेद चिकित्सालयले असोज ११ गते नयाँ भवनबाट सेवा सुरु गरेको थियो । गत कात्तिक २६ गतेबाट पहिलो पटक पञ्चकर्म–पूर्व कर्म विधिबाट उपचार सेवा सुरु गरेको चिकित्सालयमा हाल दैनिक १सय ८० बढी बिरामी आउन थालेका छन् ।चिकित्सालयले बिस्तारै सेवा थप्ने र आम नागरिकलाई आयुर्वेदिक उपचार तर्फ आकर्षण बढाउने जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ