वीरेन्द्रनगर—जिल्ला अस्पताल दैलेखमा औषधि अभाव भएको छ । जिल्ला अस्पतालमा सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव भएको हो । यससँगै जिल्ला अस्पताल उपचारका लागि पुग्ने बिरामीहरुले निःशुल्क पाउने औषधि पाउनबाट बञ्चित भएका छन् ।
सरकारले वितरण गर्ने निःशुल्क औषधि अभाव भएपछि बिरामीहरु निजी मेडिकलबाट चर्को मूल्य तिरेर किन्न बाध्य भएका छन् । जिल्लाबाट समयमै औषधि माग हुँदासमेत प्रदेश र केन्द्रबाट औषधि पठाउन बेवास्ता गरेका कारण औषधि अभाव भएको अस्पतालले जनाएको छ ।
दैलेख जिल्ला अस्पतालमा प्रेसर, एलर्जीलगायत सामान्य औषधि लिन जाँदासमेत उता यता जानु भनेर अन्तिममा औषधि नदिएर स्वास्थ्यकर्मीले पठाएको दुःखेसो जेष्ठ नागरिक इन्द्रिरा थापाले गरिन् ।
‘जिल्ला अस्पतालमा सरकारले वितरण गर्ने औषधि समेत पाइन्,’ उनले भनिन्, ‘कर्मचारीहरुले औषधि लिन यताउता घुमाएर नदिई पठाए ।’
जिल्ला अस्पतालमा केही औषधिहरुको मात्रै अभाव भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. धर्मराज रेग्मीले बताए ।