वीरेन्द्रनगर—कर्णालीका हिमाली तथा पहाडी जिल्लामा ब्लड बैंक नहुँदा तत्काल रगतको आवश्यक परे दाताको भर पर्नुपर्ने बाध्यता रहेको छ । बिरामीलाई रगत चाहिए स्वास्थ्यकर्मी, सेना, प्रहरी र दाता सहयोग माग्नुपर्ने अवस्था छ ।
अस्पतालमा ब्लड बैंकको व्यवस्था नहुँदा लामो समयदेखि बिरामी र उनीहरुका आफन्तले सास्ती भोग्नुपरेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए । ‘बिरामीलाई रगत चाहिएमा हामीले स्वास्थ्यकर्मी, कर्मचारी, सेना, प्रहरी र दाताको भरपर्नुबाहेक अन्य विकल्प छैन्,’ उनले भने, ‘हामी प्रायः रगत आवश्यक परेमा सेना, प्रहरी र सशस्त्र प्रहरी बलबाट रगत माग गर्ने गरेका छौं ।’
सुत्केरी तथा गम्भीर दुर्घटनाका बिरामीलाई तत्काल रगतको आवश्यक पर्ने भएकाले सेना, प्रहरी गुहार्नुबाहेक अरु विकल्प नभएको सिंहले जानकारी दिए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ब्लड बैंक नहुँदा बिरामीलाई सकस हुने गरेको छ । अस्पतालमा सानो आकारको ब्लड बैंक भएपनि ठूलो मात्रामा रगत राख्ने ठाउँ नभएकोले रगतको आवश्यकता पर्दा सेना, प्रहरी र दाताको भर पनुपर्ने अवस्थाको रहेको छ ।
प्रतिष्ठानका अस्ताल निर्देशक डा. राजीव शाहले प्रतिष्ठानमा ब्लड बैंक आवश्यक रहेको बताए । ‘अहिले हाम्रा लागि ब्लड बैंकको एकदमै आवश्यकता छ,’ उनले भने, ‘अहिले कामचलाउ आकारको मात्रै भएकाले सुविधासम्पन्न बैंक आवश्यक छ ।
कालीकोटमा ब्लड बैंक नहुँदा रगतका लागि स्वास्थ्यकर्मी, सेना प्रहरीकै भर पर्नु बाध्यता रहेको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका सूचना अधिकारी कटकबहादुर महतले जानकारी दिए । ‘बिरामीको रगतको आवश्यकता हुँदा मैले पनि धेरै चोटी रगत दिएको छु,’ उनले भने, ‘रगतको आवश्यकता पर्दा सेना, प्रहरी र दाता नै खोज्नुपर्ने आवश्यकता रहेको छ ।’
कर्णालीमा हिमाली तथा पहाडी जिल्लामा ब्लड बैंक नहुँदा रगतकै अभावमा कयौंको ज्यान जाने गरेको स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन् ।
सुत्केरी तथा आकस्मिक दुर्घटनामा परेका बिरामीलाई ब्लड आवश्यक परेका बेला नपाइने गरेका कारणले कयौं सुत्केरी महिला र घाइतेले रगत अभावकै कारणले ज्यान जाने गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी महतले जानकारी दिए ।