२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा बढ्न थाले मधुमेहका बिरामी

जुम्लामा बढ्न थाले मधुमेहका बिरामी


जुम्ला – पछिल्लो समय अस्वस्थ खानपानले जुम्लामा मधुमेहका रोगीका विरामी बढ्न थालेका छन् । मधुमेय रोगीको जिवन कसरी चलेको हुन्छ ? सुगर, डाइभिटिज, मधुमेह र चिनीरोग सबैलाई एउटै नामले चिनिन्छ । यसलाई सामान्य भाषामा बुझ्दा शरीरमा चिनीको मात्रा धेरै देखिनु हो । तर, चिनीको मात्रा बढी देखिनु भनेको शरीरमा चिनीको मात्रा बढी भएको होइन कि हाम्रो शरीरमा इन्सुलिनको मात्रा कमी भएको हो ।

जनस्वाथ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले सहरिया खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेह फैलिएको बताए । ‘मधुमेह अहिले संसारभरि महामारीका रूपमा फैलिइरहेको छ । यसलाई नियन्त्रणमा नराखे दीर्घकालीन रूपमा गम्भीर जटिलता ल्याउन सक्छ,’ उनले भने ।

‘मधुमेहको हेरचाहमा सबैको पहुँच, अहिले नभए कहिले’ भन्ने मूलनाराका विश्व मधुमेह दिवसको अवसरमा आइतबार जनस्वास्थ्य सेवा कार्यालयले जुम्ला बजारमा एक सय ८८ जनाको मधुमेह परीक्षण गरेको थियो । जसमध्ये २६ जनामा मधुमेह भेटिएकोमा सातजनाले परीक्षण गरेर औषधि खाँदै गरेको र १९ जनाले कुनै थाहा नभएको जनाएका थिए ।

‘यो एकदिने तथ्यांकले जुम्लामा मधुमेहका रोगी बढ्दो क्रममा छन् भन्ने देखाउँछ । मधुमेह नियन्त्रण गर्न जरुरी छ,’ उनले थपे, ‘समयमै परीक्षणको दायरामा नआएमा यसले जटिल अवस्था निम्त्याउन सक्छ ।’

ग्रामीण क्षेत्रका बासिन्दाको परिश्रम घटेको र खानपान सहरको जस्तै हुन थालेकाले मधुमेह देखिन थालेको चिकित्सकहरूको भनाइ छ । दैनिक खाजा र खानामा सहरिया चाउचाउ, बिस्कुट, पास्ता, तयारी पेय पदार्थको प्रयोग बढी हुने गरेको छ । यससँगै मासु र मदिराको प्रयोग पनि बढेको छ ।

ग्रामीण क्षेत्रमा सहरको रहनसहन भित्रिएसँगै मधुमेहको समस्या पनि बढ्न थालेको चिकित्सकहरू बताउँछन् । खानपानमा परिवर्तन, माछामासु, मदिराजस्ता वस्तुको उपभोग बढेकाले गाउँमा बस्नेहरूमा समस्या देखिएको सापकोटाले बताए ।

‘गाउँमा पनि क्रयशक्ति बढ्यो, सहरको जस्तै खानपिन भयो, यसले समस्या बढाएको छ,’ उनले भने, ‘जो गाउँमा बस्नुहुन्छ, सबैले पनि खानपानमा ध्यान दिनुप¥यो, नियमित स्वास्थ्य परीक्षण गर्नुप¥यो ।’

जुम्लामा ४० वर्षदेखि माथि उमेर समूहमा बढी मधुमेहको समस्या देखिएको छ । घरमा कसैलाई मधुमेह भएमा २० वर्षको उमेरदेखि नै परीक्षण गरिरहनुपर्ने सापकोटाको सुझाव छ । मोटोपना, उच्च रक्तचाप र वंशाणुगत समस्या भएमा २० वर्षभन्दा कम उमेरकाले पनि परीक्षण गराइरहनुपर्ने उनले बताए ।

‘खाली पेटमा रगत परीक्षण गर्दा १२६ मिलीग्राम परडेसिलिटरभन्दा बढी र खाना खाएपछि २०० भन्दा बढी भएमा हामीले मधुमेह (डाइबिटिज) भन्दछौँ,’ सापकोटाले भने । मधुमेह भएपछि खानपान, व्यायाम र औषधिको सहायताले सुगर (चिनी)लाई निश्चित विन्दुमा नियन्त्रणमा राख्न आवश्यक रहेको उनको भनाइ छ ।

मधुमेह लाग्नै नदिन पनि सतर्कता अपनाउन सकिने जनाउँदै उनी भन्छन्, ‘मुख्य कारण मोटोपन र विलासी जीवनशैली नै हो । यसलाई नियन्त्रणमा राख्नुपर्छ । अहिले धेरै मानिस लामो समय कुर्चीमा बसेर काम गर्ने, शारीरिक कसरत गर्दैनन् । यसले गर्दा शरीरको ग्लुकोज पचाउने प्रणाली र इन्सुलिनले राम्रोसँग काम गर्न सक्दैन, यसले मधुमेह बनाउँछ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ