जुम्ला – हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर ६ की एक जना महिलाको समयमै उद्धार हुन नसक्दा पेटभित्रै बच्चाको मृत्यु भएको छ। २७ वर्षीया जगतमाया रोकायालाई असार १ गतेबाट प्रशव व्यथा लागेको भएपनि प्रतिकुल मौसमका कारण उद्धार हुन नसक्दा २ असारमा बच्चाको गर्भमै मृत्यु भएको हो।
उक्त महिलाको भने आइतबार हेलिकोप्टरबाट उद्धार भएको हो ।
उद्धारको लागि हेलिकोप्टर तयारी अवस्थामा रहेको हुँदा पनि खराब मौसमका कारण उडान हुन नसक्दा थप समस्या निम्तीएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले बताए । उनका अनुसार बच्चाको पेटभित्र मृत्यु हुँदा आमाको ज्यानलाई थप जोखिम बढेकाले आइतबार मौसम सामान्य सुधार भएपछि उद्धार गरेर सुर्खेत लगिएको हो ।
सुत्केरी व्यथा लागेकी गर्भवतीको छैटौं दिनसम्म पनि उद्धार हुन सकेको थिएन । अस्पतालको सिफारिसबाट राष्ट्रपति महिला उत्थान कार्यक्रमसँग समन्वय गरेर हेलिकप्टरको व्यवस्था भएपछि आइतबार अपरान्न उद्धार भएको हो ।
अस्पतालको प्रसूतिगृहमा उपचार गर्दा रगत जम्ने, गर्भवतीको पाठेघरमा पानीको मात्रा नहुँदा त्यसको अप्रेसन जिल्लामा गर्न नसकिने भएपछि जिल्लाबाहिर रिफर गरिएको प्रमुख जिल्ला अधिकारी आर्चायले बताए ।