जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर १ राँकागाउँमा रुघाखोकी लागेका २५ जनालाई कोभिड-१९ परीक्षण गर्दा २३ जनालाई संक्रमण पुष्टि भएको छ ।
मंगलबार जनस्वास्थ्य कार्यालय जुम्ला र तातोपानी गाउँपालिकाको समन्वयमा एन्टीजेन परीक्षण गर्दा २३ जनामा कोभिड-१९ पुष्टि भएको हो ।
संक्रमित पुष्टि भएका सबैजनालाई राँका गाउँकै विद्यालयमा आइसोलेसन बनाएर राख्ने तयारी गरिएको छ ।
यसअघि सोही गाउँपालिका – ६ रावतवाडा गाउँ १३६ जनालाई कोरोना परीक्षण गर्दा २१ जनालाई कोरोना पुष्टि भएको थियो । उनीहरुलाई लाम्रा विद्यालयको आइसोलेसन र कोभिड अस्थायी अस्पतालमा राखिएको तातोापनी गाउँपालिका स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईले बताए ।
उनले भने, ‘२४ जना संक्रमति होमआइसोलेसनमा बसेका छन् । अहिले तातोपानी गाउँपालिकामा सक्रिय संक्रमित ७० जना छन् ।’
गाउँमा लापरबाहीले संक्रमण बढ्यो
यहाँका ग्रामीण क्षेत्रमा कोभिड संक्रमण फैलन नदिन पालना गर्नुपर्ने कुनै पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेको भेटिँदैन । घरबाहिर निस्कदा मास्कको प्रयोग हुँदैन । घरमा आउँदा नियमित साबुनपानीले हात धुने गरेको भेटिँदैन । खेतिकिसानीको काम गर्दा सामाजिक तथा व्यक्तिगत दूरी कायम गरिएको हुँदैन ।
जताततै भिडभाड र लापारबाही बढिरहेको छ । स्थानीय सन्देशकुमार खत्री गाउँमा चरम लापरबाही बढेको बताउँछन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । गाउँमा न निषेधाज्ञाको पालना गरिएको छ, न त निषेधाज्ञा बारेमा जानकारी नै । उनले भने, ‘गाउँगाउँमा विकासे काम भइरहेका छन् ।
एक गाउँदेखि अर्को गाउँमा गएर खेतिकिसानीको काम भइरहेका छन् । गाउँमा जमघट हुने, भिडभाड गर्नेदेखि मन्दिरमा देवताको पूजा गर्ने र सामूहिक रूपमा छलफल भइरहेका छन् ।’
जनस्वास्थ्य सेवा कार्यालय जुम्लादेखि एन्टिजेन र पिसिआर परीक्षण गर्न जाँदा कोरोना जचाउँन मान्दैनन् । कतिपय युवाहरू गाउँमा कोरोना जाँच गर्छन् भनेर जडिबुटी खोज्न जंगलतिर जाने गरेको स्थानीय बताउँछन् ।
‘गाउँमा रोपाइँ चलेको छ । चोपाइ भइरहेको छ । गोडमेल भइरहेको छ । सरकारी विकास भइरहेको छ । न निषेधाज्ञा पालना गरिएको छ, नत स्वास्थ्य सुरक्षाको मापदण्डको पालना नै,’ सन्देशले भने, ‘गाउँमा केवल लापरबाही बढिरहेको छ । कोरोनाको उच्च जोखिममा गाउँ नै छ ।’
स्थानीयले गाउँका जनप्रतिनिधिलाई टेर्दैनन् । स्थानीय सरकारले सचेत गरेको बेला वास्ता गर्दैनन् । प्रहरी नपुग्दासम्म ग्रामीण क्षेत्रका बजार पनि खुलै हुन्छन् । प्रहरी पुगेर बन्द गर्न सिठी बजाएपछि मात्र बजार बन्द हुन्छन् । ग्रामीण बजारमा स्वास्थ्य सुरक्षाको कुनै पनि पालना हुँदैन ।
सदरमुकाम खलंगा आसपासमा भने निकै कडा छ । स्थानीयले प्रशासनले तोकेको समयमा बाहेक अरू बेला बजार खुल्न पाउँदैनन् । स्वास्थ्यकर्मी र कर्मचारीबाहेक अन्यले आवतजावत गर्न पाउँदैनन् । चोकचौकमा प्रहरी परिचालन गरिएको छ ।’