सुर्खेत—नेपाल स्वाथ्यकर्मी संघ सुर्खेतका संस्थापक अध्यक्ष एवं देउती अस्पतालका संचालक अग्रज स्वास्थ्यकर्मी खगेन्द्र थापाको निधन भएको छ । शनिबार बिहान ८ बजे आफ्नै देउती अस्पताल सुर्खेतमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
लामो समयदेखि सुगर र प्रेसरबाट ग्रसित थापाले दुई बर्ष अगाडि एउटा मृगौला समेत फेरका थिए । उनलाई लामो समयदेखि स्वास्थ्यमा समस्या थियो ।
केहि समय भारतमा उपचार गरेर फर्किएका उनी एक्कासी अचेत भएपछि करिब १५ दिनअघि हेलिकप्टरबाट काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यहाँ पनि निको हुन नसकेपछि बिहिबार उनलाई सुर्खेत ल्याएर देउती अस्पतालमा राखिएको थियो । उपचारकै क्रममा उनको बिहान निधन भएको देउती अस्पतालमा कार्यरत एचए प्रतिमा शर्माले जानकारी दिइन् ।
सरकारी सेवाबाट केही महिना अघि मात्र सेवा निवृत्त भएका थापा सुर्खेतका पूराना स्वास्थ्यकर्मी तथा औषधि व्यवसायीका रुपमा चिनिन्छन् ।
थापा मेडिकल हलबाट सेवा सुरु गरेका थापाले आफ्नै लगानी र पहलमा देउती अस्पताल स्थापना गरेका हुन् । देउती अस्पतालका अध्यक्षसमेत रहेका थापाको निधनले सुर्खेतमात्र नभई सिंगो कर्णालीलाई नै अपूरणीय क्षति भएको छ ।