२०८१ माघ १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसंक्रमण फैलिन नदिन नागरिक नै सचेत हुन आवश्यक : मुख्यमन्त्री शाही

संक्रमण फैलिन नदिन नागरिक नै सचेत हुन आवश्यक : मुख्यमन्त्री शाही


सुर्खेत –   कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कोरोना भाइरस (कोभिड­ १९) को संक्रमण फैलिन नदिन हरेक नागरिकले आफू सुरक्षित रहने विधिको पालना गर्नुपर्ने बताएका छन् । प्रदेश स्थापना तथा शहिद दिवसको अवसरमा बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले संक्रमण फैलिन नदिन हरेक नागरिक इमान्दार र सचेत बन्नुपर्ने बताएका हुन ।

दोस्रो चरणको संक्रमण फैलिन नदिन कर्णाली प्रवेश गर्ने नाकाहरुमा कडाइ गरिएको उनको भनाइ छ । ‘भारतबाट फर्किएकालाई सिधै क्वारेन्टिनमा राख्ने गरिएको छ  । साथै मुलुकका विभिन्न स्थानबाट आउनेहरुको पिसिआर रिपोर्ट अनिवार्य मागिएको छ ।’ , उनले भने ।

मुख्यमन्त्री शाहीले सरकारको एक्लो प्रयासले मात्र कोरोना नियन्त्रण सम्भव नहुने समेत जिकिर गरे । उनका अनुसार यस संक्रमण हुनबाट बच्न नागरिक पनि उत्तिकै जिम्मेवार बन्नुका साथै स्वास्थ्य साबधानी अपनाउनु पर्छ ।

हाल कर्णालीका तीन जिल्ला जुम्ला, मुगु, र सुर्खेतको वीरेन्द्रनगरमा निषेधाज्ञा जारी गरिएकोे छ । शाहीले मास्क बिना नै हिँडडुल गरे प्रहरीले सचेतनापूर्वक पहिलोपटक मास्क वितरण गर्ने बताए । यदि दोस्रोपटक पनि तिनै व्यक्ति मास्क बिनै बाहिर निस्केको पाइएमा कानून अनुसार कारबाही हुने उनको भनाई छ ।

उनले भने, ‘कोरोनाबाट जोगिने मुख्य हतियार भनेकै मास्क हो, मास्क लगाउन र भौतिक दूरी कायम गर्न हेलचक्रयाइँ गरे कोरोनाबाट सुरक्षित रहन सकिन्न ।’ यस समय भिडभाड नगर्ने, सेनिटाइजर अथवा साबुनपानीले बेला-बेला हात धुने लगायतका स्वास्थ्य सावधानी अबलम्बन गर्न आम नागरिकलाई उनको अनुरोध छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ