२०८१ माघ १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमहिनौ वितिसक्दा पनि कोरोना रिपोर्ट नआएपछि ७० जना क्वारेन्टाइनबाट भागे

महिनौ वितिसक्दा पनि कोरोना रिपोर्ट नआएपछि ७० जना क्वारेन्टाइनबाट भागे


सल्यान – सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको एक क्वारेन्टाइनबाट ७० जना भागेका छन् । क्वारेन्टाइनमा बसेको महिना दिन पुगिसक्दा पनि पिसिआर रिपोर्ट नआएको भन्दै उनीहरु क्वारेन्टाइनबाट भागेका हुन् ।

बनगाड कुपिण्डे नगरपालिकाको वडा नम्बर ३ स्थित आधारभुत विद्यालय लहाघाटमा बसेका ७३ जना मध्ये ७० जना भागेर घर गएका हुन । उनीहरुले प्रहरीहरुलाई ढुंगामुढा गरेर त्यहाँबाट भागेको नगरपालिकाका मेयर गोविन्द कुमार पुनले जानकारी दिए । उनीहरु जेठ १९ गतेदेखि सोहि क्वारेन्टाइनमा बस्दै आएका थिए ।

उनीहरु क्वारेन्टाइनमा बसेको १७ दिनपछि श्वाव संकलन गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको थियो । पहिले आरडिटिमा पोजेटिभ देखिएकाको पिसिआर गर्दा पोजेटिभ देखिएपछि उनीहरुको पनि पिसिआर परीक्षणका लागि श्वाव संकलन गरिएको थियो । तर एक महिनासम्म आफुहरु क्वारेन्टाइनमै बस्नुपरेको र रिपोर्ट नआएको भन्दै उनीहरु क्वारेन्टाइनबाट भागेका हुन ।

मेयर पुनले सुर्खेत पठाएको श्वाव त्यहाँ मेसिन विग्रिएपछि नेपालगन्ज पठाइएको र नेपालगन्जले पनि आजभोली भन्दै टारेकोले समस्या भएको बताए । उनले प्रदेश सरकारले एउटा गतिलो पिसिआर व्यवस्थापन गर्न नसक्दा आफुहरुले कोरोना रोकथाममा सास्ती खेप्नु परेको जनाएका छन् । ‘प्रदेश सरकारले यसबारे ध्यान दिएको छैन, ‘उनले भने, ‘आफुहरुले क्वारेन्टाइनमा बसेकाको व्यवस्थापनमा रातदिन खटिदा पनि गालि खानुपरेको छ ।’

बनगाड कुपिण्डे नगरपालिकामा मात्रै यस अवधिमा भारतबाट आएका झण्डै २५ सय नागरिकहरुको क्वारेन्टाइनमा व्यवस्थापन गरिएको थियो । तर अहिले क्वारेन्टाइनमा १ सयको हाराहारिमा मात्रै मानिसहरु रहेका छन । क्वारेन्टाइबाट भागेकाहरुका खोजि भैरहेको मेयर पुनले जानकारी दिए।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ