कोरोना भाइरसको संक्रमण सम्पूर्ण मानव जातिलाई नै चुनौती दिइरहेको छ । दिनप्रतिदिन बढिरहेको संक्रमित र ज्यान गुमाउनेको संख्याले मानव अस्तित्वमै संकट उत्पन्न भएको हो । यस्तो जोखिमपूर्ण अवस्थामा विश्वभरका चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीहरु आफ्नो जीवनको पर्वाह नगरी नागरिकको ज्यान बचाउनका लागि अग्रमोर्चामा खटिएका छन् ।
कर्णाली प्रदेशमा अहिले १ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ३२ जना कर्णाली प्रदेश अस्पतालको आइसोलेसन वार्डमा उपचार गराइरहेका छन् । जोखिम अवस्थामा आफूलाई होमेर कर्णाली प्रदेश अस्पतालमा पहिलो चरणमा कोभिड—१९ का बिरामीको सेवामा खटिएका चिकित्सकको अनुभव :
डा. प्रकाशराज ओली
मेडिकल अफिसर, कर्णाली प्रदेश अस्पताल, सुर्खेत
विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड—१९) चीनको बुहानबाट अहिले संसारभर फैलिरहेको छ । त्यसलगत्तै कर्णाली प्रदेश अस्पतालले पनि कोरोना संक्रमितको उपचारका लागि तयारी अघि बढाएको थियो । अस्पतालमा हामी चिकित्सकहरुले कोरोनाको सामना गर्न तयारी थालिरहेका थियौ । कस्ता बिरामीलाई कसरी उपचार र हेरचाह गर्ने भन्नेबारे गाइडलाइन तयार गरेका थियौं ।
तर, यो भन्दा पहिले यस्तो प्रकारको भाइरससँग जुध्ने कुनै पनि अनुभव थिएन । अनुभव नभएकै कारण सबै ब्यवस्थापन पूर्णरुपमा भएको भने थिएन । जब ५ जेठमा दैलेखमा कोरोनाको पहिलो संक्रमित पत्ता लाग्यो । उहाँलाई सुर्खेत ल्याउने कि दैलेखमै राख्ने भन्नेबारे सम्बन्धित निकायसँग छलफल भयो । ९ जेठमा उहाँलाई सुर्खेतको प्रदेश अस्पताल ल्याउने तयारी भयो । कर्णालीको पहिलो संक्रमित देखिएलगत्तै हामीले पूर्णरुपमा तयारी सुरु गरेका थियौं । कसलाई कसरी खटाउने, उपचारलाई कसरी सहज बनाउनेलगायत सबै तयारी भयो । उहाँलाई सुर्खेत ल्याएकै दिन सुर्खेतको क्वारेन्टाइनमा रहेका चार जनामा पनि कोरोनाको संक्रमण भएको पुष्टि भयो ।
पहिलो चरणमा दुई जना नर्सलगायत पाँच जनाको टोली कोरोनाको उपचारमा खटिने निर्णय भयो । कोरोनाको उपचारमा खटिदा अहिलेको यो जोखिम अवस्थाले मनोवैज्ञानिक असर पनि उत्तिकै गर्ने रहेछ । डाक्टर भएको नाताले बिरामीको सेवा नै पहिलो दायित्व हो ।
सैद्धान्तिक रुपमा भन्दा त सजिलै हुन्छ तर व्यवहारमा गाह्रो रहेछ । पीपीई लगाएर बिरामीको उपचार गर्न जाँदा श्वास प्रश्वासमा अप्ठ्यारो हुने, टाउको दुख्ने, गर्मीले पसिना—पसिना हुने हुन्छ । संक्रमितको सम्पर्कमा गएर फर्केपछि पूर्ण सावधाधी अपनाएर पीपीई निकाल्नु पर्दछ । त्यसैले टिममा विश्व स्वास्थ्य संगठनको गाइडलाइनअनुसार एकले अर्कोलाइ सम्झाउने, सेनिटाइजरको प्रयोग गर्ने र पीपीई निकाल्दा एकले अर्काको विशेष निगरानी गर्ने गरेको छौं ।
अहिलेसम्म प्रदेश अस्पतालमा भर्ना भएका बिरामी सामान्य अवस्थामै छन् । हामीले चार—चार घण्टामा उहाँहरुको स्वास्थ्य अवस्था बारेमा जानकारी लिन्छौं । समय—समयमा फोन गर्ने र क्यामराबाट निगरानी गर्ने, खाना र खाजाको व्यवस्थापन गर्ने र औषधि खाने समयमा सम्झाउने, सरसफाइ गराउने गरिरहन्छौ । साथै, पत्रपत्रिका पढ्न दिएका छौं । बिरामीमा कुनै प्रकारको मनोवैज्ञानिक असर परेको छैन । सबैको साझा प्रयास र टिमवर्कका कारण नै हामी कोरोना विरुद्धको लडाइमा सहजता साथ काम गरिरहेका छौं ।उपचारमा खटिने स्वास्थ्यकर्मीहरु अस्पताल नजिकैको होटलमा क्वारेन्टाइनमा बस्छौं । सात दिनसम्म एउटा टिमले काम गर्ने र अर्को टिम क्वारेन्टाइनमा बस्ने तालिकाअनुसार काम भैरहेको छ ।
बिरामीको उपचारमा संलग्न भएदेखि घर परिवारसँग फोनबाटै कुरा हुन्छ । यो समयमा परिवारबाट चिन्ता व्यक्त हुन्छ । यदि म बाहिर केही सामान लिन गए र प्रदेश अस्पतालमा काम गर्छु भन्यो भने मबाट टाढा जाने अनि फरक व्यवहार गर्छन् । त्यसलाई मैले सकारात्मक रुपमा लिने गरेको छु ।
डा. लक्ष्मी रेग्मी
मेडिकल अफिसर, कर्णाली प्रदेश अस्पताल, सुर्खेत
अहिलेको अवस्था स्वास्थ्य क्षेत्रमै चुनौतीको अवस्था हो । यसले डाक्टरमा पनि एक प्रकारको त्रास र भय पक्कै सिर्जना गरेको छ । प्रदेश अस्पतालमा कोरोनाको संक्रमित बिरामीको उपचारमा खटिने हाम्रो टिम पहिलो हो । बिरामीलाई आइसोलेसन वार्डमा कुन बाटो ल्याउने, खाना कसरी दिने र बिरामीको निगरानी कसरी गर्ने भन्नेबारे अलमल भएपनि एक दुई दिनमै सबै कुराको व्यवस्थापन गर्न सकियो ।
हाम्रो टिम पनि उच्च मनोबल र दृढताका साथ कोरोना संक्रमितको सेवामा जुट्यौं । हामीले बिरामीको सेवा गर्ने भनेर नै जीवनको महत्वपूर्ण समय यस क्षेत्रमा डाक्टरको रुपमा बिताएका हौं । अस्पतालमा कार्यरत जिम्मेवार व्यक्ति र अन्य चिकित्सक एवं स्वास्थ्यकर्मीले हाम्रो मनोबल बढाएर कोरोनाको उपचारमा लाग्ने प्रेरणा दिइरहनु भएको छ । जसले गर्दा मनोवैज्ञानिक त्रास हुँदाहुँदै पनि बिरामीको सेवामा खटिन प्रेरणा मिल्यो ।
राज्यले यस्तो कठिन परिस्थितिमा सम्पूर्ण स्वास्थ्यकर्मीलाई मनोबल उच्च बनाउन आवश्यक भौतिक र नैतिक कुरामा जोड दिएर हौसला प्रदान गर्नुपर्छ । कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई मात्र नभएर ओपीडिमा खटिने स्वास्थ्यकर्मीलाई पनि पीपीईको व्यवस्था गरेमा जोखिम कम हुने देखिन्छ ।