२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा तीन सय ७३ जनाको पिसिआर परीक्षण, रिपोर्ट नेगेटिभ

जुम्लामा तीन सय ७३ जनाको पिसिआर परीक्षण, रिपोर्ट नेगेटिभ


जुम्ला – जुम्लामा ३ सय ७३ जनाको कोरोना आरटी पिसिआर परीक्षण भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले २२ बैशाखदेखि कोरोना परीक्षण आरटी पिसिआर उपकरण सञ्चालनमा ल्याएपछि ३० जनाको कोरोना परीक्षण गरेको हो ।

यसअघि यहाँबाट स्वाब संकलन गरी सुर्खेत र काठमाडौँमा पठाएर ३ सय ४३ जनाको पिसिआर कोरोना परीक्षण गर्दा सबै जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिष्ठानको आफ्नै लगानीमा टेन्डर आह्वान गरेर रु २७ लाख रुपैयाँमा चीनबाट पिसिआर उपकरण जुम्ला ल्याएर २२ बैशाखदेखि सञ्चालनमा ल्याएपछि सहज भएको छ । यो उपकरणले एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सक्ने क्षमताको रहेको छ । ल्याबका कर्मचारी र उपकरणको व्यवस्थापन गरी कोरोना परीक्षण कार्य शुरु गरिएको अस्पताल निर्देशक डा. मंगल रावलले बताए ।

उनले भने, “२२ बैशाखमा पहिलो चरण आठ जनाको पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको हो । सात जना स्वास्थ्यकर्मी र ४५ दिनअघि भारतबाट आएका एक जना नागरिकको कोरोना परीक्षण गर्दा सवै जनाको रिपोर्ट नेगेटिभ आयो ।”

दोस्रो चरण २४ बैशाखमा २२ जनाको कोरोना परीक्षण गरिएकोमा सवै जनाको रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । परीक्षणका लागि बिहिबार (आज) २२ जनाको स्वाब संकलन गरिएको छ । रिपोर्ट आउन बाँकी रहेको जनाएको छ । प्रतिष्ठानले दुई सय किट ल्याएकोमा ५२ किट खर्च भईसकेको छ । १४८ किट बाँकी रहेको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार प्रतिष्ठान आफैले दुई हजार किट खरिद गरेका छौँ । शनिबारसम्म जुम्ला आईपुग्ने छ । संघ र कर्णाली प्रदेश सरकारले अहिले प्रतिष्ठानलाई साविक कर्णाालीका पाँच जिल्ला मुगु, कालिकोट, जुम्ला, डोल्पा र हुम्ला जिल्लाको जिम्मेवारी दिएको छ । सोही अनुसार प्रतिष्ठानले कोरोना रोकथाम तथा नियन्त्रणका लागि चिकित्सक सहितको स्वास्थ्यकर्मी परिचालन गरेको उनले बताए ।

बाहिरबाट जिल्लामा आएर विभिन्न क्वारेन्टाइनमा बसेका २ सय ६२ जनाको ¥यापिड डाइगोनोस्टिक टेष्ट गर्दा सवै जनाको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य प्रमुख कृष्ण प्रसाद सापकोटाले बताए ।

लकडाउन अवधिमा १० हजार ७०८ जना गृह जिल्ला आएका नागरिक मध्ये ३५६ जना क्वारेन्टाइनमा बसेका छन् भने ७४७ जना १४ दिनपछि घरफिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ । ५०६ जना होम क्वारेन्टाइनमा बसेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ