२०८१ पुस ६, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशएम्बुलेन्स त परको कुरा, गाउँमा स्ट्रेचर नहुँदा सुत्केरीलाई कुर्सीमा बोक्नु पर्ने बाध्यता

एम्बुलेन्स त परको कुरा, गाउँमा स्ट्रेचर नहुँदा सुत्केरीलाई कुर्सीमा बोक्नु पर्ने बाध्यता


जुम्ला – सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रम, आमा सुरक्षा कार्यक्रम लगायतका थुप्रै कार्यक्रमका लागि बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालन गरेको छ । तर जुम्लाको पुर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका–२ गोठीगाउँमा महिला सुत्केरी बेथाले छट्पटिदा स्वास्थ्य संस्था लैजाने स्ट्रेचर समेत पाइएन ।

विरामी, सुत्केरी बोक्ने एम्बुलेन्स धेरै टाढाको कुरा हो । गाउँमा स्ट्रेचर समेत नहुँदा सुत्केरी बेथाले च्यापेकी महिलालाई स्वास्थ्य संस्था लैजान डोको कुर्सीमा बोक्नु पर्ने बाध्यता छ ।

आइतबार विहान एक महिलालाई सुत्केरी बेथा लागेपछि स्वास्थ्य संस्था लैजाने गाउँमा स्ट्रेचर खोज्दा पाइएन स्थानीय सस्त्री बोहोराले भने, ‘ स्ट्रेचर नभएपछि कुर्सीमा भएपनि मणिसाँघु स्वास्थ्य चौकीमा पुर्यायौं ।’

पहिलेका सरकारले त एम्बुलेन्सको व्यवस्थापन गरेन । स्थानीय सरकार आइसक्दा पनि एम्बुलेन्सको त कुरा नगरौँ स्टेचरसमेत नपाएको उनले बताए । स्थानीय सरकारले योजना महत्वकांक्षी बनाए पनि कार्यान्वयन गर्न नसक्दा दुर्गमका पीडा उस्तै रहेको बोहोराले गुनासो गरे।

गुठीचौर गाउँपालिकाले लाखौँ मुल्य खर्चेर डोजर ट्याक्टर खरिद गरेको छ । तर नागरिकको सेवाका लागि भने एम्बुलेन्सको कुरा नगरौँ स्टेचरको समेत व्यवस्था गर्न नसकेकोमा गोठीगाउँका स्थानीयले असन्तुष्ट व्यक्त गरेका छन् ।

गाउँपालिकाले पठाएका स्टेचर गाउँमा भेटिदैनन्

गुठीचौर गाउँपालिका स्वास्थ्य शाखाबाट प्राप्त जानकारी अनुसार मणिसाघु स्वास्थ्य चौकीका लागि गएको ६ महिना पहिले तीन वटा स्टेचर पठाइएको छ । स्वास्थ्य संयोजक बालाराम नेपालीले भने, ‘६ महिना पहिले रमेश बुढा मणिसाघु स्वास्थ्य चौकीको इन्चार्ज हुँदा तीन स्टेचर पठाइएको थियो । तर सुत्केरी महिला बोक्न स्टेचर पाउनु पर्ने हो किन पाईएन? मणिसाँघु स्वास्थ्य चौकी बर्थिङ सेन्टर भएकाले पनि स्टेचर हुनुपर्ने हो ।’

उनले पहिला पठाएका तीन स्टेचर कहा गए, के भएको हो? गाउँमा स्टेचर किन पाइएन सबै बुझेर जवाफ दिने प्रतिवद्धता समेत गरे । उक्त स्वस्थ्य चौकीमा अहिले रमेश बुढा सरुवा भएर बम बहादुर रोकाया आएका छन् ।

त्यस्तै, गुठिचौर–२ गोठी गाउँमा गएको पुस महिना स्थापना भएको आधारभुत स्वास्थ्य सेवा केन्द्रका लागि तीन वटा स्टेचर खरिद भइसकेका छन् । स्वास्थ्य शाखा प्रमुख नेपालीका अनुसार माग गर्न आएमा १-२ दिनमै स्टेचर पठाइने तयारी छ । तर पहिला पठाएका स्टेचर कहाँ छन् भन्ने बारे खोजी गरिने जनाइएको छ ।

गोठी गाउँमा के कति कारण स्टेचर उपलब्ध हुन नसकेको ? सुत्केरीको अवस्था कस्तो छ ? पहिलाको तीन स्टेचर कता गए? स्टेचर अभाव होकी के हो भन्ने बारे बुझ्न स्वास्थ्य इन्चार्ज बम बहादुर रोकायाले २ नम्बर वडाध्यक्षलाई धेरै पटक फोन गर्दा नेटवर्कको समस्याका कारण सम्पर्क हुन् नसकेको बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ