गुल्मीमा जन्मिएर विगत लामो समयदेखि स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएका डा. राजेन्द्र खनाल केही साताअघिमात्रै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मेडिकल सुपरिटेन्डेन्टका रूपमा नियुक्त भएका छन् । दुर्गम क्षेत्र हुम्लाबाट सरकारी सेवा सुरु गरेका डा. खनालले विगतमा गुल्मी जिल्लाको जिल्ला स्वास्थ्य प्रमुख भई प्रशासकका रूपमा काम गरेको अनुभव उनीसँग छ । लुम्बिनी प्रादेशिक अस्पताललाई व्यवस्थित बनाउन के–कस्ता चुनौती र सम्भावनालगायत समसामयिक विषयमा उनै मेसु डा. खनालसँग डी. आर. बन्जाडेले गरेको कुराकानीः
लुम्बिनी प्रादेशिक अस्पतालको मेसुरुका रुपमा नेतृत्व सम्हालिरहँदा कस्तो अनुभूति गरिरहनुभएको छ ?
अस्पतालको नेतृत्वमा आउनु स्वभावैले मेरो मात्र चाहना होइन् । मेरा सहकर्मी मित्रहरू, अग्रज तथा अनुजहरूको आग्रह तथा सबै महानुभावहरूको इच्छा र चाहनाले नै यो पदमा आएको हुँ जस्तो मलाई लाग्छ । अर्को कुरा म सेवा प्रवेश गर्दा नै अस्पतालको प्रशासनिक जिम्मेवारीमा बसेर काम गरिसकेको हुनाले लामो अनुभाव पनि छ । यस मानेमा पनि नेतृत्वमा आइरहँदा मलाई चुनौती र अवसर दुवै छन् भन्ने लागेको छ । म चुनौतीहरूको सामना गर्दै अघि बढ्ने स्वभावको भएको हुनाले पनि मैले चुनौतीहरूलाई पनि अवसर कै रूपमा लिएको छु ।
यहाँ त संघीय तह मै समायोजनमा योग्यता भएको ११ औं तहको डाक्टर हो । किन प्रदेश तहको अस्पताल रोज्नुभयो ?
म ११ औं तहको डाक्टर भएरपनि प्रदेशस्तरको अस्पतालमा आउनुको पछाडि भावनात्मक कारण छ । पश्चिम क्षेत्रको महत्वपूर्ण र पूरानो अस्पताललाई अस्पतालजस्तो बनाउन मसँग भएको क्षमता, अनुभव र दक्षता देखाउने अवसरका रूपमा लिएकाले यहाँ आएको हुँ । त्यतिमात्र होइन्, यस क्षेत्रका अग्रज, अनुज तथा सम्पूर्ण महानुभावहरूको सद्भाव पनि त्यस्तै रह्यो । एक पटक नेतृत्व गरिदिनुप¥यो भन्ने माग आयो, सोही अनुरूप नै म नेतृत्वमा आएको हुँ । म आफै पनि नकारात्मक सोच नभएको व्यक्ति हुनाले पनि काम गरेको होला । जुन कुर्सीमा बसिन्छ, त्यसलाई न्याय गर्नुपर्छ भन्ने मान्यता बोकेको हुन्छु । सोही अनुरूप काम गर्नुपर्छ र काम गर्छु पनि ।
अस्पताल लामो समयदेखि नै थलिएको छ । समस्यामा जेलिएको अस्पताललाई स्वस्थ अस्पतालका रूपमा देखाउन के–कस्ता चुनौती देख्नुहुन्छ ?
समस्या नहुने क्षेत्र सायदै नहोला । तर, समस्या समाधानका लागि कस्ता पहलहरू भए ती पहलहरू सार्थक रहे वा रहेनन् भन्ने कुराले महत्वपूर्ण राख्दछ । जहाँसम्म अस्पतालमा देखिएका समस्याहरूको समाधानका लागि म तीन तवरले योजना बनाउनुपर्छ भन्ने मान्दछु । समस्याहरू पहिचान गरी ती समस्याहरूलाई समाधानतर्फ उन्मुख हुनु नै सफलता हो भन्ने मलाई लाग्दछ । मैले अहिले अस्पतालमा देखिएका समस्याहरूलाई पहिचान गरेको छु । ती समस्या समाधानका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना आवश्यक हुने देखिएको छ । तत्कालीन रूपमा गर्नुपर्ने कामहरू, मध्यकालीन र दीर्घकालीन रूपमा काम गर्नुपर्ने अवस्था छ ।
अब हरेक काममा चुनौती हुन्छ नै तर यहाँ त्यस्तो चुनौती भने म देख्दिनँ । खाली म मेरो लेभलबाट अलि बढी खट्नुपर्ने हुन्छ । चुनौतीहरूलाई अवसरका रूपमा लिने मेरो स्वभाव पनि छ, सोहीअनुरूप नै काम गर्ने हो । चुनौतीहरूले मलाई उर्जा नै दिने हुन । हाम्रो पेशाप्रति आम रूपमा जुन सम्मान छ, त्यसको गरिमालाई अझ उचो बनाउँदै काम गर्ने हो । अस्पताललाई हेर्न लायक र सेवाको लागि लुम्बिनी अस्पताल छ भन्ने बनाउने मेरो योजना छ । यसलाई मोडल अस्पतालका रूपमा विकास गर्ने सपना छ । सबैले मलाई सोही अनुरूप नै प्रोत्साहन गरिरहनुभएको छ । त्यसकारण पनि काममा म दृढतापूर्वक नै लाग्छु । प्रदेश सरकारले गौरवको योजनाका रूपमा प्रादेशिक अस्पताललाई लिएको छ । यसर्थ पनि यो अवसरका रूपमा पनि मैले लिएको छु । दैनिक ठूलो संख्यामा बिरामीहरू उपचार गर्न आउनुहुन्छ । पहाडी जिल्लाहरूदेखि भारतसम्मबाट पनि उपचारका लागि आउनुहुन्छ । यसरी बीच भागमा रहेको यो अस्पताललाई बुटवल उपमहानगरपालिकाको नमुना, उदाहरणीय योजनाको रूपमा विकास गर्नुपर्छ ।
यहाँबाट अस्पतालमा तुरून्त गर्ने कार्यहरू के–के हुनेछन् ?
परिवर्तन आफैबाट सुरु गर्नुपर्छ भन्ने मान्यता म राख्दछु । सोही अनुरूप म र टिमलाई जुझारू पर्न सक्यो भने लगभग समस्या समाधान हुन्छजस्तो मलाई लाग्छ । त्यसपछि इमर्जेन्सीमा देखिएको जुन समस्या छ, त्यसको तत्काल समाधान खोज्नु पर्नेछ । बेडको समस्यादेखि अन्य समस्याहरू छन्, त्यसको समाधानका लगि पहल सुरु हुन्छ । दोस्रो अस्पताल परिसरमा सरसफाइको समेत समस्या देखिएको छ । त्यसको लागि पनि पहल भै नै हाल्छ । त्यसको अलावा सबैभन्दा महत्वपूर्ण कुरा डाक्टर सावहरू, नर्सिङ स्टाफ तथा कर्मचारीहरूसँग अस्पताल सुधारका लागि छलफल, समन्वय र निर्देशनजस्ता कार्य तत्काल नै हुन्छन् । व्यवस्थापनको विषयलाई जोड दिने कुरा मै म लाग्ने हो । त्यसको अलवा प्रसुती कक्षमा रहेका समस्याहरू समाधान गर्नुपर्नेछ । निरन्तर निगरानीबाट नै समस्या समाधान हुँदै जाने हो । अन्य मध्यकालीन योजना र दीर्घकालीन योजनाहरू तर्जुमा हुँदै जाने विषय भए ।
अस्पतालमा कार्यरत डाक्टरहरू कार्यलय समयमा नै निजी क्लिनिकहरूमा व्यस्त देखिए भन्ने गुनासो पनि छ ?
पहिलो कुरा त अस्पतालमा कार्यरत डाक्टर कार्यालय समयमा अस्पतालबाहिर हुनु हुँदैन् । यदि त्यस्तो अवस्था रहेछ भने त त्यसमा सम्बन्धित डाक्टर नै जिम्मेवार हुनुपर्छ । त्यसका लागि प्रशासनले पहल कदमी लिन्छ नै । अर्को कुरा निजी क्लिनिकमा डाक्टर व्यस्त भए भन्ने कुरा चाहिं डाक्टरहरू कार्यालय समयबाहेक अन्य स्थानमा काम गर्न पाउने कानुनी व्यवस्था नै छ । डाक्टरको पेशा अन्य पेशा जस्तो होइन् । डाक्टर २४ घन्टा खट्नुपर्ने पेशा पनि हो । मानिसको जीवनसँग जोडिएका हुन्छन् डाक्टरहरू । त्यसैले पनि कुनै क्लिनिकमा बिरामीको अवस्था गम्भीर छ भने डाक्टरले उपचारमा संलग्न हुन्न भन्न मिल्ने कुरा भएन ।
सटर विवादलाई कसरी हेर्नुभएको छ ? समाधानका लागि उपाय के छ ?
यो प्रदेश सरकारले निर्णय गरेको कुरा हो, छोटो तरिकाले हेर्दा व्यवसायीहरूलाई मर्का परेको हुन सक्छ । तर, प्रदेश सरकारले महसुस ग¥यो की अस्पताल सेवा दिने ठाउँ हो, अस्पताल अगाडिका सटरहरूले धेरै विकृति निम्त्यायो र अस्पताल प्रष्ट रूपमा नदेखिने अवस्थामा रह्यो, सायद त्यही कारणले होला प्रदेश सरकार त्यो निर्णयमा पुगेको । यसमा मेरो भन्नु केही छैन । यो विषय सम्मानित अदालतमा समेत रहेकाले यसको निर्णय न्यायिक प्रक्रियाबाट पनि होला ।