प्रा.डा. मोहनराज शर्मा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का डिन हुन् । बाग्लुङमा जन्मिएका उनले बाग्लुङकै स्थानीय विद्यालयबाट एसएलसीसम्मको अध्ययन गरेका हुन् । वि.सं. २०४२ सालमा अमृत साइन्स क्याम्पसबाट आईएस्सी गरेका डा. शर्माले महाराजगन्ज मेडिकल क्याम्पसबाट एमबीबीएस गरेका हुन् । सन् १९९१ एमबीबीएस सकेका उनले आईओएमबाटैं जनरल सर्जरी एमएस गरे ।
अमेरिकाबाट न्यूरो सर्जरीमा एक्रिडिटेड फेलोसीप गरेका डा. शर्मा सन् २००३ मा नेपाल फर्किए । त्यसयता निरन्तर आईओएममा चिकित्सा सेवा र प्राध्यापनमा सक्रिय उनी चार महिनाअघि मात्रै डिन नियुक्त भएका हुन् । अनुसन्धानमा विशेष रुचि भएका डा. शर्मासँग आईओएमको डिन भएपछिका योजना, नेपालको चिकित्सा शिक्षालगायतका विविध विषयमा केन्द्रीत रहेर हेल्थआवाजले गरेको कुराकानीः
डिन भएपछि कामहरु कसरी अगाडि बढिरहेका छन् ?
म डिन भएको चार महिना भयो । विविध कारणले डिन नियुक्ति नै ढिलो हुन पुगेको थियो । म आउँदा धेरै कुराहरु अघि बढेको तर पूरा नभएको अवस्था थियो । यो चार महिनामा सुरु भएका कतिपय काम सम्पन्न गर्ने चरणमा छौं ।
म आउँदा त्रिवि शिक्षण अस्पतालको निर्देशक, महाराजगंज चिकित्सा क्याम्पसको चिफ निमित्त हुनुहुन्थ्यो । दुई जना सहायक डिन, अनुसन्धान विभाग, मेडिकल एजुकेशन विभाग, सूचना प्रविधी विभाग रिक्त थियो । अस्पताल, क्याम्पस र खाली रहेका विभागहरुमा हामीले पदपूर्ति गर्यौं । बाहिर हेर्दा सामान्य देखिएपनि यो एकदमै मेहनत आवश्यक पर्ने काम रहेछ । त्रिवि कार्यविधी बनेपछि प्रतिस्पर्धा, क्षमता र अनुसन्धान आउटपुटका आधारमा हामीले यो काम पूरा गरेका छौं ।
एकेडेमिक कार्यहरु कसरी अगाडि बढिरहेका छन् ?
कतिपय मेडिकल पाठ्यक्रमहरु रिभाइज नभएको अवस्था थियो । रिभाइज नभएका पाठ्यक्रम चाँडो—चाँडो रिभाइज गर्ने काम गरिरहेका छौं । चिकित्सा शिक्षा आयोगको पाँच वर्षमा पाठ्यक्रम परिमार्जन हुनुपर्ने गाइडलाइनलाई मध्यनजर गर्दै हामीले यो काम गरिरहेका छौं ।
विश्वविद्यालय अनुदान आयोगले ‘लेबर मार्केट ड्रिभन प्रोग्राम’ अनुसार पढाउन निर्देशन दिएको छ । जनशक्ति उत्पादन गरेपछि तुरुन्त बजारमा खपत हुने खालको विषयहरु पढाउनू भन्ने निर्देशन छ । उत्पादित जनशक्ति बजारमा रोजगारी पाउँदैंन भने त्यस्तो जनशक्ति उत्पादन गर्नु हुँदैंन ।
चिकित्सा शिक्षामा हामीलाई आवश्यक जनशक्ति के—के रहेछन् ?
नेपालमा बायोमेडिकल इन्जिनियरहरु असाध्यै कम छन्, हात—हातै बिक्ने अवस्था छ । बायोमेडिकल इन्जिनियरिङ इन्स्टिच्युट अफ इन्जिनियरिङसँगको सहकार्यमा पढाउने तयारीमा छौं । फिजियोथेरापिष्टको माग पनि बजारमा उल्लेख्य छ । त्यस्तै नेपालमा फर्मासिष्ट पनि ‘लेबर मार्केट ड्रिभन प्रोग्राम’अन्तर्गत पर्छ । नेपालीको आयु अहिले ७१—७२ वर्ष पुगेको छ, बुढ्यौली जनसंख्या बढ्न थाल्यो । त्यसकारण बुढ्यौली सम्बन्धी विशेषज्ञको आवश्यकता छ । तर, बुढ्यौंली सम्बन्धी विशेषज्ञ नेपालमा मेरो जानकारीमा ४—५ जनामात्रै छन् ।
आईओएम सुधारका प्रयासहरु कसरी अगाढि बढाउँदैं हुनुहुन्छ ?
आईओएम सुधार गर्नका लागि बेसलाइन डाटाहरु चाहियो । त्यसका लागि मैले तथ्यांकहरु जम्मा गरि रहेको छु । मेरो लेभल के हो, मलाई सबैतिरबाट कति सहयोग छ, कति मैले आफै गर्न सक्छु, कति त्रिवि पदाधिकारीहरुको अनुमति लिएर गर्न सक्छु र कति मैले उच्च तहमा लबिइङ गरेर गर्न सक्छु भनेर योजना बनाएको छु । त्यहीअनुसार काम अगाडि बढाउँछु ।
आईओएमले उत्पादन गर्नुपर्ने जति जनशक्ति उत्पादन गरेन भन्ने आरोप पनि छ नि ?
यसमा मेरो फरक विचार छ—त्रिभुवन विश्वविद्यालयका ९ वटा संस्थानमध्ये आईओएम एक ठुलो संस्थान हो । वि.सं. २०२९ सालमा स्थापना भएको आईओएमको ५० वर्षभन्दा लामो इतिहास छ । एकदमै पूरानो र तल्लो तहदेखि डिएम/एमसीएच र पिएचडीसम्मको जनशक्ति हामी उत्पादन गर्छौ । देशकै पुरानो संस्था भएकाले त्रिवि पदाधिकारी र हाम्रो मत ‘अब हामी क्वान्टीटीमा नजाउ, क्वालिटीमा जाउ’ भन्ने छ । दक्षतालाई कम्प्रोमाइज गरेर धेरै विद्यार्थीलाई ननिकालौं भन्ने छ । भएकालाई अझ कम्पिटेन्ट कसरी बनाउने, मोर्डन करिकुलम, मोर्डन थिङकिङ र वर्ल्ड अफ वर्कसँग कसरी जोड्ने भन्ने उद्देश्यमा काम गरिरहेका छौं । नम्बर बढाउनु मलाई उपयुक्त लाग्दैन् । बजारमा रोजगारीको अपरचुनिटीहरु पनि हेर्नुपर्छ । बढी निकाल्यौं तर बजारमा रोजगारी पाइएन भने के गर्ने ?
आईओएममा एमबीबीएसपछि ‘ब्रेन ड्रेन’को अवस्था त भयावह नै छ नि होइन र ?
यो फ्याक्ट नै हो । हाम्रोबाट अण्डर ग्राजुयट गरेपछि विदेश जाने टेन्डेन्सी बढ्यो । अमेरिका, बेलायत र अष्ट्रेलियाको ‘म्यानिफ्याक्चरिङ हब’ भयो भन्दैं पनि आएको छु । म यो डिनको पोष्टमा नआउँदैं यो तरिका ठीक भएन भनिरहेको छु । केही न केही गडबड छ । हुन त संसारमा कहाँ बस्ने, के गर्ने प्रत्येक मान्छेको फ्रिडम हुन्छ, रोक्न मिल्दैन । तर, के कारणहरुले यो ‘ब्रेन ड्रेन’को समस्या देखियो भन्ने फ्याक्ट एनालाइसिससहित रोक्नका लागि हाम्रो पहल हुनुपर्छ ।
सन् २०१२ तिर नेपालमा भएको एक अध्ययनमा जो मान्छे हेल्थ असिस्टेन्ट तहबाट पढेको छ, जो अलि उमेर ढल्केको छ र जो गाउँको परिवेशबाट आएको छ त्यस्तो डाक्टर नेपाल बस्ने सम्भावना बढी देखिएको छ ।
२७ वर्षदेखि आईओएममा म शिक्षण पेशामा छु । मेरो अनुभवमा एमबीबीएस, एमडी, डिएम/एमसीएचमामा प्रत्येक पटक दुई—दुई वर्ष बण्ड गरी ६ वर्ष त विद्यार्थीहरुको बण्डमै जाने भयो । तर, एमबीबीएसपछि युएसएमएलईको दुई वर्ष दुःख गरेर युएसको रेजिडेन्सीमा छिरिसकेपछि बण्ड पनि हुँदैंन्, संसारकै सम्भवतः वेष्ट डिग्री र आकर्षक इनकम पनि हुने भयो । त्यहाँ एकपटक गइसकेपछि नेपाललाई जतिसुकै माया गर्ने मान्छे भएपनि त्यही सेटल सेटल हुने सम्भावना हुन्छ । यही नै ‘ब्रेन ड्रेन’को मुख्य कारण हो जस्तो लाग्छ । त्यसैले मल्टीपल बण्डको सिष्टम हटाउनुपर्छ र जागिरका अवसरका आधारमा जनशक्ति उत्पादन गर्नुपर्छ । रोजगारीको ग्यारेण्टी नभई ट्रेन्ड म्यानपावर निकाल्नुहुन्छ भने त्यहाँ समस्या भइहाल्छ ।
अर्को नेपालमा नेगेटिभिटी एकदमै बढेको छ । देशमा केही राम्रो छैन, सबै खतमै छ भन्ने मेन्टालिटीलाई परिवर्तन गर्नुपर्छ । हामी सबै मिलेर देश बनाउने हो । जो जुन ठाउँमा काम गर्छौ, त्यो ठाउँमा आफ्नो काम गरौं न । धेरै जना हामी त्यो मान्छेले काम गरेन देश खतम भयो भन्ने तर आफूले काम नगर्ने गर्छौ । नेपालमा पर्याप्त अवसर छन् । राम्रो हावापानी छ, अपराध नगन्य छ, सुरक्षित छ । जागिरका लागि संघर्ष त जहाँ पनि हुन्छ ।
नेपालमा धेरै कुरा व्यवस्थित हुँदैं गएका छन् । नेपालमा बस्नु राम्रो छ भन्ने माहौल हामीले सिर्जना गर्नुपर्छ, संघर्ष कुन देशमा हुँदैन् ? बेरोजगार अमेरिकामा हुन्छन्, अष्ट्रेलियामा हुन्छन् अरु देशहरुमा पनि हुन्छन् । समस्या सबै देशमा छ, यहाँको समस्या यही बसेर समाधान गर्ने मानसिकता बनाउनुपर्छ ।
मुलुककै बेस्ट ब्रेनहरु विदेशतिर हिडिदिँदा हामीलाई त्यसले कस्ता प्रभाव पारिरहेको छ ?
यो ह्युमन क्यापिटल लस हुदा निकै ठूलो प्रभाव पारिरहेको छ । पूर्वाधार, फ्याकल्टी, उपकरण, अस्पताल सञ्चालनजस्ता आवश्यक कुराहरुको लागत मुल्यांकन गर्ने हो, स्वास्थ्य हो दक्ष जनशक्ति निकाल्न राज्यको ठूलो खर्च छ । त्यसकारण सरकारले ‘ब्रेन ड्रेन’ निरुत्साहित गर्ने नीति ल्याउनुपर्छ । नेपालमा बढिरहेको नेगेटिभिटीलाई एड्रेस गर्ने र रोजगारी क्रियट गर्नुपर्छ । अर्को, डाक्टर हुनुका लागि कडा संघर्ष गर्नुपर्ने र भइसकेपछि पनि दुई चार सयका लागि यो क्लिनिकबाट त्यो क्लिनिक, त्यो क्लिनिकबाट अर्को क्लिनिक दौडनुपर्दा फ्रस्टेसन आउने रहेछ । डाक्टरको तलब वैज्ञानिक तवरले लागु गरिदिनुपर्छ ।
पैसा नै सबै कुरा नहोला तर एकदमै राम्रो तालिम लिएको, स्कीलफूल डाक्टरको पोष्टिङ केही श्रोत साधन नभएको अस्पतालमा हुन्छ । हाम्रा एमसीएच गरेका विद्यार्थीहरु पोष्टिङ भएर काठमाडौँ बाहिर जाँदा त्यहाँ शल्यक्रिया गर्ने एउटा उपकरण पनि पाउँदैनन् । यो अवस्था परिवर्तन गरेर फ्यासिलिटीको स्तर उन्नति हुनुपर्छ।
नेपालको मेडिकल एजुकेशनमा सुधार गर्नुपर्ने कुराहरु के देख्नुहुन्छ ?
कुनैपनि एजुकेशन आफैमा संवेदनशील नै हो । तर, मेडिकल एजुकेशन सबैभन्दा संवेदनशील हो किनभने यो मानिसको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार भएको विषय हो । हामीले आज पहिलो वर्षमा पढाएको बिद्यार्थी पाँच वर्षपछि बाहिर बिरामी हेरेर, औषधि दिएर, निको बनाउने व्यक्ति भएकाले यसमा निकै संवेदनशील हुनुपर्छ । मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ, डिजिटल युगअनुसार परिमार्जित गर्नुपर्छ । अहिले हामी कति बिषयमा परम्परागत पाठ्यक्रम पढाइरहेका छौं ।
अहिलेको युग सुहाउँदो पाठ्यक्रमलाई ‘कम्पीटेन्सी बेस्ड करिकुलम’ भनिन्छ । मैले नलेज त विद्यार्थीलाई दिए तर विद्यार्थीले नलेज प्रयोग गर्न सक्छ कि सक्दैन् भन्ने प्रुफ के हो त, त्यही प्रुफ हेर्नेलाई हामीले ‘कम्पेटेन्सी’ भन्छौं । विद्यार्थीले रटेर पढेको हो कि उसले पढेको कुरा अप्लाई गर्न सक्छ ? मेडिकल एजुकेशनमा अब त्यस्तो खालको करिकुलम हुनैपर्छ भनेर बाध्यकारी बनाइएको छ । हामीले हाम्रा सबै पाठ्यक्रमलाई ‘कम्पीटेन्सी बेस्ड करिकुलम’मा ढाल्दैंछौं ।
प्राज्ञिक संस्थाहरुमाथि राजनीतिक हस्तक्षेपको विषय तिख्खर बनेर उठिरहेको छ नि ?
प्राज्ञिक संस्थाहरु राजनीतिक रुपले स्वायत्त हुनुपर्छ । त्रिविका अध्ययन संस्थानहरुका डिन नियुक्त गर्दा पनि मेरिटोक्रेसीको धेरै हदसम्म प्रयाक्टिस भयो । प्रतिस्पर्धाबाट आएपछि मोरल पावर उच्च हुन्छ र आउट पुट दिन सकिन्छ । प्राज्ञिक संस्था संस्थाहरुलाई राजनीतिक प्रभाव बाहिर राख्न सकियो भने धेरै सुधार गर्न सकिन्छ ।
विश्वविद्यालयहरु अनुसन्धानबाट टाढिदैं गएका देखिन्छन् । आईओएमले अनुसन्धानलाई कसरी अगाडि बढाइरहेको छ ?
त्रिभुवन विश्वविद्यालय विश्वभर विश्वविद्यालयको र्याङकिङ (Times ranking) को १२०० आसपासमा छ । विश्वविद्यालयको र्याङकिङका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरुको विविधता, अनुसन्धान हेरिदोरहेछ । अन्तर्राष्ट्रिय विद्यार्थीहरु कति आउँछन् भन्नेभन्दा पनि कति देशका आउँछन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । टि यू आईओएममा माल्दिभ्स, भारतबाट आउँछन् तर त्यसले एजुकेशनल र्याङकिङमा माथि जानलाई पुग्दैन्, माथि जानका लागि मल्टीपल देशहरुबाट आउनुपर्छ । मल्टीपल देशका विद्यार्थीहरु अहिलेकै अवस्थामा भित्र्याउन गाह्रो छ । त्यसकारण हाम्रो माथि जानका लागि रिसर्च नै एक माध्यम हो ।
अनुसन्धान अगाडि नबढाएसम्म क्लिनिकल सर्विस पनि राम्रो हुँदैन् । आईओएममा रिसर्च विभाग पहिले नै थियो । म डिन भएर आईसकेपछि एक जना निर्देशक, दुई विज्ञको डेडिकेटेड टिम बनाएका छौं, उहाँहरुको कार्यक्षेत्र पनि बढाएका छौं । क्लिनिक ट्रायल युनिट छ, बेसिक साइन्सको रिसर्च ल्याब छ । अनुसन्धान विभाग पूर्णतयाः क्रियाशील छ । यसपल्ट आईओएमको वार्षिकोत्सवका अवसरमा रिसर्च कन्फ्रेन्स गर्दैछौं । रिसर्चका लागि वार्षिक क्यालेन्डर बनाएर काम गर्ने र फन्डेड रिसर्चका लागि अप्लाई गर्ने काम अगाडि बढाउँदैंछौं । यसले युनिभर्सिटीको र्यांङकिङलाई माथि लैजान सहयोग गर्छ ।
त्यसबाहेक रिसर्चमा एवार्ड क्रियट गरेर इन्स्पायर गर्ने काम पनि गर्छौ । फण्डका लागि युनिभर्सिटी ग्रान्ट कमिसनमा पनि आवेदन दिएका छौं । त्यसैले आगामी वर्षहरुमा मैले अनुसन्धानलाई एउटा उचाइमा लगेर आईओएमलाई अनुसन्धानको लिडर बनाउने योजनाका साथ काम गरिरहेको छु ।
क्लिनिकल पक्षमा कस्ता कामहरु भइरहेका छन् ?
त्रिवि शिक्षण अस्पताल टर्सरी लेभलको सेन्टरका रुपमा स्थापित छ । भारत र अमेरिकाका टर्सरी लेभलका अस्पतालले जस्तो सेवा दिन्छन्, त्रिवि शिक्षण अस्पतालले पनि त्यस्तै सेवा दिइरहेको छ । स्ट्याण्डर्ड भन्ने कुरा पनि रिलेटीभ चिज हो । बेलायत, अष्ट्रेलियाजस्ता देशमा न्यूरो सर्जनलाई भेट्न महिनौ कुर्नुपर्छ भने हामी त्यही दिन भेट्न सक्छौं । त्यो राम्रो पक्ष भयो । तर, अस्पतालमा भिडभाड हुने, लाइन बस्नुपर्ने, इमर्जेन्सीमा एउटै बेडमा १ भन्दा बढी बस्नुपर्नेजस्ता समस्या समाधान गर्छौ । एउटा पब्लिक अस्पतालमाथि सबैको विश्वास हुन्छ, त्यही कारण आएका बिरामीलाई सकेसम्म नफर्काउने नीति भएकाले पनि यस्तो गर्नुपर्ने भएको हो । त्यो भनेर समस्याबाट भाग्ने छुट हामीलाई छैन । एउटा बेडमा एउटा बिरामी हामी गराएरै छोड्छौं ।
रेडियोथेरापी सेवा सुरु गर्ने तयारीमा छौं । किनभने, हाम्रो आफ्नै सुरेश वाग्ले क्यान्सर सेन्टर छ । त्रिवि शिक्षण अस्पतालमा आएका धेरै बिरामीलाई रेडियोथेरापीका लागि अन्यत्र पठाउनुपर्ने बाध्यता छ । यसबाट बिरामीले त दुःख पाउनुहुने भइहाल्यो । सरकारी सहुलियतमा उपचार गर्छौ भनेर हामीले भन्न पाएको खै त ? त्यहीकारण रेडियोथेरापी यही वर्ष सुरु गर्ने योजना छ । आईसीयुमा भएका बिरामीहरु अत्यन्त सिकिस्त पनि हुन्छन् । त्यसकारण हामीले बेडमै गएर गर्न सकिने पोर्टेबल सिटी स्क्यान मेसिन भित्राउनका लागि पहल गरि रहेका छौ ।
त्यो बाहेकका अन्य सेवाहरु संसारका अन्य सेन्टरहरु जस्तै स्तरीय छन् । उपकरण र शल्यक्रियाको स्ट्याण्डर्ड पनि विश्वस्तरीय छ । हाम्रो कामहरुको स्तर इन्टरन्यास्नल जर्नलहरुमा प्रकाशित गरेर पनि त्यो पुष्टि गरेका छौं । मेडिकल एजुकेशनमा पनि राम्रै छौं, रिसर्चका कामहरु चाही अगाडि बढाउनुपर्नेछ ।
विद्यार्थीहरुले होस्टेललगायतका विषयहरु उठाइरहेका छन् नि ?
पहिलाको डिनले यसका लागि निकै पहल गर्नुभएको हो । एक किसिमको प्रोजेक्ट पनि अगाडि बढिरहेको छ । अहिले सर्टटर्ममा आईओएम भित्रै भएका भवनहरुलाई रिएडजष्ट गर्ने र लङटर्ममा डेडीकेटेड होस्टेल बनाउने योजना छ । त्यसलाई त्रिविको वार्षिक योजनामा राखेर पठाएका छौं । यहाँ अहिलेको ठाउँमा क्रकिटको जंगल नै भइसक्यो, धेरै संरचना थप्न सकिने अवस्था छैन । यहाँबाट अर्को ठाउँमा जाने त्रिविमा हो, जनस्वास्थ्य केन्द्रीय विभाग अब चाँडै त्यहाँ जादैंछ, भवन तयार छ, अलिकति छत लिकेजको समस्या भएकाले त्यसलाई बनाउने काम अगाडि बढ्दैंछ । ५—६ महिनामा त्यो सम्पन्न हुन्छ।
त्यसैगरी, अण्डर ग्राजुयट कार्यक्रम कतै सारेर पोष्ट ग्राजुयसनलाई मात्रै यहाँ राख्न ठीक हुन्छ । कालान्तरमा यसलाई सिटी हस्पिटल मात्रै बनाउने हो । सुपरस्पेसियालिटी त अन्यत्रै लैजानुपर्छ । यसलाई हाई लेभल पोलिसी चाहिन्छ, यो एउटा डिनको कार्यकालमा हुन सक्ने काम होइन । सपना बाँडेर मात्रै हुँदैंन, मेरो कार्यकाल भरि सक्ने प्रोजेक्ट चाहिँ म गर्छु ।
प्रत्यारोपणका कार्यक्रमहरु कसरी अगाडि बढ्छन् ?
मिर्गौला प्रत्यारोपण धेरै पहिलेदेखि राम्रोसँग स्थापित भयो । लिभर ट्रान्सप्लान्ट पनि कम्प्लिट नेपाली डाक्टरहरुले नै डा. रमेशसिंह भण्डारीको नेतृत्वमा गरिरहनुभएको छ । हार्ट ट्रान्सप्लान्टका लागि कार्डियोलोजिष्ट र कार्डियाक सर्जनहरुले लाइसेन्स लिइसक्नुभएको छ । भौतिक पूर्वाधार र उपकरण व्यवस्था हामी गर्दैछौं । मुटु सर्जन डा. अनिल भट्टराईले मलाई जानकारी दिएअनुसार सबै प्रक्रिया यही गतिमा र हामीले सोचेजस्तै अगाडि बढ्यो भने हामी निकट भविष्यमै हार्ट ट्रान्सप्लान्टमा जान्छौं ।
सरकार र विश्वविद्यालयको कस्तो सहयोग पाइरहनुभएको छ ?
एकदमै राम्रो सहयोग पाइरहेको छु । भिसी, रजिष्ट्रार, रेक्टरज्यूहरुसँग आईओएमको एकदमै राम्रो सहयोग छ । शिक्षा र स्वास्थ्य मन्त्रालयबाट पनि हामीप्रति राम्रो सदभाव छ । कति समयदेखि हाम्रो फ्याकल्टी र अन्य जनशक्तिका लागि विज्ञापन भएको छैन, पढाउने जनशक्ति नहुँदा कति कार्यक्रममा अप्ठ्यारो अवस्था सिर्जना भएको छ, शैक्षिक जनशक्तिको बढुवामा समस्या छ । तर त्यो पनि चाडै समाधान हुने प्रक्रियामा छ ।
तर, कुनै-कुनै काम गर्दा प्रक्रिया निकै लामो र झन्झटिलो हुने रहेछ । जे समस्या भएपनि नेपालमा आईओएमको छुट्टै ब्राण्ड छ, त्यो खस्किन हामीले दिनु हुँदैन् ।