प्रा.डा. डुकबहादुर क्षेत्री पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति हुन् । उनको चार वर्षे कार्यकाल यही चैत २३ गतेबाट सकिँदैछ । प्रा.डा. क्षेत्रीको चार वर्षे कार्यकाल कस्तो रह्यो ? प्रतिष्ठानको शैक्षिक तथा प्रशासनिक क्षेत्रमा के–के परिवर्तन भए ? अब गर्न बाँकी के–के छन् ? यिनै विषयमा केन्द्रीत रहेर हेल्थ आवाजका भिषा काफ्लेले उनीसँग गरेको कुराकानीको सम्पादित अंशः
चार वर्ष पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति हुनुभयो यो चार वर्ष अवधि कस्तो रह्यो ? आफूले आफैंलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
मोटामोटी रुपमा चार वर्षको समय राम्रो रह्यो । खासै ठूलो समस्या भोग्नुपरेन । यसलाई हामीले चाहेअनुसारको दिशामा धेरै हदसम्म काम गरेर अगाडी बढाएका छौं । स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई केही कामहरु हामीले चाहेर पनि गर्न बाँकी छन् । ती कामहरु अब आउने पदाधिकारीको टिमले सम्पन्न गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।
तपाईं उपकुलपति भएर जाँदै गर्दा गर्नुपर्ने मुख्य कार्यभारहरु के–के थिए ?
मैले उपकुलपति बन्दै गर्दा ४/५ वटा काम गर्छु भन्ने प्रतिवद्धता जनाएको थिएँ । जसमा पहिलो कुरा त एउटा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ व्याचलर लेभलको नर्सिङ प्रोग्रामहरु सञ्चालन गर्ने र अर्को भनेको एमबिबिएस सञ्चालन गर्ने थियो । यी दुवैको कक्षा सञ्चालन गरिसकेका छौँ ।
त्यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चुस्त दुरुस्त बनाउने त्यसको प्रशासनिक क्षमतालाई अभिवृद्धि गर्ने कामहरु भएका छन् । चार वर्ष पहिला र अहिलेको स्थितिमा थुप्रै राम्रा काम भएका छन् । यो कुरा अस्पतालमा आउने बिरामीले पनि फरकपन महशुस गरिरहेका छन् । त्यसैले बिरामीको चाप पहिले भन्दा अहिले बढ्दो छ । जसकारण हामीले सेवाहरु पनि बिस्तार गर्दै गएका छौँ ।
मोफसलको सरकारी अस्पतालमा क्लिनिक कासमान्ट सेवा सञ्चालन गर्न चुनौतीको विषय हो । तैपनि हामीले यसलाई एक वर्ष अघिबाटै सञ्चालनमा ल्याइसकेका छौँ । यसलाई सुरुवात गर्न पक्कै पनि सहज थिएन । सुरुमा हामीले आवश्यक तालिम दियौँ, आवश्यकऔजार उपकरणको व्यवस्था गर्यौं । साथै, सुरुका तीनचार महिना शहिद दशरथचन्द अंग प्रत्यारोपणबाट हप्तामा एकपटक विशेषज्ञ बोलाएर पनि काम गरेका थियौँ । अहिले हामी आफ्नै जनशक्तिबाट नियमित रुपमा प्रत्येक हप्ताको एक पटक क्लिनिक कासमान्ट सेवा दिन्छौँ । शैक्षिक क्षेत्रमा पनि यो अवधिमा उल्लेख उपलब्धि भए भन्ने मेरो दाबी छ । पोष्ट ग्राजुएटमा सुरुका वर्षहरुमा १७ वटामात्र कोटा थियो अहिले ४२ वटा कोटा पाएका छौँ । जसमध्ये, दुई व्याचलाई हामीले पास आउट गरिसक्यौँ । हामीसँग आवश्यक पर्ने दक्षजनशक्तिको जुन चिकित्सकहरु हुन् विशेषज्ञ प्लस एउटा शिक्षकको रुपमा एक दुईवटा बाहेक अहिले सबै हामीसँग उपलब्ध छ । त्यसैले हामीले जनशक्ति कम भयो भनेर गुनासो गर्ने ठाउँ छैन । हुन त कुनै पनि अस्पतालमा प्रतिष्ठानमा एथेष्ट जनशक्ति नेपाल सरकार नै व्यवस्था गरेको छैन जे जति जनशक्ति छ त्यसलाई हामी बढी भन्दा बढी प्रयोग गर्ने हो ।
यही बीचमा मैले गर्न नसकेका दुईवटा काम छन् । जो मेरा एजेण्डा थिए । जसको कारण सुरुदेखि नै हामीले ननप्राटीक्समा केही कामहरु व्यवस्थापन गरेका थियौँ । अहिले पनि हामी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग ७० प्रतिशत निर्भर छौँ । नियम कानुन बनिसकेपछि नेपाल सरकारमातहत रहेका चिकित्सकहरुलाई प्रतिष्ठानमा ल्याउन सकेनौँ । किनभने अन्य चिकित्सा विज्ञान प्रतिष्ठानहरुले आफ्नो अटोनोमीलाई बढी एक्सरसाइज गरेका छन् । तर, हामी सरकारसँग मात्र निर्भर भयौँ । जनशक्तिप्रति बढी आश्रित भयौँ । आम्दानीकै कुरा गर्ने हो भने नेपाल सरकारले दिने अनुदान भन्दा बढी आम्दानी हामीले गर्छौं । तर, अधिकांश चिकित्सकहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेकाले उहाँहरुले ननफास्टेसिङ गर्न इच्छा देखाउनुहुन्न । त्यसैले यसमा हामी सफल हुन सकेनौँ ।
साथै, अनुसन्धानको पाटोमा हामी धेरै पछाडी छौँ । चिकित्सकहरु सबै नेपाल सरकारको प्रतिष्ठानमा कार्यरत हुनुहुन्छ त्यसपछि सबै आफ्नो क्लिनिकमा व्यस्त हुँदा अनुसन्धानको पाटोमा कसैलाई चासो छैन । एउटा निश्चित शिक्षक हुनको लागि आर्टिकल लेख्ने कुरा फरक छ तर त्यसले त्यो रिसर्चले नेपाल सरकारको स्वास्थ्य नीतिलाई प्रभाव पार्ने किसिमले भएकै छैन । त्यसमा हाम्रो ठूलो कमजोरी छ । त्यसैगरी हामीले अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुसँग हामीले सम्बन्ध बनाउन नसक्नु अर्को कमजोरी रह्यो ।
प्रतिष्ठान भएपछि दोस्रो उपकुलपतिको रुपमा तपाईं जानु भयो । भौतिक पुर्वाधारको विकास कत्तिको भएको छ ?
हामीले हाम्रो स्रोतबाट भौतिक पूर्वाधार निर्माण तथा बिस्तारको काम गर्न सक्ने अवस्था छैन । बिरामीबाट लिएको शुल्कले चिकित्सकलाई तलब भत्ता खुवाउन मै धेरै खर्च हुन्छ । फेरि, हाम्रोमा चिकित्सकहरुले शतप्रतिशत टिचिङ अलाउन्स पाउनुहुन्छ । त्यसैले तलब भत्तामै हाम्रो अधिकांश खर्च हुन्छ । बचेको रकमबाट जे जस्तो भएपनि हामीले केही न केही गरेका छौँ । जस्तै सरकारले दिएको अनुदानले नपुगेर हामीले आफैँ पैसा थप गरेर इमर्जेन्सी भवनलाई सम्पन्न गरेका छौँ । त्यसकै माथि तला थपेर त्यसमा एमबीबीएस अध्यापन गराइरहेका छौँ । अहिले त्यसभन्दा माथि पनि तल्ला थपिरहेका छौँ ।
त्यो एउटा नेपाल सरकारको केन्द्रीय अस्पताल पनि हो त्यसलाई सरकारले एक हजार बेडमा स्तरोन्नती गर्ने भनेको छ । त्यो अनुसारको भौतिक संरचना के छ ?
स्पष्ट रुपमा भन्नु पर्दा हामी कहाँ तत्काल हजार बेडमा जाने सम्भावना छैन । अलिहे पाँच सय बेड सञ्चालन गर्न स्वीकृती पाएकोमा त पुगनपुग चार सय बेड सञ्चालनमा छन् । त्यसकारण एक हजार बेड सञ्चालन गर्न पोखरामा भौतिक पूर्वाधारकै अभाव छ ।
हामी नियुक्त हुनुभन्दा अगावै भवनको रेक्ट्रोफिटिङ काम भइरहेको थियो । हाम्रो कार्यकाल सकिन लागिसक्दा पनि सम्पन्न हुन सकेको छैन । यो काम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शहरी विकास तथा भौतिक भवन निर्माण मन्त्रालयको जिम्मामा थियो । तर, अझै ३० प्रतिशत काम बाँकी छ । त्यस्तै, मेडिकल भवनको काम नै भएको छैन त्यत्तिकै छोडेको अवस्था छ । त्यसैले एक हजार बेड बनाउन स्वीकृति भएपनि तत्कालका लागि सम्भावना छैन ।
हजार बेड सञ्चालनका लागि सरकारले दरबन्दी स्वीकृत गरेपनि त्यो जनशक्ति हामीकहाँ उपलब्ध छैन । किनकी, कुनैपनि सेवा विस्तार गर्नका लागि भौतिक पूर्वाधार, जनशक्ति र उपकरणको आवश्यकता पर्दछ । यी तीनवटै कुरामा हामी निकै पछाडि छौँ ।
हामीसँग भएको भवन ४० वर्ष अगाडिको अवस्थालाई हेरेर बनाइएको थियो । अहिले हामीकहाँ दैनिक औसत २ हजार बिरामी आउनुहुन्छ । तर, बिरामीलाई सुबिस्ताले बस्ने ठाउँको अभाव छ । हामीसँग ६२ रोपनी जग्गा छ । त्यसलाई मेडिकल कलेज बनाएर विकास गरी एउटा मुटु रोग अस्पताल निर्माण गर्ने कुरा छ । जसको हामीले गुरुयोजना पनि पेस गरिसकेका छौँ । त्यो पास भएर सरकारले बजेट छुट्याइदियो भने मात्र हजार बेड सञ्चालन गर्न सम्भव छ ।
पोखरामा रहेको प्रतिष्ठान तथा केन्द्रीय अस्पतालले गण्डकी प्रदेशको नवलपरासीको तल्लो क्षेत्रलाई बाहेक सबै क्षेत्रलाई समेट्छ, गण्डकी प्रदेश र पोखरा महानगरपालिकासँग समन्वय कस्तो छ ?
कोभिडको बेलामा राम्रो समन्वय भएको थियो । महानगरबाट त त्यस्तो ठुलो सहयोग केहीपनि भएको छैन । प्रदेशबाट पनि हामीले जति सहयोग लिन सक्थ्यौँ त्यो लिन सकेका छैनौं । त्यसमा हाम्रो पनि केही कमजोरी होला । अर्को कुरा प्रदेश र स्थानीय सरकारको पदाधिकारी र जनप्रतिनिधिहरुको पनि इन्टेन्सन हुनसक्छ । हाम्रो प्रतिष्ठान संघअन्र्तगत छ । प्रदेश सरकारले जे–जे काम गर्छ त्यो नामबाट गर्न उहाँहरु इच्छुक हुनुहुन्छ । महानगरको पनि त्यही नै हो ।
चार वर्षमा शैक्षिक क्षेत्रमा तपाईंले गरेको काममा विद्यार्थीको धारणा के पाउनुभयो ?
हामीले ब्याचलर र पीजीका विद्यार्थीहरुलाई अध्यापन गराइरहेका छौँ । नर्सिङको ब्याचलरमा अध्यापन सुरु गरेको दुई वर्ष भयो । पीजी सूरु भएको ६ वर्ष भयो । एमबीबीएस भर्खर सुरु भएको छ । त्यसैले उहाँहरुको खासै प्रतिक्रिया लिन पाएको छैन । उहाँहरुले पनि बुझिरहनुभएको छ । उहाँहरुको ठाउँमा बसेर मैले सोच्दा उहाँहरुका केही गुनासा हुन सक्छन् । जस्तै, हामीले उहाँहरुलाई होष्टलको व्यवस्था गर्न सकेका छैनौँ । विद्यार्थीको अनुपात अनुसार लाइब्रेरीको व्यवस्थापन गर्न पनि सकेको छैन । हामीले उहाँहरुको आवश्यकता पूरा गरेपनि सन्तोषजनक छैन ।
अब प्रतिष्ठानले समग्र रुपमा गर्नुपर्ने कामहरु के–के हुन् ?
गण्डकी प्रदेशमा संघियस्तरको एउटा डीन युर्निभर्सिटी सरहको प्रतिष्ठान हो । सरकारी लेभलमा सबैभन्दा ठूलो अस्पतालमध्ये पनि एउटा हो । झण्डै १० वर्ष अघि यसलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको रुपमा स्थापित गर्दा प्राइभेट मेडिकल कलेजहरुको एउटा टिचिङ हस्पिटलको रुपमा प्रयोग भएको थियो । आज एउटा एकेडेमिको रुपमा सञ्चालन गरेर चिकित्सकीय पठनपाठन गराउन सक्ने, उच्च शिक्षासम्म पढाउन मिल्ने थलोको रुपमा विकास भएको छ । सरकारको यो काम अत्यन्तै सह्रानीय छ ।
अबका दिनहरुमा हामीले चाहेको जुन शैक्षिक क्षेत्रका कुराहरु हामीले क्रमिक रुपमा प्राप्त गरिरहेका छौँ । व्याचलर, पिजी लेभलका पढाइहरु भएका छन् । अबको बाटो भनेको डिएमएमसीएच र नर्सिङमा मास्टर डिग्री लगायतका कार्यहरुलाई क्रमिक रुपमा सुधार गर्दै जाने हो । सबैभन्दा ठूलो कुरा जनशक्ति, भौतिक पूर्वाधारको आवश्यकता छ । पोखरा आफैंमा एउटा पर्यटकीय सहर भएकाले पनि यो प्रतिष्ठानलाई एउटा सेन्टर अफ एक्सेलेन्स बनाउन सकियो भने विदेशीहरुको पनि एउटा सेवा दिन सक्ने हेल्थ टुरिज्मको आधार बन्छ । यसलाई अब आउने पदाधिकारीले आफ्नो एजेण्डामा राख्दा राम्रो होला ।