२०८१ कात्तिक ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारसेप्सिस : लक्षण, कारण, रोकथाम र उपचार

सेप्सिस : लक्षण, कारण, रोकथाम र उपचार


कुनै संक्रमणका विरुद्ध हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले देखाउने प्रतिक्रियालाई सेप्सिस भनिन्छ। उक्त सङ्क्रमण विरुद्ध प्रतिक्रिया जनाउने क्रममा हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले आफ्नै तन्तु तथा अङ्गहरूमा आक्रमण गरी गम्भीर क्षति पुर्‍याउँदछ जसले गर्दा यी अङ्गहरू फेल हुनेदेखि लिएर अवस्थालाई नियन्त्रण गर्न नसक्दा बिरामीहरूको मृत्यु पनि हुने गर्दछ। सेप्सिसले कहिलेकाहीँ हाम्रो शरीरको रगत जम्ने प्रक्रियालाई कमजोर बनाएर महत्त्वपूर्ण अङ्गहरूको रगत आपूर्तिमा समस्या पुर्‍याई तिनीहरूको कार्यमा बाधा निम्त्याउँछ।

ल्यान्सेटको रिपोर्ट अनुसार प्रत्येक वर्ष सेप्सिसको कारणले लगभग ११ मिलियन मानिसहरू को मृत्यु हुने गर्दछ, जो विश्वव्यापी मृत्युदरको कुल २० प्रतिशत रहेको छ। अहिले पनि दैनिक ३० हजार मानिस सेप्सिसका कारणले मृत्युको मुखमा पुगिरहेका छन्। सेप्सिस आफैंमा गैर संक्रामक रोग भएतापनि सेप्सिस भएका व्यक्तिहरूले जुन सङ्क्रमणका कारणले आफूलाई सेप्सिस भएको थियो, त्यो संक्रमण अर्को व्यक्तिमा सार्न सक्दछन् । जसले पछि सो व्यक्तिमा पनि सेप्सिस हुनसक्ने सम्भावना रहन्छ।

नेपालमा सेप्सिस

नवजात शिशुमा हुने सेप्सिसले नेपालको शिशु मृत्युदरमा महत्त्वपूर्ण प्रभाव पारेर सेप्सिसलाई देशका प्रमुख स्वास्थ्य चुनौतीहरूमध्ये एक बनाएको छ। नेपालमा गरिएको एक अध्ययनले नेपालमा नवजात शिशुमा हुने सेप्सिस र सम्भावित गम्भीर ब्याक्टेरियल इन्फेक्सन (PSBI) को घटना २-९ प्रतिशत रहेको देखाएको छ, जसमा २-४ प्रतिशत अस्पतालमा आधारित र ९ प्रतिशत समुदायमा आधारित तथ्याङ्क रहेको छ।

नेपाल सरकारले पनि सेप्सिसको गम्भीरतालाई ध्यानमा राखेर सेभ द चिल्ड्रेन, युनिसेफ, विश्व स्वास्थ्य संगठनजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूसँग मिलेर स्वास्थ्य सुविधालाई देशका कुना–कुनासम्म विस्तार गरी यस समस्यालाई सम्बोधन गर्न महत्त्वपूर्ण कदम चालेको छ। यसलाई सहयोग गर्न नेपाल सरकारले सन् २००४ मा राष्ट्रिय नवजात शिशु रणनीति पनि प्रारम्भ गरेको थियो ।

सेप्सिसका चरणहरू

सेप्सिसलाई सेप्सिस, गम्भीर सेप्सिस र सेप्टिक शकगरी तीन चरणमा विभाजन गरिएता पनि आधुनिक चिकित्सा विज्ञानले यस रोगको प्रारम्भिक चरणदेखि अंगको कार्यशैलीमा आउने समस्या सम्मका विभिन्न चरणहरूबीचको भिन्नतालाई अध्ययन गरी यसको उपचारमा उल्लेखनीय योगदान पुर्‍याएको छ।

सेप्सिस: यो सेप्सिस संक्रमणको पहिलो चरण हो, जो हाम्रो शरीरभित्र भइरहेको संक्रमणको विरुद्ध हाम्रै शरीरको प्रतिरक्षा प्रणालीको सक्रियताका कारणले हुने गर्दछ।

गम्भीर सेप्सिस: यस चरणमा हाम्रो शरीरमा भइरहेको संक्रमणको कारणले रक्तचाप कम हुने गर्दछ, जसले शरीरका विभिन्न अङ्गहरूको कार्यशैलीमा बाधा पुर्याउँन सक्दछ।

सेप्टिक शक: यो सेप्सिसको अन्तिम चरण हो जसमा एग्रेशिव फ्लुड रिससिटेशन बावजुद पनि रक्तचाप अत्यन्त कम हुने गर्दछ। यसका कारणले शरीरका विभिन्न अङ्ग प्रत्यङ्गहरूले काम नगर्नुका साथै १२ घण्टाभित्र बिरामीको मृत्यु समेत हुने गर्दछ।

जोखिममा रहेको जनसंख्या

सेप्सिस कसैलाई पनि हुन सक्दछ । तर, यो विशेषगरी शरीरको रोग प्रतिरोधात्मक शक्ति कम्प्रमाइज भएका व्यक्तिहरूमा हुने गरेको देखिएको छ । जस्तै:
• ६५ वर्षभन्दा माथिका मानिसहरू
• नवजात र शिशुहरू
• गर्भवती महिलाहरु
• मधुमेह, मोटोपना, क्यान्सर, र मृगौलाका समस्या भएका बिरामीहरू
• क्याथेटेराइजेसन गरिएका, ठूला चोटपटक लागेका, तथा जलेका घाउहरू भएर अस्पतालमा भर्ना गरिएका बिरामीहरू

लक्षणहरू

सेप्सिसको पहिचान गर्न निम्न लक्षणहरूले महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछन्।
• ज्वरो आउनु वा शरीरको तापमान कम हुनु
• कमजोर पल्स हुनु
• काँप्नु वा चिसो महसुस गर्नु
• छिटो सास फेर्नु (हाइपरभेन्टिलेशन) वा सास फेर्न गाह्रो हुनु
• उच्च हृदय दर हुनु
• भ्रम वा एजिटेसन महसुस गर्नु
• कम रक्तचाप (हाइपोटेन्सन) हुनु
• थकान तथा कमजोरी महसुस गर्नु
• पसिना आउने वा छालामा चिल्लोपन हुनु
• गम्भीर शरीर दुखाइ वा असुविधा महसुस गर्नु
• पिसाब कम आउनु
• सेप्टिसिमियाको कारणले छालामा दाग आउनु

सेप्सिसका कारणहरु

सेप्सिस फङ्गल, प्यारासाइटिक, वा भाइरल संक्रमणको कारणले पनि हुने गरेता पनि प्रायजसो यो ब्याक्टेरियल संक्रमणको कारणले हुने गर्दछ। सेप्सिस निम्त्याउन सक्ने सामान्य संक्रमणहरू:
• मुत्रनलीको सङ्क्रमण, मूलतः क्याथेटराइज्ड बिरामीहरूमा
• एपेन्डिसाइटिस, पेरिटोनाइटिस, आन्द्रा, कलेजो, वा पित्त थैलीको संक्रमण
• मस्तिष्क र मेरुदण्ड को संक्रमण: जस्तै मेनिन्जाइटिस
• सेलुलाइटिस, क्याथेटरहरू र IVs ले बनेका घाउ, सूजनहरूको संक्रमण

सेप्सिस भएको कसरी थाहा पाउने?

सेप्सिसमा जान सक्ने संक्रमणबाट संक्रमित व्यक्तिहरूलाई पहिचान गर्न सक्नुपर्दछ। सेप्सिसको पहिचान गर्न ठोस प्रोटोकल नभएतापनि विभिन्न शारीरिक परीक्षण तथा कम्प्लीट ब्लड काउन्ट, रगतमा अक्सिजनको स्तर, युरिन एनालिसिस र युरिन कल्चर, एक्स-रे वा सीटी स्क्यान जस्ता जाँचहरूले मुख्य भूमिका खेल्ने गर्दछन्।

यदि कुनै बिरामीमा संक्रमण पुष्टि भएको वा शङ्का गरिएको छ र निम्नलिखित मध्य दुईवटा मापदण्ड पूरा हुन्छ भने हामीले सेप्सिसको शंका गर्न सक्दछौँ।

1. सिस्टोलिक रक्तचाप १०० mmHg भन्दा कम
2. श्वासप्रश्वास दर > २२ प्रति मिनेट
3. मानसिक अवस्थामा उल्लेखनीय परिवर्तन

उपचारका रणनीतिहरू

सेप्सिसमा शरीरका विभिन्न अङ्ग प्रत्यङ्गहरूले काम नगर्नुका साथै १२ घण्टाभित्र बिरामीको मृत्यु समेत हुने भएकाले यसको सकेसम्म चाँडो उपचार गर्नुपर्दछ।
एन्टिबायोटिक्स: ब्याक्टेरिया सेप्सिस गराउने एक प्रमुख कारण भएकोले, ब्याक्टेरियाको संक्रमणसँग लड्न विभिन्न एन्टिबायोटिकहरू दिइने गर्दछ।
इन्ट्राभेनस फ्लुइड्स: शरीरका अत्यावश्यक अंगहरूमा सर्कुलेसन कायम राख्न र रक्तनलीहरूमा कम चापको कारण शकको सामना गर्न नसाबाट इन्ट्राभेनस फ्लुइड्स दिइन्छ।
भासोप्रेसर: यसले रक्तनलीहरू संकुचित गरेर रक्तचाप बढाउन मद्दत गर्दछ।
• उपयुक्त सहयोग र हेरचाह: उपचारको क्रममा, बिरामीहरूमा मृगौला फेल भएको अवस्थामा डायलासिस, सास फेर्न समस्या भएमा भेन्टिलेटर, वा डाक्टरले नेक्रोटिक तन्तुहरू हटाउन आवश्यक ठानेमा शल्यक्रियाको आवश्यकता पर्दछ।

रोकथाम

सेप्सिसका कारणले बिरामीहरूको ज्यान समेत जान सक्ने भएकाले यसबाट जोगिन हामीले विभिन्न उपायहरु अपनाउन सक्दछौँ।
• नियमित रूपमा साबुन र पानीले हात-खुट्टा धुनु पर्दछ।
• शरीरमा काटिएमा, घाउ भएमा, वा अन्य कुनै चोटपटक लागेमा ब्याक्टेरियल तथा अन्य सङ्क्रमणहरू हुन नदिन घाउको स्यानिटाइजेसन तथा उचित सरसफाईमा ध्यान दिनुपर्दछ।
• राष्ट्रिय खोप निर्देशिका पालना गरी समयमै विभिन्न रोग विरुद्घका खोपहरू लगाउनुपर्दछ।
• शरीरको नियमित स्वास्थ्य जाँच गरी सेप्सिस निम्त्याउन सक्ने रोगहरू शरीरमा भएको नभएको जानकारी राख्नुपर्दछ।
• शरीरमा संक्रमण भएको बेला प्रारम्भिक उपचार र उचित हेरचाह गर्नुपर्दछ।

पूर्वानुमान र रिकभरी

सेप्सिसको निदान रोगीको उपचारमा भएको ढिलाइ तथा त्यसको गम्भीरतामा निर्भर गर्दछ। छिटो निदान र उचित उपचारले सेप्सिसका बिरामीहरू बाँच्ने गरेको पाइएको छ भने समयमै उचित उपचार नपाएका सेप्टिक बिरामीको अधिकांश अवस्थामा मृत्यु हुने लगभग निश्चित छ।

समयमै उचित उपचार गर्दा पनि सेप्टिक शकका बिरामीको मृत्यु हुने सम्भाव्यता ३०-४० प्रतिशत हुने गर्दछ। विभिन्न अनुसन्धानहरूले सेप्सिसबाट बाँचेका व्यक्तिहरूको उपचार गरेको केही महिना वा वर्षमा मृत्यु हुने देखाएका छन् भने कारण चाहिँ पहिले भएको सेप्सिस वा अन्तरनिहीत स्वास्थ्य समस्या हुनसक्ने बताउँछन्। साथै केही अनुसन्धानका अनुसार सेप्सिसबाट बाँचेका ५० प्रतिशतभन्दा बढी व्यक्तिहरू पाँच वर्षभित्र मर्ने गरेका पाइएको छ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ