२०८१ पुस ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारस्वास्थ्य मन्त्रालयको अभिलेखको हरिविजोग !

स्वास्थ्य मन्त्रालयको अभिलेखको हरिविजोग !


२२ साउन २०८१ मा नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई बधाई तथा शुभकामना दिन नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख तथा पूर्व स्वास्थ्य तथा जनसख्या मन्त्रमन्त्री माननीय कृष्ण गोपाल श्रेष्ठको नेतृत्वमा मन्त्रीको कार्यकक्षमा प्रवेश गरियो । कार्यकक्षमा आकर्षक, सफा र चिटिक्क थियो । वातानुकूलित कोठा भएर होला प्रवेश गर्ने बित्तिकै निकै शितल लाग्यो ।

मन्त्रीज्यूको निमन्त्रणलाई पर्खेर बस्दा भित्तामा भर्खरै टाँगिएका पूर्व मन्त्रीज्यूहरुको मुखाकृत (तस्बिरहरु)मा टक्क आँखा ठोक्किए ।

ध्यानपूर्वक नामहरु पढ्दै गए । पढ्दैं जादा तस्विरमा मन्त्रीहरुको नाम मात्र लेखिएको तर मन्त्रीहरुको कार्यकालको समय उल्लेख नभएको र कुन मन्त्री पछि/अघि को भयो भन्ने सामान्य ज्ञानसमेत नभएका कच्चा कर्मचारीले ती फोटाहरु भित्तामा टाँसेको भन्ने खल्लो महसुस भयो । यो दृश्यले एकछिन अघिको सितलता उकुस—मुकुसमा परिणत भयो ।

म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै पूर्व कर्मचारी र मेरो पहिचान पनि स्वास्थ्यसँगै जोडिएको भएर होला मलाई स्वास्थ्य क्षेत्रको इतिहास र घटनाहरुको थोरै भएपनि चासो छ । त्यही भएर सम्बन्धित मन्त्रालयका पदाधीकारीलाई यसै स्थानबाट भन्न मन लाग्यो, ‘तपाईंहरुसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको व्यवस्थित इतिहास छ कि छैन ? कि इतिहास पढ्नै पर्दैन ?’ यो विषय माननीय मन्त्री र मन्त्रालयको नेतृत्वले छलफल चलाउनु उपयुक्त होला ।

प्रत्येक संस्था र व्यक्तिको इतिहास कसैको लहड वा कमजोरीका कारण भद्धा र फोहोरी बनाउन पाइदैंन् । त्यो गम्भीर विषय बन्छ । इतिहास विगतका विविध प्रश्नलाई पर्गेल्ने माध्यम हो । यो विगतदेखि वर्तमानलाई बुझ्ने, हेर्ने ऐनासमेत हो । त्यसैले यो लयबद्ध हुनुपर्छ, क्रमबद्ध हुनुपर्छ । सुरु कहाबाट गर्ने भन्ने बारेमा समेत संवेदनशील हुनुपर्छ ।

मेरो बुझाइमा मन्त्रालयको भित्तामा पूर्व मन्त्रीहरुको फोटा टाँस्नु भनेको इतिहासको रेकर्ड सार्वजनिक गर्नु हो । त्यसको आफ्नो क्रमबद्धता हुन्छ । प्रारम्भ कहिले र कोबाट भयो र कति अवधिसम्म उनीहरु कायम रहे भन्ने मिति खुलेको हुनुपर्छ ।

आफूलाई मन लागेको कालखण्डबाट र व्यक्तिबाट सुरु गर्न हुँदैन् । यो कमजोरी मैले मन्त्रालयमा देखें । त्यस्तो गल्ती अब नहोस् ।

पञ्चायतको अवसानपछि बहुदल आएपछिको समयलाई आधार मान्ने हो भने कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीत्वमा गठन भएको अन्तरिम सरकारमा स्वास्थ्यमन्त्री प्रा.डा. मथुराप्रसाद श्रेष्ठ बनेका हुन् । त्यसपछि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका पद्मरत्न तुलाधार, राधाकृष्ण मैनाली, प्रदीप नेपाल, अमिक शेरचन, विपिन कोइराला, कृष्णबहादुर महरा, डा. उपेन्द्र देवकोटा, न्हुच्छे शमशेर जबरा, कीर्तिनिधी विष्ट, विद्याधर मल्लिक, कृष्णगाेपाल श्रेष्ठलगायतको नाम र समयावधीसमेत मन्त्रालयले हेक्का राखेन् ।

आजसम्म मैले प्राप्त गरेको सूचनाको मेरो टिपोटअनुसार राणाकालको पछिल्लो अवधिमा ‘स्वास्थ्य विभाग’ गठन भएको थियो । त्यसबेला स्वास्थ्य डाइरेक्टरले हालको स्वास्थ्य तथा जनसंख्या मन्त्रीले गर्नुपर्ने सबै काम गर्थे ।

वि.सं २००७ साल फाल्गुन ७ गते प्रधानमन्त्री मोहनशमशेर जबराको नेतृत्वमा १० सदस्सीय मन्त्रीमण्डल गठन भयो । त्यस मन्त्रीमण्डलमा यज्ञबहादुर बस्नेत स्वास्थ्य तथा स्थानीय स्वायत्त शासन मन्त्री बने । उनी नै नेपालको पहिलो स्वास्थ्य मन्त्री हुन् ।

इतिहासका विभिन्न कालखण्डदेखि हालसम्म दर्जनौं व्यक्ति स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा आएका छन् । मैले प्राप्त गरेको टिपोट रेकर्डअनुसार कम्तिमा ७ दिनदेखि केही वर्षसम्म मन्त्रीको जिम्मेवारीमा उनीहरु रहेका छन् । यो विषयको सूचना स्वास्थ्य मन्त्रालयको पुस्ताकालय (हाल बन्द) वा रेकर्ड शाखामा पक्कै होला । त्यहाँ नभए सरकारको मन्त्रिपरिषदको अभिलेखमा होला । त्यो खोज्न हामीजस्ता सर्वसाधारणलाई जानकारी गराउने जिम्मेवारी स्वास्थ्य मन्त्रालयकै हो । आशा गरौं यो कामले छिट्टै पूर्णता पाउनेछ । यस्ता इतिहाससँग जोडिएका रेकर्डहरु सार्वजनिक गर्दा मन्त्रालयको निश्चित तहको नेतृत्वले निर्णय गरेर सार्वजनिक गर्नुपर्ने वा गरिएकै होला ।

पुनः म मन्त्रीसँगको भेटघाट सकेर सचिवज्यूको कार्यकक्षतिर पसे । त्यहाँ भित्रामा स्वास्थ्य सचिवहरुको नामावली र समयावधि टाँसिएको थियो । यो रेकर्ड मन्त्रीहरुको फोटोभन्दा व्यवस्थित त थियो तर अपुरो !

अब स्वभाविक कौतुहलता जाग्छ— मन्त्री र सचिवहरुकै अभिलेख व्यवस्थित गर्न नजान्ने, नचाहने हाम्रो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना वर्तमान र निवर्तमान कर्मचारी, स्वास्थ्यकर्मीको अभिलेख के साँच्चै दुरुस्त राखेको होला ? कसरी विश्वास गरौं । आजसम्म बनेका महत्वपूर्ण नीति र ऐन, नियमको अभिलेख माग्यो भने सही सलामत पाइएला ?

मैले यसरी सार्वजनिक रुपमा यो विषयलाई गम्भीरताका साथ उठाउनुको एउटै मात्र उद्देश्य आफूले काम गरेको संस्थाको अभिलेख दुरुस्त देख्न र सुन्न पाइयोस् । राम्रो काम गर्न ढिलो भनेर आत्तिनु पर्दैन गम्भीर भएर सच्याए मात्र पुग्छ । आशा छ, अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयभित्रको पुस्तकालयको ढोका पनि सर्वसाधारणका लागि सधैँ खुल्ला रहनेछ । अस्तु ।

(लेखक जनस्वास्थ्यविद् हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ